दल

स्थानीय तह निर्वाचन

इलाममा कांग्रेसले उठाउला एमाले विभाजनको फाइदा  ?

उपेन्द्र अर्याल |
बैशाख ६, २०७९ मंगलबार १२:३३ बजे

काठमाडौं– इलाम एमाले नेता सुवास नेम्वाङ र एकीकृत समाजवादीका नेता झलनाथ खनालको गृह जिल्ला हो । अघिल्ला निर्वाचनमा एकै पार्टीबाट चुनाव लडेका खनाल र नेम्वाङ यस पटकको निर्वाचनमा आफ्नो क्षेत्रको वर्चश्व कायम गर्न प्रतिस्पर्धा गर्दैछन् ।

विभाजनपछि यसपटकको निर्वाचन उनीहरूका लागि प्रतिष्ठाको विषय बनेको छ। २०७४ को स्थानीय निर्वाचनमा एमालेले इलाका १० स्थानीय तहमध्ये ७ वटामा जित हाँसिल गरेको थियो । ३ वटामा कांग्रेसले जितेको थियो । आगामी स्थानीय निर्वाचनको नतिजा कस्तो होला भन्ने अनुमान लगाउन अझै मुस्किल छ । यस पटकको निर्वाचनमा एमालेको विभाजनको असर भने पक्कै देखिने छ  । एमाले विभाजनको फाइदा कांग्रेसले उठाउने सके इलाममा आफ्नो दबदबा बनाउन  सक्षम हुनेछ ।


स्थानीय निर्वाचनमा एमालेविरुद्ध देशैभर तालमेल गरिरहेको पाँच दलीय सत्ता गठबन्धनले इलाममा पनि छलफल गरिरहेको छ । तर, कुनै निर्णयमा भने पुग्न सकेको छैन । अघिल्लो निर्वाचनमा एमाले र कांग्रेसले सबै पालिका जितेको हुनाले  अन्य दलको खासै भूमिका देखिँदैन ।

एमाले विभाजन भएर बनेको समाजवादीले भने आफ्नो भागका लागि सत्ता साझेदारसँग कसरत गरिरहेकै छ । तर गठबन्धनबीच सहमति भने भइ नसकेको कांग्रेस इलामका जिल्ला सभापति डम्बर खड्काले बताए ।

जिल्लाभरका स्थानीय तहबाट कार्यकर्ताको माग निर्वाचन एक्लै लड्नु पर्ने रहेको उनको भनाइ छ । ‘हामीले माथिको निर्देशन अनुसार गठबन्धनमा छलफल कायम राखिरहेका छौँ,’ उनले भने, ‘तर कार्यकर्ताको माग गठबन्धन नगर्ने भन्ने छ । हामी छलफल गरेर कार्यकर्ताको भावना अनुरुप अगाडि बढ्ने छौँ ।’

गठबन्धनले समझदारी कायम गर्न नसके कांग्रेस एक्लै लड्ने तयारी गरिरहेको छ । माओवादी र जनता समाजवादीको पनि इलाममा प्रभाव कम रहेकाले कांग्रेसलाई सघाउनुको विकल्प भने देखिँदैन । एमाले विभाजनको असर खेपिरहेको बेला कांग्रेसले आफ्नो प्रभाव जमाउन सक्ने अनुमान लगाउन सकिन्छ ।

तर जिल्ला सभापति खड्का एमाले विभाजनको असर नभए पनि कांग्रेसले यस पटक धेरै पालिका जित्ने दाबी गर्छन् । ‘कांग्रेसी कार्यकर्तामा यसपटक एकदमै उत्साह भरिएको छ,’ उनले भने, ‘हामीलाई विभाजनको फाइदा उठाइरहनु पर्दैन । आफ्नै प्रभावमा जित्ने बलियो आधार बनेको छ ।’ स्थानीय तहबाट उम्मेदवारको नाम सिफरिस भइसकेकाले अब केही दिनमा टुंग्याउने उनले सभापति खड्काले बताए ।

एमालेले पनि आफ्नो विभाजनको चोटलाई भुलेर तीब्र तयारी गरिरहेको छ ।  अहिले उम्मेदवारको सिफारिस भइरहेको एमाले जिल्ला अध्यक्ष महेश बस्नेतले बताए । विभाजनको खासै असर एमालेलाई नपरेकाले पुरानो वर्चश्व कायमै राख्ने उनको दाबी छ ।

‘हामीकहाँ विभाजनको धेरै असर छैन,’ उनले भने, ‘एकाध मान्छेले छोडेर गएका हुन् । त्यो भन्दा धेरै उत्साह पूर्वक पार्टी प्रवेश गरिसकेका छन् ।’ स्थानीय तहबाट उम्मेदवार सिफारिस हुने क्रम जारी रहेको अध्यक्ष बस्नेतले जानकारी दिए । पालिकाहरूमा उत्साह पूर्वक धेरैको नाम सिफारिस भइरहेको उनले बताए । ‘साथीहरूको उत्साह राम्रो छ,’ उनले भने, ‘एउटै पालिकामा धेरै साथीहरूको नाम आएको छ । हामीले हेरेर निर्णय गर्छौँ ।’ एमालेले ९ गते सम्म उम्मेदवारको टुंगो लगाइसक्ने उनले बताए ।

