दल

एमाले कैलालीको मतदान अनिश्चितकालका लागि स्थगित

इकागज |
फागुन १०, २०८० बिहीबार १९:५२ बजे

धनगढी- अधिवेशन सुरु भएको पाँच दिनसम्म पनि नेतृत्वका लागि रस्साकस्सी चलिरहेको नेकपा एमाले कैलालीको अधिवेशनमा मतदान अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

अधिवेशन सुरु भएको पाँचौं दिन बिहीबार दिउँसो १२ देखि साँझ ५ बजेसम्म नेतृत्व चयनका लागि मतदान हुने तय गरिएको थियो । साढे ५ बजे निर्वाचन कमिटीले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि मतदान स्थगित गरिएको जनाएको हो ।


अधिवेशनका प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको सूचनामा जारी गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन ६ गते आइतबार अधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्दै उनले सहमति नभए भोलिपल्टै निर्वाचन प्रक्रिया थाल्न निर्देशन दिएको भए पनि कैलालीमा पाँचौं दिन समेत मतदान हुन सकेको छैन ।

एमाले केन्द्रीय सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा र एमाले सुदूरपश्चिम कमिटी निवर्तमान अध्यक्ष दामोदर भण्डारीको चरम गुटबन्दीका कारण अधिवेशन अनिर्णयको बन्दी बनेको प्रतिनिधिको आरोप छ ।

नेतृत्वका लागि कैलालीमा हालका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व सचिवालय सदस्य यज्ञराज ढुंगाना प्यानल सहित प्रतिस्पर्धामा उत्रिएका छन् ।


Author

थप समाचार
x