राजनीति

पर्यटन क्षेत्रमा सरकारले लगाएको अतिरिक्त करको पुनर्विचार हुनुपर्छ : अध्यक्ष ढकाल

इकागज |
चैत १५, २०८० बिहीबार १७:२० बजे

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रमा सरकारले लगाएको अतिरिक्त करको पुनर्विचार हुनुपर्ने बताएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अध्यक्ष ढकालले विभिन्न क्षेत्रमा लगाइएको अतिरिक्त करले पर्यटन क्षेत्रलाई असर गर्ने देखिएकाले अतिरिक्त करको पुनर्विचार हुनुपर्ने बताएका हुन् ।


गत बजेटले हवाई टिकट र होटलको लक्जरी कर थप गरेका कारण पर्यटन क्षेत्रलाई निरुत्साहित गरेकाले यसलाई सच्चाउनुपर्ने उनले बताए । त्यस्तै ढकालले भारतीयहरूले विवाह समारोह देश बाहिर गर्ने गरेकाले नेपालमा त्यस्तो समारोह गर्ने गरी आकर्षित गर्न सक्नुपर्ने बताए ।

नेपाल र भारतको खुला सिमाना कारण पनि वैवाहिक समारोहका लागि नेपाल आउने भारतीय पर्यटकहरूको संख्या बढाउन सके यस क्षेत्रले फड्को मार्ने उनको भनाइ छ । ढकालले पर्यटन बोर्डलाई प्रभावकारी बनाउँदै निजी क्षेत्रलाई समेत समेटेर टास्क फोर्स तयार गर्नुपर्ने सुझाव रहेको बताए ।

समितिले पर्यटन तथा हवाई उड्डयनसम्बन्धी विषयमा नेपाल उद्योग वाणिज्य महासंघसँग छलफल गरेको हो । यस विषयमा पुन: पर्यटनमन्त्रीसँग छलफल गरिने समिति सभापति राजकिशोर यादवले जानकारी दिए । 


Author

थप समाचार
x