राजनीति

नेकपा विवाद

ओलीको प्रस्तावमा प्रतिक्रिया दिंदै दाहालले भने : दम्भ झन बढ्यो

चन्द्रशेखर अधिकारी |
मंसिर १३, २०७७ शनिबार २१:२७ बजे

काठमाडौं : सत्तारुढ दल नेकपाभित्रको विवाद समानान्तर दस्तावेजीकरणले दुई कार्यकारी अध्यक्षबीचको घम्साघम्सी विभाजनसम्म पुर्‍याउन सक्ने देखिन्छ । सचिवालयमा देखापरेको बहस स्थायी समिति हुँदै केन्द्रीय समितिसम्म पुग्दै समग्र कार्यकर्ताबीच आमने-सामने हुने स्थिति देखिएको छ । मौखिक घोचपेचबाट चल्दै आएको अस्वभाविक एकीकरणको पछिल्लो रूप कात्तिक २८ देखि दस्तावेजीकरणमा गएको हो ।

कात्तिक २८ मा अध्यक्ष पुष्पकमल दाहालले राखेको प्रस्तावमाथि शनिबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको ३८ पृष्ठ लामो स्पष्टोक्तिसँगै ४८ मिनेट लामो धारणाले नेतत्व तहमा एकले अर्कालाई खुइल्याउने तवरमा दुई अध्यक्ष आमने-सामने भएका छन् ।


 दाहालले लगाएको आरोपमा ओलीले भनेका छन्, ‘आरोप लगाउँदा त्यसको पुष्टि हुने गरी लगाउनुपर्छ । यदि पुष्टि नहुने छ भने त्यसको सजायँ भोग्‍नैपर्छ । तत्काल फिर्ता लिन मैले आग्रह गरेको थिएँ । तर, बेवास्ता गर्नुभयो यसको परिणमा भोग्न तपाई तयार हुनुपर्छ ।’
दाहालले प्रस्ताव खारेज गर्ने विषय सुन्‍न समेत चाहेनन् । बैठकमा दाहालले उल्टै ओलीलाई आफ्नो प्रस्तावबारे प्रष्ट पार्ने प्रयास गरे । तर दुवै अध्यक्ष त्यसमा सहमत नहुने भएपछि अर्को बैठक १६ गते बस्ने तय भएको हो । त्यहाँ यही विषयमा छलफल र विवाद हुनेछ ।

ओलीले यसरी बैठकमा दस्तावेजीकरण गर्दै जाने र एकले अर्कालाई खुइल्याउने तवरले आरोप लगाउने हो भने जति पनि सकिने तर त्यसको पुष्टि आवश्यक रहेको पटक-पटक दोहोर्‍याए । ‘मिथ्या आरोपको साजायँ सबैले भोग्‍नैपर्छ । अन्यथा पुष्टि गर्न आवश्यक छ,’ ओलीले भने । बैठकमा ओलीले यसो भनिरहँदा दाहाल निकै गम्भीर देखिएको एक सहभागीले बताए ।

दाहालको असहमति
दाहालले अध्यक्ष ओलीको प्रतिवाद गर्दै बैठकमा भने, ‘तपाईंले आफ्नो कमजोरी महसूस गर्नुभएन । बरू तपाईंमा थप अहंमता बढेको पाएँ । तपाईको प्रस्ताव डिटेलमा पढ्दै गरौँला, तर मेरो जानकारीमा आएअनुसार यहाँ तपाईले लेख्नुभएका कुराहरूले विवादको जड तपाईं हो भन्ने पुष्टि हुन्छ ।’ दाहालले ओलीले गत वर्ष माघदेखि लगातार पार्टीको बदनाम गर्न शुरू गरेको समेत बताए ।

सबै आरोप मात्र थोपार्ने ओलीले केन्द्रीय समितिबाट यहाँसम्म आइपुग्दा के-के गरे भन्ने बैठकले उपस्थित सबैलाई जानकारी भएको दाहालले बताएका थिए । साथै त्यस्ता विषयमा पनि ध्यान दिने कि भनेर दाहालले बैठकमा तत्काल प्रतिक्रिया जनाएका थिए, ‘अध्यादेश, सांसद अपहरण, नेताहरूलाई आफ्नो खोपीमा बोलाएर पद बाँड्ने अनि ठूला गफ हान्‍ने ?’

