राजनीति

नेपाल-भारत विदेश सचिवस्तरीय वार्ता

सीमा विवाद तत्काल टुंग्याउन आवश्यक :  नेपाल

एक विषयकाे कारण सबै सम्बन्ध बन्धक बनाउनु हुँदैन : भारत

चन्द्रशेखर अधिकारी |
मंसिर १२, २०७७ शुक्रबार २:२९ बजे

काठमाडौँ : एक वर्षदेखि रोकिएको कूटनीतिक वार्ता सुचारुसँगै सीमा विवाद तत्काल टुंगोमा पुर्‍याउने नेपाली चाहना सहितको स्पष्ट सन्देश भारतलाई दिईंएको छ । शान्तिपूर्ण वार्ता, पुराना सन्धी र भएका दस्तावेजको आधारमा समाधान गर्न नेपाल तत्पर रहेको सन्देश प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृंगलामार्फत प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिएका हुन् । 

‘यसलाई बल्झाएर राख्न हुदैन,’ उनको सन्देश स्पष्ट छ, ‘दुई मुलुकबीचका सीमा विवाद भर्खरै सिर्जना भएका पनि होइनन् । इतिहासले छोडेका समस्यालाई थाँती राख्दा झन बल्झन सक्ने हुँदा मिलेर समाधान गरौँ । यो विषय मैले माेदी जीसँग पनि भनेको छु ।’ राजनीतिक सन्देश सहितको कूटनीतिक वार्ताले नेपाल र भारतबीच औपचारिक संवादको बाटो तय गरेसँगै नेपालले भारतलाई त्यस्तो सन्देश दिएको हो ।


भारतीय प्रधानमन्त्री मोदीको सन्देश लिएर प्रधानमन्त्री ओली समक्ष उपस्थित विदेश सचिव श्रृंगलालाई प्रधानमन्त्रीले वार्ता नै सम्वन्धको मुख्य आयम रहेको बताए । भेटको आरम्भमा नै श्रृंगलाले अपसी सम्वन्ध ‘राम्रो र बलियो’ बनाउन प्रधानमन्त्री मोदीले चाहेको जानकारी दिए । नेपाल-भारतबीचको आपसी र बहुआयामिक सम्बन्धलाई एक्काइसौँ शताब्दी अनुकूल तथा युग सुहाउँदो तवरले थप गतिशील र सुमधुर बनाउन आवश्यक छ । देखिएका समस्या बहस र छलफलबाट सल्टाउनु नेपाल तत्पर रहेको सन्देश प्रधानमन्त्री ओलीले पठाएका छन् ।
 
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री स्तरको सन्देश आदानप्रदानले सीमा विवादका विषयमा वार्ता र छलफलसँगै उच्च स्तरको भ्रमणको समेत वातावरण बनेकाे बताए । प्रधानमन्त्री भेट्नु अघि  श्रृ‌गलाले परराष्ट्रमन्त्री ज्ञवालीसँग भेटवार्ता गरेका थिए ।

‘सहकार्यका विविध विषय र भएका प्रगतिका साथै देखा परेको समस्याहरुबारे वृहत छलफल गर्‍यौं’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘सीमा विवाद, प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन लगायतका दुई देशका बीचमा रहेका अन्य विषयमा पनि छलफल भयो ।’ उक्त प्रतिवेदन दुई वर्षदेखि अलपत्र छ । प्रतिवेदनले अहिले भएका छलफलका सबै विषयका समाधानको एक प्रस्थान विन्दु नै तय गरेको छ ।

अग्रजले छाडेको मुद्दाहरू टुंग्याएर एउटा विश्वासको जग अहिलेको अवश्यकता भएको उनले बताए । नेपालले सार्वभौम समानता, पारस्परिक लाभ, अहस्तक्षेप र आपसी विश्वासका आधारमा सम्बन्धलाई सुदृढ गराउन चाहेको प्रष्ट सन्देश दिएको मन्त्री ज्ञवालीले बताए । उनले यसमा भारत पनि सहमत रहेको  बताए ।  

नेपालले राखेको सीमाको विषयमा श्रृंगलाले धेरै बोलेनन तर उनले समस्या समाधान गर्न भारत तयार रहेको बताएको भेटमा सहभागिले जानकारी दिए । श्रृंगलाले हामीबीच देखिएको केही समस्याका कारण नै सबै दुईपक्षीय कार्य बन्धक बन्न नहुने बताउँदै भने, ‘हामीबीचमा केही समस्या छन्, त्यसमा सबै जानकार छौं । सबै विषयहरुलाई वार्ताद्वारा समाधान गर्न आवश्यक छ ।'

