दल

महानगरमा गठबन्धन भर्सेज् एमाले

काठमाडौँ, भरतपुर र पोखरामा चुनौती; विराटनगर, ललितपुर र वीरगञ्ज सहज

उपेन्द्र अर्याल |
बैशाख १०, २०७९ शनिबार १४:३३ बजे

काठमाडौँ– आगामी निर्वाचनमा देशभरका ६ वटा महानगरको नेतृत्व कसले हत्याउला भन्ने विषयमा धेरैको चासो रहेको छ । सत्तारुढ गठबन्धनले देशैभर चुनावी तालमेल गर्ने सहमति गरेसँगै महानगर र उपमहानगरको भागबण्डा केन्द्रबाटै टुंगो लगाइसकेको छ । सहमति अनुसार सत्ता गठबन्धनका दलबाट कांग्रेसले काठमाडौँ, ललितपुर र विराटनगरमा मेयरको उम्मेदवारी दिँदैछ । माओवादीले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टी (जसपा) ले वीरगञ्ज महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने भएको छ । 

वीरगञ्ज, भरतपुर र पोखराको उपमेयर पदमा कांग्रेसले उम्मेदवारी दिने भएको छ । माओवादीले भने ललितपुरको उपमेयर पदमा उम्मेद्वारी दिने भएको छ । समाजवादीले काठमाडौंको र जसपाले भने विराटनगरको उपमेयर उम्मेद्वारी दिनेछ । सत्तागठबन्धमा सहमति भइसके पनि कांग्रेसका जिल्ला तहहरू भने केन्द्रको निर्णयको विरोध गरिरहेका छन् । कांग्रेस भित्रको अन्तर विरोधले गठबन्धनका उम्मेदवारहरूलाई सबै मत नआउन सक्ने सम्भावना देखिन्छ । यो गठबन्धनका दलको चुनौति बन्न सक्छ । 


सत्ता गठबन्धनविरुद्ध एक्लै चुनावमा लड्ने निर्णय गरेको एमालेले अघिल्लो स्थानीय चुनावमा राप्रपासँग तालमेल गरेको थियो । यसपटक पनि राप्रपासँग एमालेको तालमेल हुन सक्ने सम्भावना कायमै छ । एमालेलाई हराउन यसपटक पाँच दलको गठबन्धन कायम छ । विभाजन भएर समाजवादी पार्टी बनेपछि एमालेका पुरानै मतदाता पनि विभाजित भइसकेका छन् । जसले आफ्नो पुरानै जितलाई कायम राख्न पनि चुनौती देखिन्छ ।

अघिल्लो चुनावमा ६ महानगरमध्ये एमाले र कांग्रेसले समान २–२ वटा महानगर जितेको थियो भने माओवादी र तत्कालिन संघीय समाजवादी फोरमले १–१ वटा महानगर जितेका थिए । यस पटक गठबन्धनमा अन्तरविरोध नभए एमालेलाई हराउन सक्छन् । तर, कांग्रेस भित्रको विभाजित मतदाताले मतदानमा केन्द्रको निर्णय विरुद्धमा गएर मत दिएनन् भने गठबन्धनका लागि चुनौती र एमालेका लागि ठूलो फाइदा हुनसक्नेछ ।  

काठमाडौँमा गठबन्धनलाई चुनौती 

काठमाडौँ महानगरपालिकामा सत्ता गठबन्धनबाट कांग्रेसले मेयर पदमा उम्मेद्वारी दिँदैछ । उम्मेदवारको रूपमा कसलाई उठाउने भन्ने कांग्रेसले निर्णय गरिसकेको छैन् । कांग्रेस नेता प्रकाश सिंहकी पत्नी सिर्जना सिंह, नगर सभापति निलकाजी शाक्य, हरिप्रभा सुसन वैद्य, प्रगतिमान रञ्जितलाई केन्द्र समक्ष सिफारिस भइसके पनि केन्द्रले भने निर्णय गरिसकेको छैन् । कांग्रेसको भातृ संगठन नेविसंंघ र महिला संघले सिर्जना सिंहलाई सिफरिस गर्न दबाद  दिएको छ । हरिप्रभा खड्गी काठमाडौंको उपमेयर भइसकेकाले उनको पनि दाबी छ । 

एमाले केशव स्थापित र विद्यासुन्दर शाक्यको नाम प्रस्तावित गरेको छ । तर, यसपटक विद्यासुन्दरको कामप्रति पार्टीभित्रै असन्तुष्टि भएकाले स्थापितको सम्भावना बलियो छ । अघिल्लो चुनावमा  विद्यासुन्दर शाक्यले  ६४ हजार ९ सय १३ मत ल्याएर विजयी भएका  थिए । शाक्यका निकटतम प्रतिद्वन्द्वी  नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत ल्याएका थिए । माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ७ हजार ९ सय ६ मत ल्याएको थिए । नयाँ शक्तिका पार्टी नेपालका पवित्र बज्राचार्यले ६ हजार ५० मत ल्याएका थिए । विवेकशील नेपाली दलकी रञ्जु न्यौपानेले  २३ हजार ४ सय ३९ मत ल्याएकी थिइन् । स्वतन्त्रबाट किसोर थापाले १८ हजार ४ सय ९६ मत ल्याएका थिए ।  

