राजनीति

‘मानवअधिकार रक्षाका लागि तीनै तहका सरकारले काम गर्नुपर्छ’

सुभाष कर्ण |
साउन २६, २०८० शुक्रबार २१:५४ बजे

जनकपुरधाम- मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मानव अधिकारको रक्षाका लागि तीनै तहका सरकारले इमान्दारीपूर्वक काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगको मधेश प्रदेशको कार्यालयद्वारा शुक्रबार जनकपुरधाममा आयोजित प्रदेश स्तरीय 'मानव अधिकारको विश्वव्यापी आवधिक पुनरावलोकनबाट प्राप्त सिफारिस र पाँचौँ राष्ट्रिय कार्ययोजना' सम्बन्धी छलफल कार्यक्रममा सभामुख मण्डलले मष्तिष्क र हृदयलाई साक्षी राखेर तीनै तहका सरकारले काम गरे मानवअधिकारको रक्षा हुन सक्ने बताए ।


उनले संविधानमा उल्लेखित मौलिक हकहरूलाई मात्रै तीनै तहका सरकारले कार्यान्वयन गराउन सके धेरै हदसम्म मानवअधिकार रक्षा सम्बन्धी समस्या समाधान हुने बताए । त्यसका लागि तीनै तहका सरकार मिलेर काम गर्न आवश्यक रहेको उनकाे भनाइ छ । 

प्रशासनबाटै मानवअधिकार हनन हुने गरेको सहभागीहरूको आरोपमा कार्यक्रममा विशिष्ट अतिथि धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मानव अधिकारको रक्षा गर्ने क्रममा कसैको अधिकार हनन नहोस् भन्ने कुराको ख्याल गर्नु बताए ।

त्यस्तै सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले वर्तमान संविधानमा रहेका मौलिक हक राज्यको क्षमताले भ्याएसम्म कार्यान्वयन आएको दाबी गरे । 
राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशका प्रमुख मञ्जु खतिवडाले मानव अधिकार रक्षाको विषयमा कर्पोरेट सेन्टरहरू संवेदनशील नरहेको भन्दै मानव अधिकारप्रति संवेदनशील हुन आग्रह गरिन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x