उनले प्रधानमन्त्री र परराष्ट्र मन्त्री को अलवा अन्य राजनीति भेटवार्ता गरेका थिए । विदेश सचिव श्रृंगलाले  राष्ट्रपति विद्यादेवि भण्डारी, प्रमुख प्रतिपक्ष दल कांग्रेसका सभापति शेरबहादुर देउवा सहितको टीम र परराष्ट्रमन्त्री  ज्ञवालीलाई भेटेर सन्देश दिएका थिए । राष्ट्रपति भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पुर्‍याउन भारतीय पक्षसँग आग्रह गरिन । त्यस्तै देउवासँग भारतीय टाेलीले पछिल्लाे राजनीतिक अवस्था बारेमा छलफल गरेका थिए ।

उनले यसबाहेक अन्य नेतृत्वसँग पनि वार्ता गरेका छन् । केहीलाई शुक्रबार भेट्ने कार्यक्रम छ । नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पीयाधारलाई भारतले आफ्नो राजनीतिक नक्सामा पारेपछि नेपालका राजनीतिक दलहरु सीमाको विषयमा एकै स्थानमा उभिदै‌ यस्ता विषयमा मनभेद गर्न नहुने सुझाएका छन् । सबैको एउटै धारणा आएकाले भारत आफ्नाे कदमबाट पछि हट्न सक्छ ।

नेपाली समकक्षी भरतराज पौड्यालको निमन्त्रणामा नेपाल आएका उनले डेलिगेसन तहको सचिव स्तरीय द्वीपक्षीय वार्ता गरेका थिए । उक्त वार्ता उपयोगी र सम्वन्ध अघि बढाउने पछिल्लो खुड्कीला हो । सहकार्य र वार्ता मार्फत समस्या समाधानको लागि हामी सधै तयार रहेको सन्देश लैजान समेत आग्रह गरे । एक वर्षदेखि चिसिएको सम्वन्ध यतिबेला कूटनीतिक च्यानलबाट अघि बढेको हो । 

कोभिड १९ ले शुनसान रहेको होटल याक एन्ड यतिमा नेपाल र भारतका उच्च अधिकारीहरूले करिव अढाई घण्टामा दुई दर्जनबढि मुद्दामा बहस र छलफल गरे । वार्तामा नेपाल र भारतबीच रहेको समग्र विषयमा छलफल भएको र आगामी दिनमा उच्चस्तरको वार्ताको लागि बाटो खुल्ला गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

भारतीय विदेश सचिव श्रृंगलालले वार्तालाई उपलब्धिमूलक भनेका छन् । शिष्टाचार भेटघाट उपलब्धी मुलुक रहेको प्रतिक्रिया दिंदै भने, ‘सम्वन्ध राम्रो र सवल बनाउने विषयमा छलफल भयो । अधिकतम छलफल अपसी हितको बारेमा नै केन्द्रीत रह्यो ।’११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव पौड्यालले तथा त्यति नै सदस्य रहेको भारतीय प्रमण्डलको नेतृत्व विदेश सचिव श्रृंगलाले गरेका थिए ।

वार्तामा सचिव पौड्याल नेतृत्वमा परराष्ट्र मन्त्रालयका सहसचिवद्वय सेवा लम्साल र यज्ञबहादुर हमाललगायत थिए ।  सचिव श्रृंगला नेतृत्वको टोलीमा भारतीय विदेश मन्त्रालयका उत्तर हेर्ने सहसचिव अरिन्दम बाग्ची, भारतीय राजदूत विनयमोहन क्वात्रा सहित दूतावासका कर्मचारी सहभागि थिए । बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयमा विचारविमर्श भएको सचिव पौड्यालले जानकारी दिए ।

विदेश सचिवका रुपमा काठमाडौँ आउँदा मलाई अत्यन्त खुशी लागेको छ, पहिले पनि काठमाडौँ आएको थिएँ तर विदेश सचिवका रुपमा यो मेरो पहिलो भ्रमण हो ।

‘भारत र नेपाल निकटतम मित्र हुन्, हाम्रो मैत्रीपूर्ण सम्बन्धलाई अझ अघि बढाउन अधिकतम प्रयास गर्नेछु । मेरो भ्रमण सम्वन्धको हार्दिकता र सहकार्यमा नै केन्द्रीत छ,’ उनले भने । काठमाडौस्थित भारतीय दूतावासले दुबै पक्षले अधिक विषय र परियोजनाहरुमा भएको प्रगतिको सराहना गरेको छ । ‘आपसी सहकार्यलाई अगाडि बढाउन थप कदमहरू चाल्ने सहमति पनि भयो’ दूतावासले भनेको छ ।

श्रृंगलालाई  त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा सचिव पौड्याल, परराष्ट्रका उच्च अधिकारी र राजदूत क्वात्रा  लगायतका अधिकारीले स्वागत गरेका थिए । आफ्नो भ्रमणको उद्देश्यबारे जानकारी दिँदै विमानस्थलमा बिहान ओर्ले लगत्तै सचिव श्रृंगलाले नेपाली भाषामा भने, ‘विदेश सचिवका रुपमा काठमाडौँ आउँदा मलाई अत्यन्त खुशी लागेको छ, पहिले पनि म काठमाडौँ आएको छु तर विदेश सचिवका रुपमा मेरो यो पहिलो भ्रमण हो । म पहिले नै आउन चाहेको कोभिडले ढिलाई भयो ।’

