राजनीति

सत्ता परिवर्तनमा 'माओवादी समर्थन' नै बाधक

का‌ंग्रेस र जसपामा कतै माओवादी यही सरकारमा त रहने हाेइन भन्‍ने शंका

चन्द्रशेखर अधिकारी |
फागुन २९, २०७७ शनिबार १६:१४ बजे

काठमाडौँ : नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच सत्ता सहकार्यको प्रक्रिया अघि बढाउन माओवादी केन्द्रले समर्थन फिर्ता लिनुपर्ने सुझाव जसपा र कांग्रेसको छ । माओवादीले वर्तमान सरकारलाई समर्थन जारी राखेर सहकार्य कसरी अघि बढ्छ भन्‍ने प्रश्‍न उनीहरूको छ ।  कांग्रेस र जसपाका नेताहरूले पहिला समर्थन फिर्ता लिन माओवादीलाई सुझाएका दिइरहेकाछन् । 

माओवादी यतिबेला केपी शर्मा ओलीसँगै रहने कि निस्कने दोधारमा छ । यो दोधार चिरेर माओवादी सरकारबाट बाहिर आएपछि मात्र राजनीति अर्को चरणमा प्रवेश गर्ने छ । कांग्रेस नेताहरूले जसपालाई यो  विषया बताएपछि उनीहरू फरक प्रकारले भेटघाटमा लागेका हुन् । माओवादी सरकारबाट बाहिर हुनुपर्ने जवाफ पाएका जसपा नेताहरू शनिबार बिहानै पेरिसडाँडा पुगेर माओवादीको धारणा सोधेका थिए । दाहालसहितका माओवादी नेताहरूलाई तत्काल सरकारबाट बाहिर आएर ओलीविरुद्ध कडा मोर्चा तयार गर्न उनीहरूले आग्रह समेत गरे । 
 
‘मुलुकलाई राजनीतिक निकास दिँदै राजनीतिक स्थायित्व कायम गर्न ओलीविरुद्ध छुट्टै मोर्चा आवश्यक छ,’ जसपा अध्यक्ष उपेन्द्र यादवले इकाजसँग भने, ‘राजनीतिक दलमात्र होइन नागरिक समाज, वौद्धिक व्यक्तित्व, पशाकर्मी सबै एक भएर अघि बढ्नुको विकल्प छैन ।’ ओलीसँग सत्ता साझेदारी गर्न छलफल गरिरहेको दलले यस्तो भन्‍न मिल्छ भन्‍ने जिज्ञासामा यादवले भने, ‘हामी ओलीसँग सत्ता साझेदारी गर्न गएका छैनौँ । अहिलेको पछिल्लो राजनीतिबारे छलफल भएको हो ।’
 
यतिबेला ओली नेतृत्वको सरकारमा जाने र समर्थन गर्ने भनेको मुलुकलाई थप तहसनहस पार्नु हाे, यादवले भने । ‘नेपालको पछिल्लो राजनीतिमा मुडेबलदेखि विचौलियाको प्रयोगसमेत ओलीले गरिसके । अब दोधारमा नपरी स्पष्ट भएर अघि बढ्नुपर्छ,' उनले भने, 'ओलीसँग सति जाने काम कसैले गर्दैनन् र गर्न पनि हुँदैन ।’ यतिबेला माओवादीको समर्थनमा नै एमाले नेतृत्वमा सरकार रहेको भन्दै यसलाई परिवर्तन गर्न माओवादी तत्काल पछि हट्न आवश्यक रहेको यादवले बताए ।
 
पुष्पकमल दाहालले जबसम्म कांग्रेसको साथ पाउँदैनन तबसम्म जसपासँग उत्साहित हुने अवस्था देखिन्‍न । ओलीसँगको गहिरो मित्रतामा रहेका कां‌ग्रेस सभापति शेरबहादुर देउवालाई त्यो मित्रताबाट बाहिर आएर मुलुक हितमा सहकार्य गर्न आवश्यक रहेको सुझाव आफ्नै दलभित्रबाट आएको छ । कांग्रेसमा देउवा इतर समूहले ओलीसँग होइन, मुलुकको हितमा अन्य दलहरूसँग सहकार्य गर्नुपर्ने सुझाव दिएको छ । शासन, सुरक्षा र कर्मचारी कतै पनि आफूहरुले स्थान नपाएको बताउँदै आएका जसपाका नेताहरू यतिबेला कांग्रेस, माओवादीसँग नै सहकार्यमा जोड दिएका छन् ।
 