इलाममा कस्तो थियो २०७४ को निर्वाचन परिणाम ?
गत निर्वाचनमा इलाम नगरपालिकाको प्रमुखमा महेस बस्नेतले ११ हजार ३३ मत ल्याएर विजयी भएका थिए । नेपाली कांग्रेसका उम्मेदवार हिमालय कर्माचार्यले ९ हजार २ सय ६८ ल्याएका थिए । माओवादी केन्द्रका छविलाल आचार्यले  ९ सय ३६ मत पाएका थिए । 

चुलाचुली गाउँपालिका अध्यक्षमा एमालेका प्रदिप चन्द्र राई ३ हजार चारसय ९३ मत ल्याएर विजयी भएका थिए । नेपाली कांग्रेसका राजेन्द्र केरुङ्ग ३ हजार १ सय ४९ मत ल्याएका थिए । माओवादीका शुक्रबहादुर लावतीले ७ सय ६० ल्याएका थिए  । संघीय समाजवादी फोरमका भूपेन्द्र योङ्याले  पनि २ सय ५७ मत ल्याएका थिए । 

देउमाई नगरपालिकाको मेयर पदमा एमालेका सुर्यप्रसाद पोख्रेलले ७ हजार ३ सय ४७ मत ल्याएर विजयी भएका थिए ।  यस्तै कांग्रेसका होमलाल दुलालले ६ हजार ६ सय ४५ मत ल्याएका थिए ।  माओवादी केन्द्रका रामकुमार राईले ९ सय ७६ मत ल्याएका थिए । 

फाकफोक नगरपालिकामा नेपाली कांग्रेसका रामकुमार श्रेष्ठले ४ हजार १ सय ४२ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वि एमालेका दिपेन्द्र खनालले  ३ हजार ९ सय ७८ मत ल्याएका थिए । माओवादी केन्द्रका राजकुमार थापा(गोदार) ले ७ सय २० मत ल्याएका थिए । 

माइ नगरपालिकाको मेयरको पदमा  एमालेका दिपककुमार थेवेले  ६ हजार ४८ मत ल्याएर जितेका थिए ।  नेपाली कांग्रेसका हेमकुमार कार्कीले ४ हजार ५ सय २६ मत ल्याएका थिए । माओवादीका भक्तबहादुर लुङ्गेलीले १ हजार ८ सय ४७ ल्याएका थिए ।

माइजोगमाई गाउँपालिकाको मेयर पदमा एमालेका जीतबहादुर राईले  ५ हजार ९ सय ९६ मत ल्याएर मत ल्याएर जितेका थिए । नेपाली कांग्रेसका पेम्वाछिरि शेर्पाले ३ हजार ९ सय ३६ मत ल्याएका थिए ।  माओवादी केन्द्रका देवीभक्त शिवाकोटीले ७ सय २१ मत ल्याएका थिए ।

माङसेवुङ गाउँपालिकाको अध्यक्षमा  नेपाली कांग्रेसका डिकेन्द्र इदिङगोले ३ हजार ७ सय ५९ मत ल्याएर विजयी भएका थिए । एमालेका हेमन्त राई ३ हजार १ सय ८१ मत ल्याएका थिए भने माओवादी केन्द्रका डिपेनद्र बस्नेतले भने ३ सय ११ मात्रै ल्याएका थिए । ​

रोङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका शम्शेर राईले ३ हजार ९ सय ८५ मत ल्याएर विजयी भएका थिए । एमालेका वृहस्पति खतिवडाले  ३ हजार ६ सय ७२ मत ल्याएका थिए । माओवादी केन्द्रले ५ सय ९१ मत ल्याएका थिए । 

सन्दकपुर गाउँपालिकाको अध्यक्षमा एमालेका ४ हजार ५ सय २९ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका देवेन्द्रकुमार सुवेदी २ हजार ३ सय ५४ मत ल्याएका थिए ।  माओवादीका प्रेमकुमार राईले ३ सय ४० मत ल्याएका थिए । 

सूर्योदय नगरपालिकाको मेयरमा एमालेका रनबहादुर राईले १२ हजार ९ सय १९ मत ल्याएका विजयी भएका थिए । नेपाली कांग्रेसका प्रेमलाल राईले १० हजार ३ सय २९ मत ल्याएका थिए ।  माओवादीका राजेन राईले १ हजार ५ सय ४१ मत पाएका थिए भने संघीय  समाजवादी फोरमका लिलाबहादुर सुनुवारले १ हजार ४ सय ७७ मत ल्याएका थिए ।


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x