३२ वटा वडा मध्ये एमालेले १८ वटा वडा जितेको थियो भने कांग्रेसले १४ वटा वडामा जित हासिल गरेको थियो । उपमेयरमा भने हरिप्रभा खड्गीले ५८ हजार ९ सय ५२ मत ल्याएर जितेकी थिइन् । राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत ल्याएका थिए । माओवादी की शुसिला कुमारी पौडेलले  १० हजार ४ सय ४८ मत ल्याएकी थिइन् । नयाँ शक्ति पार्टी नेपालकी  सविना अर्यालले ३ हजार ४ सय ९३ मत ल्याएकी थिइन् । स्वतन्त्रबाट निरुपमा यादवले ११ हजार ५ सय ३३ मत ल्याएकी थिइन् । 

पुरानै तथ्यांकलाई आधार मान्दा एमालेलाई गठबन्धनको सामान गर्न काठमाडौंमा सजिलो भने छैन । समाजवादीले ल्याउने अंकले मात्रै गठबन्धनको जित सुनिश्चित गर्ने छ । यसपटक विवेकशील साझाको पनि अन्तरविरोधका कारणले पुरानै मत ल्याउन सक्ने सम्भावना कम भएकाले सत्ता गठबन्धनलाई फाइदा पुग्न सक्ने भने देखिन्छ । 

विराटनगर, ललितपुर र वीरगञ्जमा गठबन्धन नै बलियो 

विराटनगर महानगरपालिका एमाले रामलाल साह, बाबुराम कार्की, सागर थापा, पर्शुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस भएका छन् । अन्तिम उम्मेद्वारको टुंगो लगाउन भने बाँकी छ । 

सत्ता गठबन्धनबाट कांग्रेको महानगर समितिले मेयरमा वर्तमान मेयर र उपमेयरसहित ७ जनाको नाम केन्द्रय समितिमा सिफरिस गरेको छ ।  नगर सभापति दीपक चापागाइँ, वर्तमान मेयर तथा कन्द्रीय सदस्य भीम पराजुली, उपमेयर इन्दिरा कार्कीसहित केन्द्रीय सदस्यहरू अमृत अर्याल, डिला संग्रौला, जिल्ला उपसभापति नागेश कोइराला र प्रदेश सदस्य गोपाल रेग्मीको नाम सिफारिस भएको छ । तर कसलाई टिकट दिने भनेर केन्द्रले निर्णय गरेको छैन् ।

२०७४ को निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयर पदमा कांग्रेसका भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी भएका थिए । एमालेका विनोदप्रसाद ढकालले १७ हजार ३ सय २१ मत ल्याएका थिए । संघीय समाजवादी फोर नेपालका उमेश कुमार यादवले १४ हजार ९ सय ५८ मत ल्याएका थिए । राप्रपाका प्रजातन्त्र पार्टीका प्रह्लाद प्रसाद साहले ५ हजार ५ सय २४ मत ल्याएका थिए । यसपटक सत्ता गठबन्धन मिल्दा कांग्रेसलाई जित निकाल्न पक्कै सहज हुने देखिन्छ ।

उपमेयरमा कांग्रेसकै इन्दिरा कार्कीले २० हजार १ सय ४६ मत ल्याएर विजयी भएकी थिइन् । माओवादी केन्द्रकी नमिता न्यौपाने ११ हजार ५ सय २४ मत ल्याएकी थिइन् । मधेशी जनाधिकार फोरम नेपालकी सूची चौधरीले १० हजार ५ सय २४ मत ल्याएकी थिइन् । राप्रपाकी शोभा श्रेष्ठले ४ हजार १ सय २ मत ल्याएकी थिइन् । गठबन्धनबाट उपमेयरमा जसपाले आफ्नो उम्मेदवार उठाउने छ । अघिल्लो निर्वाचनमा फोरमले ल्याएको मत पनि ठूलो छ । यसपटक गठबन्धनबाट सबैमत जोड्दा विराटनगरमा एमालेले गठबन्धनलाई उछिन्न मुस्किल देखिन्छ । 

ललितपुर महागनरमा भने अघिललो निर्वाचनमा एमाले र कांग्रेसको रोचक प्रतिस्पर्धा भएको थियो । कांग्रेसका चिरीबाबु महर्जनले एमालेका कृष्ण व्यञ्जनकारलाई ३ सय २६ मतले जितेका थिए ।