संसदमा आफूले बोलेको धारण दोहोर्‍याएर सुन्‍न समेत आग्रह गर्दै दाहालले ओलीलाई भने, ‘अरुले औला उठाउने ठाउँ कसले दियो ? सरकार कहाँ छ ? मिडिया हेर्नु भएको छ कि छैन ? जनतालाई सुन्‍ने गर्नु भएको छ कि छैन ?’ दाहालले यहाँको दम्भको कारण यो अवस्था आएको भन्दै ओलीको लिखित र मौखिक वक्तव्य लगत्तै आक्रोश पोखेका थिए । उनले त्यसो भनिरहँदा दाहाल र ओलीको सम्बन्ध झन् धाँजा फाँटेको स्पष्ट हुने अर्का एक सचिवालय सदस्यले बताए ।

‘अवस्था थप चिन्ताजनक रहेको देखिएको भन्दै मुलुकमा स्थायित्व कायम गर्लान् भनेको तर आफैं बाँझेर सकिने भए’ ती सदस्यले चिन्ता व्यक्त गर्दै भने । नियमीत छलफलबाट भाग्‍ने ओली यतिखेर लिखित पत्रसहित आउनुलाई सकारात्मक लिएको भन्दै दाहालले भने, ‘तपाईंलाई बैठकमै ल्याउन ठूलो कसरत गर्नुपरेको थियो । ठीक छ, तपाईं बैठकमै आफ्ना कुरा राख्नुभएको छ । यसलाई मैले सकारात्मक लिएको छु । छलफल गरेर अघि बढौं ।’

ओलीको दम्भ बढ्दो
दाहालपछि बोलेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले पनि ओलीमा दम्भ भरिएको भन्दै पार्टी र अबको यात्राबारे चिन्ता व्यक्त गरे । ओलीले निकै फकाउन प्रयास गरेका वामदेव गौतमले पनि ओलीलाई दम्भ र अहंकार त्याग्‍ने सुझाव दिए । बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले नेतृत्व गर्ने मानिसमा यति धेरै दम्भ हुँदा न दल राम्रो हुन्छ न मुलुकले काँचुली नै फेर्छ भन्दै दम्भको निराकरण यतिखेरको आवश्यकता रहेको बताएका थिए ।

बैठकमा महासचिव विष्णु पैडेलले पनि दुवै अध्यक्ष टसमसमा बस्ने अनि आफ्ना कुराहरू एक-अर्कामा आरोप-प्रत्यारोप गर्दै अघि बढ्दा अवस्था के होला ? भन्दै बैठकलाई शान्त पार्ने प्रयास गरेका थिए । उनको भनाइ उध्दृत अर्का सदस्यले भने, ‘तपाईहरुले ओभरकोट त उहिले उतारिसक्नुभएको थियो, अब कोट र सर्ट पनि खोलिसक्नु भयो । भित्री कपडा मात्र खोल्न बाँकी छ, नांगै हुने हो ? अबका जनता सचेत भइसकेका छन्, त्यो बुझ्नुहोस् ।’

उनले यस्ता विषयमा दस्तावेजीकरण गरी पत्र युध्द छेड्नु भनेको राम्रो लक्षण होइन र कमजोरी सच्याउँदै सहकार्यमा अघि बढ्नुको विकल्प नभएको बताएका थिए । अर्का सदस्य ईश्‍वर पोखरेलले भने दाहालका अघिल्लो बक्तव्यको जवाफ आइसकेपछि छलफल गरेर दुवैतर्फ छानबिन गर्ने शैलीमा अघि बढ्नु आवश्यक रहेको धारणा राखे । 

