दल

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

वैकल्पिक गठबन्धन बनाउने विषयमा छलफल

इकागज |
बैशाख ६, २०८१ बिहीबार १०:८ बजे

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको अर्थपूर्ण भेटघाटले सत्ता समीकरणमा तरंग ल्याएको छ । देउवा र नेपालबीच बुधबार साँझ काठमाडौँ गोल्फुटारस्थित कांग्रेसका नेताको घरमा भेटघाट भएको हो ।

सुदूरपश्चिममा एमालेले दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अस्वीकार गरेपछि नेता नेपालले देउवासँग भेट गरेको बुझिएको छ । एमालेले अस्वीकार गरे पनि एकीकृत समाजवादीको बुधबार बसेको सचिवालयको बैठकले सोडारीलाई नै मुख्यमन्त्रीको रूपमा अगाडि सार्ने निर्णय गरेको छ ।


भेटमा वैकल्पिक गठबन्धन बनाउने विषयमा खुलेर छलफल भएको बुझिएको छ । स्रोतका अनुसार वैकल्पिक गठबन्धन बनाएर पहिला प्रदेशका सरकारहरू बनाउने विषयमा छलफल भएको छ । कांग्रेस र एकीकृत समाजवादी मिलेको अवस्थामा बागमती, सुदूरपश्चिम र मधेश प्रदेशमा सरकार बनाउन सकिने विषयमा समेत छलफल भएको बताइएको छ । त्यस्तै एकीकृत समाजवादीले अहिलेको सत्ता समीकरण छोडेमा जसपालाई पनि बाहिर ल्याउन सकिने आकलन गरिएको छ । मधेस प्रदेशको सरकार संकटमा पर्ने बित्तिकै जसपाले केन्द्रको समीकरण छोड्ने विश्लेषण गरिएको छ ।

नेता नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक-पटक धोका दिएको भन्दै वैकल्पिक गठबन्धनमा जान आफू तयार भएको देउवालाई विश्वस्त पारेको स्रोतले बताएको छ ।

एकीकृत समाजवादीले मात्र समीकरण छोड्दैमा केन्द्रमा असर नपरे पनि जसपाले समेत छोडेमा भने प्रचण्ड सरकार अल्पमतमा पर्ने देखिन्छ । देउवाले पनि पहिला एकीकृत समाजवादीलाई तयार गरेर जसपासँग कुरा गर्ने रणनीतिमा रहेको बुझिएको छ । 

प्रचण्ड नेतृत्वको सरकारलाई अल्पमतमा पार्न एकीकृत समाजवादीसँगै जसपा समेत बाहिरिनु पर्दछ । प्रतिनिधिसभामा जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद छन् । पछिल्लो पटक फागुन ३० गते विश्वासको मत पाउँदा प्रचण्डले १५७ मत पाएका थिए । त्यस आधारमा २२ मत कम हुँदा उनी १३५ मतसहित अल्पमतमा पर्ने छन् ।


Author

थप समाचार
x