राजनीति

एनएनआरएनएकाे उपमहासचिवमा किन उम्मेदवारी दिँदैछन् सचिव प्रविन गुरुङ ?

इकागज |
असोज १५, २०८० सोमबार १०:४६ बजे

कतार । कतारमा कर्मथलो बनाइरहेका एनआरएनए सचिव प्रविन गुरुङले आगामी कार्यकालका लागि उपमहासचिव पदमा आफ्नो प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेका छन । 

एनआरएनएका उपाध्यक्ष आरके शर्माको आगामी कार्यकालका लागि कतारमा आयोजित अध्यक्षमा उम्मेदवारी घोषणा कार्यक्रममा गुरुङले उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन्।


एनआरएनएको अभियानमा निरन्तरता दिन र आफ्ना एजेण्डालाई उचाईमा पुर्याउनका लागि मध्यपूर्वले नेतृत्व पाउनु पर्ने गुरुङको तर्क छ । उनले अध्यक्षका उम्मेदवार आरके शर्मालाई सफलताको शुभकामना दिँदै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा गुरुङले क्रमिक रुपमा २०२३–२५ कार्यकालका लागि उपमहासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

‘विश्वका एनआरएनए एउटै मालामा, संस्थाको शाख जोगाउने हाम्रै पालामा’ भन्ने मुल नारा लिएर उपमहासचिव पदका उम्मेदवारी घोषणा गरेका गुरुङ गोरखामा जन्मिएर चितवन बस्दै आएर हाल कतारमा सफल ब्यवसायीको पहिचान बनाएका छन् ।

एनआरएनए कतारको सदस्य, उपाध्यक्ष, मध्यपूर्व उपसंयोजक, संयोजक हुँदै आइसीसी सचिवसम्म सर्वाधिक रुचाएर निर्विरोध निर्वाचित हुन उनी सफल भएका थिए ।

गुरुङले महाभूकम्पमा लाप्राक नमूना बस्ती निमार्णमा होस् या हावाहुरी, बाढीपहिरोमा स्थलगतरुपमा ६ सय घरधुरीलाई राहत वितरण गर्न अनि कोभिड महामारीमा ५६० अक्सिजन सिलिण्डर नेपाल पठाउन गैरआवासीय नेपाली संघको नेतृत्व गर्दै अग्रपंतिमा रहेर काम गरेका थिए ।


नेपाली कला, संस्कृतिलाई विश्व बजारमा लैजादै नेपालकै पहिलो नेपाल आइडल, द भ्वाइस अफ नेपाल, बुगीबुगीको पहिलो सिजनको ग्रान्ड फिनाले कतारमा गरेका तथा नेफ्टा अवार्ड, एनआरएनए ग्लोबल सिंगिङ आइडल सफलतापुर्वक सम्पन्न गरेका गुरुङ युवा पुस्तामाझ परिचित छन् ।

वैदेशिक रोजगार, शिक्षा, पारिवारिक बसाई र विभिन्न उद्देश्यले विश्वभर छरिएर रहेका नेपालीलाई कला, संस्कृति, खेलकुद लगायतका माध्यमबाट एकजुट गराउने उद्देश्यले आफूले उपमहासचिव पदका लागि उम्मेदवारी दिएको उनले बताए ।

सन् १९९७ मा भारतीय सेनामा भर्ती भएर करिब आठ वर्ष सेवा गरेका गुरूङ कतारमा रहेर विभिन्न व्यवसायमा सक्रिय छन् । नेपाली कला र संस्कृति प्रवर्दन गर्ने उद्देश्यले उनले कतारको दोहास्थित पाँचतारे होटलमा नेपाली लोकदोहोरी तथा गजलसहितको रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन् । यसबाहेक उनी हस्पिटालिटी, रियल स्टेट, कन्स्ट्रक्सन, हाईड्रोलगायत व्यवसायमा पनि संलग्न छन् ।

युवा पुस्ता र खेलकुदलाई नेपालमा जोड्नका लागि आठौं राष्ट्रिय खेलकुदमा एनआरएनए मार्फत तेकान्दोको मेनेजर तथा नवौं राष्ट्रिय खेलकुदमा थप जिम्मेवारी लिएर एनआरएनएलाई पदक जिताउन सफल गुरुङ आगामी कार्यकालमा पनि उही उर्जाका साथ काम गर्ने प्रतिवद्धता जनाउँछन ।

सधैँ फरक र रचनात्मक कार्य गर्न रुचाउने र सामाजिक कार्यमा लागेर तन,मन र धन खर्चिरहेका गुरुङ आगामी कार्यकालका लागि उम्मेदवार भएका हुन ।

एनआरएनएको ११ औं विश्व सम्मेलन आगामी अक्टुबर १७ देखि २० सम्म आयोजना हुँदैछ । 


Author

थप समाचार
x