पोखरेलले आफैं युध्द छेड्ने अनि आफैं छानबिनबाट दाहाल भाग्न नमिल्ने भन्दै यसमा बुँदागत बहस हुँदै जाने धारणा पोखरेलको थियो । इकागजसँगको संक्षिप्त काराकानीमा पोखरेलले भने, ‘दुवै अध्यक्षको प्रस्ताव सचिवालयमा छ । त्यसमा क्रमैसँग बहस हुनेछ । छलफल र बहसले निकास दिनेछ ।’

ओलीले लिखित दस्तावेज बुझाए पनि पत्रमा लेखिएका भन्दा अधिक विषय त्यहाँ राखेका थिए । पत्र आफैंमा निकै लामो थियो । ५३ बुँदे स्पष्टोक्ति पत्रमा ओलीले आरम्भमा नै प्रस्तुति-तरिका, भाषा-भाका शैली हेर्दा विषयका अन्तरवस्तुले गंभीर संकट निम्त्याएको उल्लेख गरेका छन् । पार्टी विधान बाहिर गएर बैठकमा प्रस्तुत गरिने प्रस्तावको कुनै वैधानिक या राजनीतिक हैसियत नराख्‍ने भएकाले खासै महत्व नदिएको भए पनि हुन्थ्यो भन्दै उनले भने, ‘त्यसमा उठाइएका संगीन र भ्रमोत्पादक प्रश्‍नहरूलाई अनुत्तरित राखी छाड्नु पार्टी, कम्युनिष्ट आन्दोलन, देश र जनताकै अहितमा हुने भएकाले केन्द्रीय सचिवालय बैठकमा यस सम्बन्धमा आफ्ना विचारहरु प्रस्तुत गरेको छु ।’

दाहालको आरोपको ओलीले गरे बुँदागत चिरफार
ओलीले आरम्भमा दाहालको आरोपको बुँदागत चिरफार गरेका थिए । ओलीको दस्तावेजमा उल्लेख छ, ‘परामर्श गर्न रितसमेत नपुगेको, तपाईंको नितान्त व्यक्तिगत असन्तुष्टि, सीमाहिन कुण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो मात्रै हो । यो प्रथम दृष्टिमै खारेज योग्य छ । पार्टीका बैठकहरूलाई अग्रगामी एजेण्डाबाट बराल्ने र व्यक्तिगत आरोप-प्रत्यारोप एवं कुण्ठामा अलमलाइरहने छुट कसैलाई हुनु हुँदैन ।’

उनले नेपाली कम्युनिष्ट आन्दोलन यस्ता प्रवृत्तिबाट मुक्त भएको छ र संस्कार, संस्कृति र सभ्यताको हिसाबले उन्‍नत ठाउँमा आइपुगेको सोचेको उल्लेख गर्दै तर दाहालले कथित प्रस्तावमा प्रयुक्त भाषाहरू हेरेपछि निष्कर्षमा पुगे, ‘म भ्रममा रहेछु । मैले आफ्नै सहयोध्दा अध्यक्षबाट कस्तो खालको सहयोग र साथ पाएको रहेछु ।’ दाहालको प्रस्ताव पढ्ने जो कोहीले पनि त्यो आंकलन गर्छन् ।

जुन व्यक्तिको मनमा यति धेरै आक्रोश, आग्रह, घृणा र कुण्ठा अटेसमटेस भएर बसेको छ, त्यस्ता व्यक्तिबाट मलाई सरकार र पार्टी सञ्चालनका क्षेत्रमा कस्तो सहयोग रहेको होला भन्दै ओलीले दिग्दारीसमेत प्रस्तावमा पोखेका छन् । उनले दाहाललाई प्रश्‍न समेत गरेका छन्, ‘पार्टीभित्र चलिरहेको यस बहसको चरित्र के हो ? यो स्वस्थ नीतिगत बहस हो कि ‘वार कि पार’ को लडाइँ ? यो मित्रतापूर्ण हो कि शत्रुतापूर्ण ?’

