दल

रवि लामिछानेको गगन थापालाई चुनौती - ऋण मागेको प्रमाण दिए राजनीति छाड्छु

इकागज |
बैशाख २८, २०८१ शुक्रबार १९:३१ बजे

फाइल फाेटाे

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले कुनै ऋण मागेको प्रमाण गगन थापाले दिए आफूले राजनीति छाड्ने बताएका छन् । 

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आफूमाथि गगन थापाले लगाएको आरोपको प्रमाण दिए आफूले राजनीति छाड्ने र प्रमाणित गर्न नसके गगन थापाले राजनीति छाड्न चुनौती दिए । 


आफूमाथिको आरोप प्रमाणित भए राजनीति छाड्न तयार रहेको अवस्थामा संसदीय समिति गठन सामान्य कुरा भएको उनले बताए । उनले मिडिया ट्रायलमा भरमा आफूमाथि कांग्रेसले एकोहोरो खेदो गरेको बताए । लामिछानेले आफूले एकपटक सदनमा बोल्न पाउनुपर्ने र सबै कुरा जनताले थाहा पाउनुपर्ने धारणा राखे । 

यता नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी ठगि प्रकरणमा लामिछानेको संलग्नता रहेको दावी कांग्रेसको रहेको बताए । संसदीय समितिमार्फत कांग्रेसको दाबी झुटो भए आफू राजनीति छाड्न तयार रहेको उनले बताए ।

थापाले संसदीय छानबिन समितिबाट सरकार भागेको आरोप लगाए । उनले राज्यको निकाय परिचालन गरेर कांग्रेसले लगाएको आरोपको ढाकछोप गर्ने काम भएको धारणा राखे ।  संसदमा कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने तयारी गरेको भए पनि त्यसपछि कांग्रेसका कसैले पनि बोल्न नपाउने भनेकाले विरोध जनाएको उनको भनाइ छ । 

महामन्त्री थापाले गृह मन्त्रालयले सबै प्रमाण लुकाउने काम गरिसकेको आरोप पनि लगाए । 


Author

थप समाचार
x