राजनीति

नेकपा सचिवालय बैठक

के आउँला ओलीको जवाफ ? के होला बैठकमा ? नयाँ रणनीतिमा दाहाल-नेपाल

चन्द्रशेखर अधिकारी |
मंसिर १३, २०७७ शनिबार १२:४३ बजे

काठमाडौं : सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत १९ पृष्ठको दस्तावेजमा दर्ज हरेक आरोपको प्रतिवादसहितका जवाफ अब केहीबेरमा बस्‍ने सचिवालय बैठकमा दिने भएका छन् । मंसिर ३ को सचिवालय बैठकपछि दुई अध्यक्षबीच प्रत्यक्ष संवाद समेत हुन सकेको छैन । उनीहरू एकैपटक आज केहीबेरमा सचिवालय बैठकमा भेट हुँदैछन् ।

प्रधानमन्त्री ओलीले पटक-पटक दाहाललाई बालुवाटारमा भेट्न खोजेपनि उनी एक्लै भेट्न नजाने अडानमा रहेपछि यो बीचमा उनीहरूमा प्रत्यक्ष संवाद हुन सकेन । त्यसपछि दोस्रो तहका नेताहरूले दूतको रुपमा भेटवार्ता जारी राखे । उनीहरू दल एकीकरणलाई टुंगोमा पुर्‍याउन पनि लागि परेका थिए ।


यही पृष्ठभूमिको सचिवालय बैठक महासचिवले आरम्भ गरेलगत्तै प्रधानमन्त्री ओलीले संवोधन गर्दै दाहालका राजनीतिक र व्यक्तिगत दुवै प्रश्नको जवाफ एक-एक शब्द केलाएरे दिनेछन् । सचिवालयमा अध्यक्षद्वयको सहमतिमा साझा प्रस्ताव ल्याउने परम्परा विपरीत दुवै अध्यक्षले फरक-फरक यस्ता प्रस्ताव ल्याएका हुन् । ओली पक्षले भने लिखित जवाफ नदिएको तर मौखिक कुरा दस्तावेजीकरण गरेर बाहिर ल्याएपछि लिखित बनाउन बाध्य भएको प्रधानमन्त्री सचिवालयको धारणा छ ।

गौतम फकाउँदै ओली

कार्यकारी अध्यक्ष दाहालले ओलीलाई काम गर्न नदिएको, दलभित्रको निर्णय अनुसार आफ्नो काम भन्दा सरकारप्रति बढी चासो राखेको, सचिवालयमा एकपक्षीय आरोपपत्र राख्ने कार्यले पार्टी एकताको औचित्यमा प्रश्न चिन्ह खडा गरेको दावी ओली पक्षधरको छ । प्रधानमन्त्री ओलीले दाहाल पक्षधरसँग सल्लाह नै नगरी अघिल्लो बैठकमा लिखित प्रस्ताव राखेपछि गत कात्तिक २८ को सचिवालय बैठकमा जवाफ स्वरुप दाहाल-नेपाल पक्षधरले त्यस्तो प्रस्ताव ल्याएको फरक दाबी छ ।

होलान् त प्रधानमन्त्री संयमित ?
तीन पूर्व प्रधानमन्त्रीको समूहले लगाएको आरोपपछि ओली समुह निकै असंयमित भएका थिए । त्यही कारण मंसिर ३ को बैठकमा कुनै जवाफ ओलीले दिएनन् । प्रस्ताव खारेज गर्दै यसको जवाफ दिन १० दिन समय मागेका थिए । त्यही अनुरुप आज बैठक तोकिएको थियो । निकै असंयमित झैं देखिएका ओली पक्षधरले संयमित रुपमा तर शब्दबाण दिन लागेका हुन् ।

‘हामी (प्रधानमन्त्री पक्षधर) संयमित रुपमा प्रस्तुत हुनेछौ,’ सचिवालयका एक सदस्यले भने, ‘उहाँ (अर्का अध्यक्ष दाहाल) ले लगाएका आरोप न पुष्टि हुन्छ न त कुनै सत्यतामा आधारित छ । केवल कुण्ठा हो । त्यसको जवाफ राम्रै पाउनु हुनेछ ।’ त्यसअतिरिक्त उनलाई दस्तावेजमा लगाइएका भ्रष्टाचार र शासकीय अराजकतासम्बन्धी अभियोग पुष्टि गर्न कानुनी चुनौती दिन प्रधानमन्त्रीले आग्रह गर्नेछन् । अन्यथा, प्रधानमन्त्री स्वयं कानुनी बाटोमा जानेसम्मको तयारी छ ।