महर्जनले २४ हजार ६ सय ४२ मत पाएका थिए भने ब्यञ्जनकारले २४ हजार ३ सय १६ मत ल्याएका थिए । माओवादीका दिनेश महर्जनले १० हजार ६ सय ६१ मत ल्याएका थिए । तत्कालिन साझा पार्टीका उम्मेदवार रमेश महर्जनले १३ हजार ४ सय ५८ मत ल्याएका थिए । नयाँ शक्तिका महेश महर्जनले ७ सय ७९ मत ल्याएका थिए ।

यस पटकको निर्वाचनमा गठबन्धनको मत जोड्दा ललितपुरमा एमालेलाई चुनाव जित्न मुस्किल देखिन्छ । अघिल्लो चुनावकै आँकडाले एमाले पछाडि देखिन्छ । पार्टी विभाजनले पनि उसलाई अप्ठेरोमा परेको छ । 

ललितपुरको उपमेयर सत्ता गठबन्धनबाट यसपटक माओवादीको भागमा परेको छ । माओवादीलाई गठबन्धनले सघाए जित्ने सम्भावना छ । तर, माओवादीको एक्लै भोटले भने जित्ने सम्भावना कम छ । अघिल्लो निर्वाचनमा उपमेयर पदमा कांग्रेसकी गिता सत्याल १९ हजार ८ सय १९ मत ल्याएर विजयी भएकी थिइन् ।  माओवादीकी हसिना शाक्यले  १२ हजार ९ सय ७९ मत ल्याएकी थिइन । यस्तै राप्रपाकी १० हजार ५ सय ४० मत ल्याएकी थिइन् । तत्कालिन साझा पार्टीकी उम्मेदवार शोभा शाक्यले  १४ हजार २ सय ४० मत ल्याएकी थिइन् । नयाँ शक्तिकी सजनी महर्जन १३ सय ८० मत ल्याएकीथिइन् ।

नयाँ शक्ति अहिले जसपा भइसकेको छ । ललितपुरका २९ वडा मध्ये १० वटा नेपाली कांग्रेसले जितेको थियो ।  १४ वटा एमालेले, ४ वटा माओवादी केन्द्रले, एउटा स्वतन्त्रबाट जितेको थियो ।​वीरगञ्जन महानगरपालिकाको मेयर पदमा एमालेले विजय सरावागाीलाई सिफरिस गरिसकेको छ ।  सरावागी अघिल्लो निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर पदमा संघीय समाजवादी फोरमबाट  १९ हजार ३ सय ९३ मत ल्याएर विजयी भएका थिए । उनले पार्टी चुनाव नजिकिदै गर्दा आफ्नो दल त्यागेर एमालेमा प्रवेश गरेका थिए ।  सत्ता गठबन्धनको तर्फबाट यसपटक वीरगञ्ज महानगरपालिका जसपाको भागमा छ । जसपालाई अन्य दलले साथ दिए उसले मेयर पद जित्ने निश्चि छ । किनकी अघिल्लो चुवानको तथ्यांक हेर्ने हो भने एमालेको पकड वीरगञ्जमा राम्रो छैन । 

अघिल्लो निर्वाचनमा सरावागीका निकटतम प्रतिद्वन्द्वी  कांग्रेसका अजयकुमार द्विवेद्वीले १७ हजार १ सय ९७ मत ल्याएका थिए । राजपाका  राजेशमान सिंहले १२ हजार १ सय ६५ मत ल्याएका थिए । लोकतान्त्रीक फोरमका बिमल प्रसाद श्रीवास्तवले  ८ हजार ७ सय १ मत पाएका थिए ।  एमालेका बसरुद्धीन अन्सारीले ८ हजार ६ सय ८८ मत ल्याएका थिए । माओवादीका रहवर अन्सारीले  ८ हजार ६ सय ८८ मत पाएका थिए ।

उपमेयर पदमा नेपाली कांग्रेसकी शान्ति कार्कीले १९ हजार ६ सय ७ मत पाएर विजयी भएकी थिइन् । संघीय समाजवादी फोरमकी पिंकी देवी यादवले १८ हजार ५ सय ३० मत पाएकी थिइन । राजपाकी रम्भा मिश्राले १० हजार ६ सय ६३ मत पाएकी थिइन् र एमालेकी सोफिया आचार्यले १० हजार ३ सय ४१ मत ल्याएकी थिइन् । लोकतान्त्रिक फोरम रिंकू यादवले पनि ७ हजार ५ सय ६ मत पाएकी थिइन् ।  माओवादीकी दुर्गा क्षेत्रीले ५ हजार २ मत ल्याएकी थिइन् ।

