राजनीति

हवाई मार्ग सुरक्षित बनाउन प्रयास गर्छौं : मन्त्री किराती

सुभाष कर्ण |
असार २६, २०८० मंगलबार १८:२४ बजे

जनकपुरधाम- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सरकार हवाई मार्गलाई सुरक्षित बनाउनका लागि हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।

विद्यापति पुरस्कार कोषले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा सहभागी हुन जनकपुरधाम आई पुगेका मन्त्री किरातीले सोलुखुम्बुमा भएको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न समिति बनाइने बताउँदै हवाई मार्गलाई सुरक्षित बनाउनका लागि हरसम्भव प्रयास गर्ने बताए ।


मन्त्री किरातीले हेलिकप्टर दुर्घटनाको कारण पत्ता लगाउन विज्ञसहितको बुधबार छानबिन समिति गठन गर्ने जानकारी दिए । यद्यपि सरकार हवाई मार्गको सुरक्षाका लागि गम्भीर रहेको उनले दाबी गरे । आकाशमा उड्ने साधनलाई जति नै सुरक्षित बनाए पनि दुर्घटना हुने गरेको बताउँदै यसका बाबजुद पनि कुनै दुर्घटना नहोस् भन्ने तर्फ नेपाल सरकार सचेत र गम्भीर रहेको उनकाे भनाइ छ ।

मंगलबार सोलुखुम्बुमा भएको हेलिकप्टर दुर्घटनामा परेर पाइलटसहित ६ जनाको मृत्यु भएको थियो ।

अर्को प्रसंगमा मन्त्री किराती गठबन्धनले नै सरकारको नेतृत्व ५ वर्षसम्म गर्ने दाबी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अब प्रधानमन्त्रीका रूपमा मेरो कार्यकाल बढी समय नरहेको प्रसंगमा सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले यही गठबन्धनले ५ वर्षसम्म सरकार चलाउने बताए । उनले भने, ‘गठबन्धनमा आलोपालो प्रधानमन्त्री लिने सहमति भएको हिसाबले प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालको बढी समय नरहेको बताएका हुन् तर यही गठबन्धनले ५ वर्षसम्म सरकार चलाउँछ ।’

उनले वर्तमान प्रधानमन्त्रीले छोटो अवधिमा सुशासनको पक्षमा गरेको कामले जनतामा निकै आशा पलाएको बताउँदै राज्य प्रतिको विश्वास पनि बढेको दाबी गरे ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x