दल

इलाम २ मा समाजवादीको उम्मेदवार हुन्छ : माधव नेपाल

इकागज |
चैत १२, २०८० सोमबार १४:१५ बजे

फाइल तस्बिर

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने तयारी भइरहेको बताएका छन् । 

सोमबार काभ्रेको बनेपामा आयोजित पार्टीको १० औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीका पदाधिकारीहरूलाई सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उपनिर्वाचनका लागि सम्भव भएसम्म अन्य दलहरूसँग सहकार्य गर्ने नभइ एक्लै चुनाव लड्ने मानसिकताका साथ पार्टीले तयारी गरिरहेको बताएका हुन् । 


उनले इलाममा उम्मेदवारी दिने विषयमा माओवादी केन्द्र र समाजवादी मोर्चाभित्र छलफल गर्ने भन्दै बझाङमा उम्मेदवार खडा गर्न कसैले रोक्न नसक्ने स्पष्ट पारे । सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र आफूबीच भएको छलफलका क्रममा पनि उपनिर्वाचनमा उम्मेदवार उठाउने जानकारी गराएको उनले बताए । 

त्यस्तै अध्यक्ष नेपालले राजनीतिक स्थायित्व, गलत प्रवृत्ति, संविधानको रक्षा गर्ने काममा पार्टीले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले नेपालका सबै कम्युनिष्टहरू एकताबद्ध हुनुपर्ने भएपनि त्यसका लागि परिस्थिति अनुकूल बन्नुपर्ने जिकिर गरे । 

चैत्र ४ गते सम्पन्न भएको १० औं जिल्ला अधिवेशनबाट बसुन्धारा हुमागाईंको अध्यक्षतामा गठित ५८ जिल्ला कमिटी सदस्यहरूलाई अध्यक्ष नेपालले सपथ ग्रहण गराएका थिए । सो क्रममा उनले बफादार भएर पार्टीको लोकप्रियताका लागि काम गर्न निर्देशन समेत दिएका थिए । 


Author

थप समाचार
x