हुनत, जसपा शीर्ष नेताहरूका अभिव्यक्ति बाँझिएको छ । उनीहरू एमाले, कांग्रेस र माओवादी तीनै शक्तिसँग छलफलमा लगातार रहेपनि अभिव्यक्त मत पनि बाझिएको हो । जसपा अध्यक्ष यादव जसरी पनि ओली इतरको सरकार बनाउनु पर्नेमा जोड दिइरहेका छन् भने अर्का अध्यक्ष महन्थ ठाकुरले आफूहरूका लागि एमाले, कांग्रेस र माओवादी उस्तै रहेको बताउँदै हिडेका छन् । त्यस्तै धारणा जसपा वरिष्ठ  नेता राजेन्द्र महतोको पनि छ । यसले  जसपाबीचमा नै मतैक्यता नरहेको देखिन्छ । 


ठाकुरले सत्ता समीकरणमा नजिक टाढा भन्दा पनि हामी राज्यको कुनै स्थानमा नहुँदा किन सहयोग आवश्यक पर्‍यो र भन्‍ने प्रश्‍न गरे । आफ्नो क्षेत्रको विकास र उपस्थितिमा जोड दिँदै ठाकुरले इकागजसँग भने, ‘सत्ता साँझेदारीमा कोही नजिक वा टाढा हुँदैन ।’ ठाकुरले मधेशी जनताको हितमा धारणा राखेको र सहकार्य गरेको कुनै एउटा क्षेत्र नभएको बताए । उनले भने,‘हाम्रा नेता कार्यकता राजनीतिक दुरासयले थुनिएका छन् । उनीहरुलाई छुटाउने, अन्य मुद्दा सम्बोधन गर्ने कुरामा सबैको धारणा एउटै छ । त्यसैले सत्ता समीकरणबारे अहिले नै कुनै निर्णयमा पुगेका छैनौं । हामी छलफलमा नै छौँ ।’

अर्का अध्यक्ष यादवले ओलीविरुद्धको अलाइन्स गर्न पर्ने भनिरहेको अवस्थामा ठाकुरको यस्तो धारणाले उनीहरू नै एक अर्कामा स्पष्ट नभएको पुष्टि हुन्छ । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि अब पनि छलफलमात्र गरिरहने हो भने यसले निचोड नदिने बताए । उनले भने, ‘ओली नेतृत्वको सरकारलाई पन्छाएर अघि बढ्ने कार्य सकारात्मक रूपमा अघि बढेको छ ।’
 
जसपा वरिष्ठ नेता महतोले पनि यतिबेला सत्ता सहकार्य ओली इतरसँग गर्ने कि ओलीसँग भन्‍ने स्पष्ट भइ नसकेको बताएका छन् । उनले सबै पक्षसँग छलफल भइरहेको तर निर्णयमा नपुगेको बताए । ‘अहिले त ओली जी बहुमतमा नै हुनुहुन्छ, माओवादीले अझै समर्थन फिर्ता लिएको छैन,’ उनले भने, ‘समर्थन फिर्ता गरेर अघि बढेमात्र सहकार्यको अन्य विषयमा छलफल हुनेछ ।’ हुनत समर्थन फिर्ताको प्रक्रिया माओवादी केन्द्रले अघि बढाए पनि त्यसमा ढिलाइ गर्नुको कारण रहस्यमय नै रहेको धारणा कांग्रेस नेताहरूको छ ।
 
आफ्नो पार्टीबाट सांसद बनेका र अहले सरकारमा रहेकालाई माओवादीले फिर्ता बोलाएको छ । तर पनि जसपा यसमा स्पष्ट हुन सकेका छैन । महतोले मधेशको हितका लागि अब जसपाले उधारो सम्झौता नगर्ने भन्दै आफ्ना मागहरू सहित नै सहकार्यमा अघि बढ्ने पनि बताए । त्यही मागले एमाले, माओवादी र कांग्रेसलाई जोड्न असहज भएको अर्का नेताको धारणा छ ।

अझै पनि एमाले र माओवादी गठबन्धन सरकार रहन्छ कि भन्‍ने  संकाका कारण कांग्रेस उत्साहित नभएको हो । यद्यपि सरकारबाट फिर्ता भएर तीन दल सहकार्य भएमात्र ओली नेतृत्व सरकार गिराउन सक्ने अन्यथा जसपा नै फुटेर सरकारमा जान सक्ने अवस्था आउन सक्ने अड्कल धेरैको छ । यस्तो हुन नदिन पनि माओवादीले समर्थन फिर्ता नलिएको अर्को तर्क पनि उत्तिकै बलियो छ । 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x