राजनीति

गण्डकीमा तीनै सिटमा गठबन्धनका उम्मेदवार विजयी

इकागज |
माघ ११, २०८० बिहीबार २०:१३ बजे

कास्की- राष्ट्रियसभा सदस्य निर्वाचन-२०८० अन्तर्गत गण्डकी प्रदेशमा आज भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरू तीनै सिटमा विजयी भएका छन् । 

सत्ता गठबन्धनबाट अन्य समूहमा नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ, महिलातर्फ नेकपा (माओवादी केन्द्र) की मनरुपा शर्मा र अपाङ्गता/अल्पसंख्यक समूहबाट नेपाली काँग्रेसका पदमबहादुर परियार विजयी भएका हुन् ।


अन्य समूहमा निर्वाचित श्रेष्ठले कूल तीन हजार आठ सय आठ मतभार प्राप्त गर्दा नेकपा (एमाले) का उम्मेदवार चक्रबहादुर पराजुलीले दुई हजार चार सय ७७ मतभार पाए । राष्ट्रिय प्रजातन्त्र पार्टीका रोमबहादुर भण्डारीले एक सय छ मतभार पाए । 

महिलातर्फ माओवादीका शर्माले तीन हजार छ सय ६० मतभार प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रत्याशी नेकपा (एमाले) का सम्झना देवकोटाले दुई हजार पाँच सय ५३ मतभार पाइन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गौमाया श्रेष्ठले एक सय छ मतभार पाइन् ।

अपाङ्गतातर्फ विजयी नेपाली काँग्रेसका परियारले कूल तीन हजार सात सय ७४ मतभार प्राप्त गरे । परियारका प्रतिस्पर्धी नेकपा (एमाले) का हेमन्द्र शेरचनले कूल दुई हजार चार सय ५८ मतभार पाए । अपाङ्गतातर्फ प्रदेशसभाको तीन मत बदर भएको छ । 

निर्वाचनमा प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिएको थियो । प्रदेशसभातर्फ तीन हजार एक सय ८० र स्थानीय तहतर्फ तीन हजार दुई सय ३० गरी कूल छ हजार चार सय १० मतभार थियो । 

पोखरा महानगरपालिका-७ रत्नचोकस्थित प्रदेश निर्वाचन कार्यालयको परिसरमा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान भएको थियो । 

मतदानमा प्रदेशसभाका ६० र स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी एक सय ६९ गरी दुई सय २९ जनाले मतदान गर्नुभएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए । 

राष्ट्रियसभाका अध्यक्ष समेत रहेका गणेशप्रसाद तिमिल्सिना, राष्ट्रियसभा सदस्यद्वय दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल सकिन लागेकाले निर्वाचन भएको हो । 

तिमिल्सिना अन्य, गुरुङ महिला र पन्थ अपाङ्गता/अल्पसंख्यक समूहबाट निर्वाचित भएका थिए । अध्यक्ष तिमिल्सिना र गुरुङ नेकपा (एमाले) र पन्थ कांग्रेसबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।


Author

थप समाचार
x