नेकपाका तीनपूर्व प्रधानमन्त्री समूहले ओलीको उत्तरपछि आगामी रणनीति तय गर्ने भएका छन् । उनीहरूबीच उक्त विषयमा छलफल समेत भएको छ । खुमलटारमा दाहाल-नेपाल पक्षधर जम्मा भएर शुक्रबार लामो छलफल गरेका थिए । त्यस्तै, छलफल शुक्रबार बालुवाटारमा ओली पक्षधरको पनि थियो । त्यतिमात्र होइन ओली पक्षधरका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल अर्का नेकपा उपाध्यक्ष बामदेव गौतम भेट्न भैसेपाटीस्थित निवास पुगेका थिए । उनको जोड पार्टी एकता कामय गर्दै अघि बढ्न गौतमको साथ ओली ल्याउनुमा थियो । सरकार र दलमा उनलाई भुमिका दिएर भएपनि दाहाल समूहबाट फिर्ता ल्याउने प्रयासमा ओली छन् ।

जवाफपछि नयाँ रणनीतिमा दाहाल-नेपाल पक्षधर

नेकपा अध्यक्ष दाहालले प्रस्तुत गरेका १९ पृष्ठ लामो प्रस्ताव पार्टी विभाजनकै एक रुप भन्दै आएका ओली पक्षधर त्यो संकट टार्न संयमित देखिएका हुन । प्रधानमन्त्री ओलीको डकुमेन्ट शुक्रबार साँझ तयार भइसकेको छ । अध्यक्ष दाहालको प्रस्ताव पूर्णत लाञ्छना लाग्ने प्रकारको रहेकाले यस्ता आरोपको खण्डन गरेको भनेका प्रधानमन्त्री ओलीले उनीमाथि लागेका लाञ्छना र तथ्यहीन आरोपहरू भन्दै त्यसमा स्पष्ट जवाफ दिनेछन् ।

यसो भन्छन् ओली पक्षधर
उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमनत्रीको जवाफ आउने स्पष्ट पार्दै भने, ‘प्रधानमन्त्री माथि लगाइएका लाञ्छना, गालीगलौज र आरोपहरूलाई उहाँ स्वयंले खारेज गरिसक्नुभएको छ । यद्यपि लिखित जवाफ पनि त्यसैगरी आउनेछ।’ यसबाट स्पष्ट हुन्छ प्रधानमन्त्री ओलीले शनिबारको बैठकमा दाहालको जवाफको रुपमा समग्र विषयको दस्तावेज प्रस्तुत हुनेछ । प्रधानमन्त्रीले आफ्नो प्रस्ताव तयार पारिसकेको जानकारी दिंदै पोखरेलले थपे, ‘अध्यक्ष दाहालले लगाउनुभएको आरोपपत्रको खण्डन गर्ने र सहमतिमा पार्टीलाई एकताबद्ध बनाएर कसरी अगाडि लैजाने भन्ने विषय उक्त पस्तावमा छ ।’

प्रधानमन्त्रीमाथि दाहालले राजनीतिक र ब्यक्तिगत दुई खाले आरोप लगाएकाले त्यही अनुरुपकै जवाफ तयार भएको हो । हरेक बुँदाको प्रमाणसहित जवाफ दिने गरी ओली तयार भएको उनीहरूको तयारीले स्पष्ट पार्छ । सरकार र एकीकृत पार्टी संचालन, पार्टी एकीकरण प्रक्रियालाई टुंगोमा पुर्‍याउने र एकता अक्षुण राख्दै तोकेअनुसार महाधिवेशनको टुंगोमा पुर्‍याउने लगायतका समग्र विषय त्यहाँ प्रस्तुत हुनेछ ।

सरकारले गरेको कार्य र दाहालको आरोप मात्र होइन आगामी महाधिवेशनको तयारी, त्यसपछिको यात्रा लगायतका समग्र विषय समेटिएर दाहालको भन्दा लामो जवाफी धारणा आउनेछ । महाधिवेशनबाट नयाँ पुस्तालाई थप सक्रियता दिने विषय पनि उल्लेख भएका छन् । ओलीले आफ्नो प्रस्ताव विशेष गरी आफ्ना प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, उपप्रधानमन्त्री पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्बाङ, महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, महान्याधिवक्त अग्नि खरेल लगायतसँग लागतार छलफलका आधारमा तय गरेका हुन् ।

प्रतिपक्षसँगको परामर्श र फरक सन्देश
अप्रिय निर्णय लिन पर्दा के गर्ने भन्दै ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग समेत छलफल गरे । ‘त्यो छलफल’ संवैधानिक नियुक्तीका विषयमा प्रतिपक्षीसँग गर्ने भनिए पनि लामो छलफलमा सत्ताभित्र र आफूलाई पार्न लागेको असजिलो अवस्थाबारे समेत छलफल गरेको ओली निकट नेताले बताएका थिए । यदि पार्टी फुटको अवस्था आए के गर्ने भन्दै आफ्ना पुराना मित्र देउवासँग उनले छलफल गरेका हुन । ओली र देउवाबीचको मित्रता गाढा नै छ । विपक्षी र प्रतिपक्षको रुपमा नदेखिनु कारण पनि त्यही हो ।

