दल

नैतिकताको आधारमा गृहमन्त्री रविलाई एक मिनेट पनि पदमा बस्ने छुट छैन : कोइराला

इकागज |
चैत १०, २०८० शनिबार १२:९ बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् । सडकदेखि संसद्‌सम्म चौतर्फी विरोध भइरहँदा पनि उनी पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको कोइरालाले बताए ।

'तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भइहाल्यो' कोइरालाले भने ।


काठमाडौँको मध्येबानेश्वरका पार्टीका स्थानीय कार्यकर्ताहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले सत्ता गठबन्धनले यति ठूलो बदमासी गरिहँदा पनि काठमाडौँका चेतनशील मानिसहरू चुपचाप बसिरहँदा अचम्म लागेको बताए । हरेक परिवर्तनमा काठमाडौँवासीको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै कोइरालाले अबका दिनमा पनि उनीहरूको निरन्तर खबरदारीको आवश्यकता रहेको बताए ।

स्थानीय कार्यकर्ताहरूले पार्टीमा चाकडीप्रथा हावी भएको, सरकारमा सहभागी हुँदा कांग्रेसका मन्त्रीहरूले जनताको भावना अनुसार काम गर्न नसकेको र लामो समय पार्टी एकै व्यक्तिको हातमा भएकाले कांग्रेस कमजोर भएको जस्ता गुनासाहरू राखेका थिए ।

भेटघाट कार्यक्रममा बागमती प्रदेश सभा सांसद सुरज लामिछाने, काठमाडौँ- १ का क्षेत्रीय सभापति रवि विक्रम राणा, नेपाल संस्कृत विश्व विद्यालयका पुर्वउपकुलपति प्रा.डा. कुलप्रसाद कोइराला, वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, श्रीहरी अर्याल, वरिष्ठ पत्रकार हरिहर विरहीलगायतको सहभागीता थियो ।


Author

थप समाचार
x