राजनीति

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री लामिछाने

इकागज |
चैत १५, २०८० बिहीबार २१:३४ बजे

फाइल तस्बिर

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । आज गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लामिछानेले एक सय वर्षभन्दा बढीको घनिष्ठ सम्बन्धमा बेलायतले नेपालको पूर्वाधार विकास, सामाजिक उत्थान, सरकारी तथा गैर-सरकारी निकायको क्षमता अभिवृद्धि, विपद् व्यवस्थापन, गोर्खा सैनिक भर्नालगायत विषयमा गरेको सहयोग, सहकार्य र समन्वयका लागि आभार व्यक्त गरे ।

उनले लोकतन्त्रको सुदृढीकरण, जलवायु परिवर्तन अनुकूलन, सामाजिक समावेशीकरण, सामाजिक विभेद र वञ्चितिकरण न्यूनीकरणमा समेत बेलायत सरकारसँग थप समन्वय र सहकार्यको अपेक्षा रहेको बताए । गोर्खा सैनिकले गरेको योगदान स्मरण गर्दै उहाँले बेलायत सरकारले गोर्खा सैनिकको मुद्दा न्यायोचित रूपमा सम्बोधन गर्नेमा विश्वस्त रहेको भनाइ राखे । 


सो क्रममा राजदूत फेनले जाजरकोट भूकम्पको पुनःनिर्माणमा बेलायत सरकारले अनुदान उपलब्ध गराउने र नेपालको विकास निर्माण साझेदारीका लागि नयाँ योजना ल्याउने क्रममा रहेको गृहमन्त्रीलाई जानकारी गराएका थिए । विकासमा साझेदारी अनन्तकालसम्म रहने राजदूत फेनको प्रतिबद्धता थियो ।


Author

थप समाचार
x