पुष्टी नभए कानुन अनुरुप भागेदार
दाहालले संविधान र कानुन आकर्षित हुने फौजदारी प्रकृतिका आरोप समेत लगाएको भन्दै ओलीले यति गम्भीर आरोप लागेको मान्छे ‘आत्मालोचना’ गरेर पनि उम्किन सक्दैन, आरोप पुष्टि हुँदा ऊ राज्यको कानुन र पार्टीको विधान अनुसार कारबाहीको भागिदार बन्‍नुपर्ने भन्दै उनले भने, ‘मेरो चुनौती छ : कि आरोप पुष्टि गर्नुस् र राज्यको कानुन तथा पार्टी विधान अनुसार मलाई कारबाही गर्नुस्, कि त आफ्नै सहयोध्दामाथि निराधार आरोप लगाएर पार्टी एकता भङ्ग गर्ने धृष्टताको जवाफदेही बन्‍न तयार हुनुहोस् ।’

दाहालले ओलीलाई सहमति भंग गरेको आरोप लगाएको विषय समेत उठाउँदै सहमतिको लक्ष्मण रेखा ननाघ्नु भएको भए हामीले भनेको ‘कट् अफ डेट’ (२०७७ भदौ २६) अगाडिका कुनै पनि विषयको चर्चासम्म नगर्ने उल्लेख गर्दै ओलीको भनाइ रह्यो, ‘तर तपाईंले आफ्ना आरोपलाई समितिको होइन, सार्वजनिक बहसको विषय बनाउनु भएपछि, जनताले पनि सबै सत्यतथ्य थाहा पाउनु पर्ने भएकाले यस्ता विषय राखेको हुँ ।’ 

सचिवालयमा प्रस्तुत दुवै दस्तावेजबारे छलफल हुँदै जाने र त्यसले दललाई एकबध्द बनाउन थप साथ र सहयोग मिल्ने धारणा नेकपा प्रवक्ता एवं सचिवालय सदस्य नारयणकाजी श्रेष्ठको छ । उनी दाहाल-नेपाल पक्षधर नजिक छन् । उनी भन्छन, ‘यो प्रस्ताव आउनु सकारात्मक हो । निकै स्वागत योग्य छ । आरोप, अण्डन, आक्षेप, आत्मआलोचना लगायतको विषय भनेको कम्युनिष्ट पार्टी भित्रको लोकतान्त्रिक अभ्यास नै हुन ।’

एमसीसीबारे जगजाहेर छ
ओलीले नेपालको विदेश नीति स्पष्ट छ र त्यही नीतिमा आफू अडिक रहेको समेत बताए । सम्वन्ध बिग्रदा वा नयाँ ढंगले अघि बढाउन खोज्दा अनेकन भेटवार्ता हनसक्छ तर को राष्ट्रवादी र को राष्ट्रघाती आ-आफ्नो कार्यकाल समिक्षा गरौं भन्‍ने समेत ओलीको पत्रमा छ । निश्‍चित विषयमा असहमति भारतसँग छ त्यसमा छलफल भइरहेको पनि ओलीले जानकारी दिए । अमेरिकी सहयोग एमसीसी परियोजनाबारे ओलीको भनाइ छ, ‘सरकारलाई आरोप लगाउँदा त्यो कहाँ र कसरी अड्यिो कसले के बोलेका छन् जगजाहेर छ, तर म माथि किन यस्तो धारणा ।’

र, यो पनि
- के आउँला ओलीको जवाफ ? के होला बैठकमा ? नयाँ रणनीतिमा दाहाल-नेपाल
- सचिवालय बैठकअघि दुई नेताको सुझाव : यसपटक विधिले जित्यो भने जनताको जित हुनेछ
- दाहाललाई ओलीको जवाफ तयार


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x