दाहालको प्रस्ताव कुण्ठा र छुटको फेहरिस्था भनेका प्रधानमन्त्री ओलीले त्यसका हरेक बुदा केलाएर जवाफ दिन लागेको विषयमा समेत देउवासँग छलफल गरेका थिए । उनले सरकारमा आएपछि गरिएको काम, संघीयतालाई बलियो बनाउन तयार गरेको आधारबारेमा प्रतिपक्षसँग मिलेर गरेका कैयन कार्यहरुबारे पनि छलफल गर्दै देउवाको समेत सुझाव लिएका थिए । देउवा बाहिर जति अबुझ देखिन्छन्, भित्री खेलमा निकै माहिर नेता हुन् । त्यो ज्ञानको लागि पनि ओलीले देउवासँग छलफल गरेको हुन सक्ने उनी निकटका नेताले बताए । यसबीचमा भएका कूटनीतिक भेटघाट र गुप्तचरको उठबसको विषयले पनि सत्तारुढ दलभित्र प्रभाव राखेको बताइएको छ । दलभित्र यस प्रकारको प्रभावमा सत्तारुढ नेतृत्व लागेको आरोप पनि पूर्व तीन प्रधानमन्त्री समूहको छ ।

अबको बाटो
दाहाललाई प्रस्ताव फिर्ता लिन लगातार दवाव दिइएको भए पनि उनी टसमस भएनन् । ओली पनि त्यो भन्दा चर्को रुपमा आउन सक्ने भनिए पनि उनले सयंमता देखाउन खोजेका छन् । आरोप लगाएपछि आरोप पुष्टि नभए आरोप लगाउने माथि कानुनी दायित्व हुन्छ भन्ने मान्यता प्रधानमन्त्रीले अघि सार्नेछन् ।

आरोप पुष्टि नभए के गर्ने ?

लगाएका आरोप कानुनी तवरमा पुष्टिगर्न भन्दै ओलीले दाहाललाई चुनौती समेत दिंदै दस्तावेजमा लेखेका छन्, ‘दाहालजीको आरोप पुष्टि भए पुनः जेल बस्न तयार छु । नभए के गर्ने आफैं मनन गर्नुहोस् ।’ दाहालले प्रधानमन्त्री ओलीलाई भ्रष्टाचार गर्नेहरूको संरक्षकको उपमा दिएका थिए । ओलीले गुटमा नभई सहमतिको आधारमा आगामी महाधिवेसनसम्म जानुपर्ने सर्त दाहालले भुल्न नहुने स्पष्ट पारेका छन् । दस्ताबेजमा नेकपा एकताका आधारमात्र होइन विगतको माओवादीको हैसियत, उदयको पृष्ठभूमि र आगामी महाधिवेशनपछिको यात्रा आफू विरामी हुँदाको परिस्थिति समेत उल्लेख भएका छन् ।

सरकारले आफ्नो कमजोरी छोप्न अन्यलाई आरोप लगाउँदै आएका नेतृत्व तहले दुई तिहाइ बहुमत प्राप्त कम्युनिस्ट सरकारको लोकप्रियता खस्काउने कार्यमा अध्यक्ष दाहाल लागेको उल्लेख छ । त्यो बाह्य हर्कतमा दाहाल पात्र बनेको समेत उल्लेख छ । यस्तो भूँमरी भित्रबाट दाहालको प्रस्ताव आएको समेत उल्लेख गरेको एक निकटस्थले जानकारी दिए ।

नेकपा प्रवक्ता एवं दाहाल-नेपाल गुटमा प्रष्ट देखिएका नारायणकाजी श्रेष्ठले समेत प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका छन । उनले अध्यक्ष एवं प्रधानमन्त्रीको जवाफपछि नेतृत्वले छलफल गरेर कुनै धारणा बनाउलान् । अब मिलाएर अघि बढ्नु आवश्यक रहेको बताए । पार्टी एकता बचाउने गरी जवाफ आउने अपेक्षामा दाहाल पक्षधर छ ।

दाहाल-नेपाल पक्षधरले पनि अध्यक्ष ओलीको दम्भ र उनको सचिवालयको ओठे जवाफ हेर्दा बाहिर भनिएका र चर्चा भएभन्दा फरक ढंगको प्रस्ताव आउन सक्छ । धम्काउने, अन्तराष्ट्रिय अदालतको कुरा उठाउने जस्ता कार्य भएमा त्यसको नतिजा ओलीले भोग्नुपर्नेसम्मको तयारीमा दाहाल-नेपाल लागेको अर्का एक नेताले बताए । ओलीको जवाफको अध्ययनपछि दाहालको काउन्टर जवाफ जाने दाहाल निकटले बताए । यसरी शक्तिको बीचमा खेल्न माहिर र सँधै शक्तिमा रहेका नेताहरु मिलाउने नाममा दुवैतर्फ दौडधुपमा छन् ।


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x