भरतपुरमा कांग्रेको विभाजित मतले माओवादी अप्ठेरोमा

भरतपुर महानगर एकदमै विवादीत र चर्चामा रहेको महानगर हो । अघिललो निर्वाचनमा कांग्रेससँग तालमेल गरेर जितेको माओवादीले यसपटक पनि गठबन्धनको बाँडफाँडमा आफ्नो पक्षमा पारेको छ । चितवनका कांग्रेसका कार्यकर्ताको विरोधकाबीच गठबन्धनले माओवादीलाई चितवन छोड्ने निर्णय गरेको छ ।

२०७४को निर्वाचनमा भरतपुर महानगरको प्रमुख पदमा माओवादीकी रेणु दाहालले  ४३ हजार १ सय २७ मत लयाएर विजयी भएकी थिइन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका देवीप्रसाद ज्ञवालीले  ४२ हजार ९ सय २४ मत ल्याएका थिए । राप्रपाका बद्री नाथ तिमील्सीनाले ६ हजार  ८ सय ४२ मत पाएका थिए । 

त्यस्तै उपप्रमुख पदमा नेपाली कांग्रेसकी पार्वती शाह ठकुरीले  ४७ हजार १ सय ९७ मत ल्याएर विजयी भएकी थिइन् ।  एमलेकी दिव्य शर्माले ३९ हजार ५ सय  २५ मत ल्याएकी थिइन् ।  राप्रपाकी रिना गुरुङले  ७ हजार २ सय ५२ मत लाएकी थिइन् । 

२०७४ को तथ्यांकलाई केलाउने भने भरतपुरमा एमाले बलियो देखिन्छ । एमालेले राप्रपासँग गठबन्धन गरे गठबन्धनलाई हराउन सक्ने सम्भावना छ । कांग्रेस भित्रको आन्तरिक कलह पनि निर्वाचनम छल्किने सम्भावाना उत्तिकै छ । यी सबैकुराको गठजोड मिले भरतपुर गठबन्धनको पञ्जाबाटा फुत्किने सम्भावना देखिन्छ । 

पोखरामा एमाले बलियो 

पोखराको मेयर अघिल्लो निर्वाचनमा एमालेले जितेको थियो । विभाजन हुँदा निर्वाचित पदाधिकारी कसैले पनि समाजवादी रोजेनन् । गठबन्धनका दलको काग्रेस एमालेको प्रतिस्पर्धी थियो । माओवादी, जसपा र जनमोर्चा पोखरामा कमजोर छन् ।  यसपटक मेयरमा गठबन्धनले समाजवादीको उम्मेदवार उठाउने निर्णय गरिसकेको छ । समाजवादीले उम्मेद्वार टुंग्याउन बाँकी छ । तर, पोखरा कांग्रेसले समाजवादीलाई छाडेकोमा कांग्रेस भित्र असन्तुष्टि छ । त्यहाँ गठबन्धन भित्र अन्तरघात भए एमालेले सहजै जित्ने सम्भावना बाँकी छ । एमालेको आफ्नो मत बलियो हुँदा एमालेलाई जित हासिल गर्न सहज हुने देखिन्छ । 

अघिल्लो निर्वाचनमा मेयर पदमा एमालेका मानबहादुर जीसीले ६० हजार  १ सय १८ मत ल्याएर विजयी भएका थिए ।  कांग्रेसका रामजी कुँवरले ४६ हजार ४ सय १६ मत ल्याएका थिए ।  राप्रपाकी गीता गुरुङले  २ हजार २ सय ७२ मत ल्याएका थिए ।  संघीय समाजवादी फोरमका हुम बहादुर गुरुङले ३ हजार १ सय ७० मत ल्याएका थिए । 

उपप्रमुख पदमा एमालेकी मञ्जु देवी गुरुङले ५६ हजार ४ सय ४८ मत ल्याएर विजयी भएकी थिइन् ।  कांग्रेसकी सरस्वती  गुरुङ ४४ हजार ३ सय ३८  मत ल्याएकी थिइन् ।  माओवादी केन्द्रकी गोमा ढकालले  ८ हजार ७ सय ९६ मत ल्याएकी थिइन् ।  राप्रपाका रमेश बहादुर खत्रीले २ हजार  ८ सय ४० मत ल्याएका थिए ।   स्वतन्त्रबाट सिरोज कोइरालाले  २ हजार १ सय ९९ मत ल्याएका थिए । संघीय समाजवादी फोरमकी लक्ष्मी परियारले १ हजार ३ सय ३ मत ल्याएकी थिइन् ।  अघिल्लो निर्वाचनको तथ्यांकलाई आधार बनाउँदा एमालेको मत बढि छ । गठबन्धनका दल मिल्दा पनि एमालेलाई भेट्न मुस्किल छ । तर, एमालेबाट समाजवादीले कति मत तान्न सक्छ भन्ने तथ्यांकले मात्रै गठबन्धनको जित सुनिश्चित गर्छ ।


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x