विहिबार उच्चस्तरीय भेटवार्तामा व्यस्त रहेका उनी शुक्रबार गोरखा पुगेर भारत सरकारको सहयोगमा पुनःनिर्माण तीन विद्यालय भवन उद्घाटन गर्ने कार्यक्रम छ । गोरखामा ५० हजार घर बनाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणा अनुरुप ४० हजार घर बनिसकेको जानकारी दिँदै विदेश सचिव श्रृंगलाले मनाङमा निर्माण गरिएको बौद्ध गुम्बाको पनि शुक्रबार नै उद्घाटन हुने बताए । त्यसपछि उनी स्वदेश फर्कने कार्यक्रम छ ।  

आएलगत्तै के भने श्रृंगलाले ?

'नेपालमा आउन पाउँदा मलाई निक्कै खुसी लागेको छ । यहाँ आएर खुशी छु । म पहिला पनि काठमाडौँ आएको छु । तर, विदेश सचिवका रुपमा यो मेरो पहिलो भ्रमण हो । नेपाल र भारत घनिष्ट मित्र हुन्, छन् र रहनेछन् । मेरो धेरै भेटवार्ताहरु छन् । सबै वार्ताले हाम्रो मित्रतालाई अझै गाढा बनाउने विश्वास छ । त्यही विषयमा छलफल हुनेछ ।  त्यसपछि अन्य राजनीतिक भेटभाट हुनेछ । अन्य व्यक्तित्वसँग पनि भेट हुन्छ । शुक्रबार विहान नेपाल-भारत मैत्री सम्बन्धका विषयमा भर्चुअल बोल्नेछु । अनि म भोलि नै गोरखा पनि जान्छु । त्यहाँ हामीले ५० हजार घर बनाउने प्रतिबद्धता गरेकोमा अहिले ४० हजार बनिसकेको छ । हाम्रो ध्यान शिक्षामा पनि रहेकाले कार्य सम्पन्न तीन पुर्ननिर्मित विद्यालयको उद्घाटन समेत हुनेछ । मनाङमा हामीले एउटा गुम्बा पुनर्निर्माण गरेका छौँ । त्यो पनि शुक्रबार नै उद्घाटन हुनेछ ।'

वार्तापछि के भने श्रृंगलाले ?

'छाेटाे समयको कारण म निकै व्यस्त भएँ । हतारिएको छु । नेपाल र भारत सम्वन्धकाे समग्र पाटोमा हामीले छलफल गर्‍यौं । नेपाली पक्षसँग भएको द्विपक्षीय कुराकानी निकै फलदायी भयाे । यो नियमित छलफलको एक पाटो हो । हामीले यसमा समंग्र विषयमा छलफल गरेका छौं । कुनै पक्ष छुटेको छैन । छलफलले नेपाल भारत सम्वन्धलाई थप क्रियाशिल र नजिक बनाएको छ । दुवै तर्फबाट राखिएका विषयहरुमा माथी बहस भएका थिए । सबै एजेण्डाहरू सम्वन्ध नजिक बनाउने नै प्रकारका थिए । समस्या बन्दक बनाएर होइन वार्ताबाट समाधान गरेर अघि बढ्न आवश्यक छ । हामीबीच गहिरो मित्रता छ, केही विषयले त्यो सम्बन्धलाई बन्धक बनाउनु हुन्न ।  बैठकमा हामी दुई पक्षबीच अत्यन्त फलदायी र उपयोगी कुराकानी भयो  ।'

कोभिड-१९ को खोप उपलब्ध गराउन भारतले सहयोग गर्ने

छिमेकी भारतले कोभिड-१९ को खोप तयार भएपछि नेपाललाई उपलब्धकालागि  सहयोग गर्न तयार रहेको बताएको छ । सचिव श्रृंगलाले परराष्ट्रमन्त्री ज्ञावलीसँगको भेटपछि भारत विश्वको सबैभन्दा धेरै खोप उत्पादन गर्ने मुलुक रहेकोले खोप तय भएपछि नेपालमा सहजै उपलब्ध हुने बताए । ‘जब खोप तयार हुन्छ, नेपालको आवश्यकता हाम्रो लागि एक प्राथमिकता हुनेछ’ उनले भने । उनले विगतदेखि अहिलेसम्म कोभिड-१९ लाई नियन्त्रण गर्न विभिन्न सहयोग गरेको र नेपालको आवश्यकता अनुसार थप सहयोग गर्न भारत तयार रहेको पनि बताए। हामीले कोभिडको खोपको सम्बन्धमा अहिलेसम्म भएका प्रगतीहरुको बारेमा पनि छलफल गर्याै । कोभिड-१९ बाट प्रभावित भारतले अहिलेको कठिन परिस्थितिमा पनि  रेम्डिसिभिर इञ्जेक्सन उपलब्ध गराएकाे छ । 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x