दल

सत्तारूढ लोसपा र तमलोपाले आज कालो दिवस मनाउने

सुभाष कर्ण |
असोज ३, २०८० बुधबार ९:२५ बजे

जनकपुरधाम- सरकारले भव्यताका साथ तीन दिनसम्म संविधान दिवस मनाउने घोषणा गरेको बेला मधेश केन्द्रित तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र सत्तासीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले कालो दिवस मनाउने घोषणा गरेको छ ।

तमलोपाका कार्यवाहक अध्यक्ष डा. विजयकुमार सिंहले संविधान दिवस मनाउने असोज ३ गतेका दिन कालो दिवस मनाउने घोषणा गरिसकेका छन् । उनले मधेशी जनता सहित उत्पीडनमा परेका र पिछडिएको वर्गको अधिकार समेटन नसकेकाले तमलोपामा विरोधमा रहेको बताए । 


'जुन संविधानले जनताको लाशमाथि चढेर जारी भएको छ । जसले आम जनताको अधिकार नसमेटि केही खासवर्गको स्वार्थसिद्धीको दस्तावेज बनेको हो' उनले भने 'त्यस्ता संविधानको खुशियाली मनाउनुको कुनै औचित्य नरहेकाले आफू कालो दिवस शुरुदेखि नै मनाउँदै आउँदै आएका छौं । जबसम्म सबै वर्गको अधिकार समेटने गरी आउदैन तबसम्म स्वीकार्य हुँदैन । 

यस्तै लोसपाका अध्यक्ष महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने उल्लेख गरेका छन् । लोसपाले ‘असोज ३ कालो दिन’को रुपमा मनाउँदै आएको छ ।‘२०७२ साल असोज ३ गते नेपाल सरकारले एकतर्फी रुपमा जारी गरेको संविधानको हामी विरोध गर्दै आएका छौ’ अध्यक्ष ठाकुरले भने, संविधान संशोधन गर्न हाम्रो माग सम्बोधन नभएकाले विरोध प्रदर्शन जारी छ ।

उनले पार्टीका जिल्ला र विभिन्न निकायहरुलाई विरोध प्रदर्शन गर्न आग्रह गरेका छन् । संघीय सरकारमा लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारी श्रम मन्त्री रहेका छन् । मधेश प्रदेश सरकारमा पनि लोसपाको सहभागिता छ । सरकारको घोषणालाई विरोध गर्दै लोसपाले संविधानको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।

सत्ता गठबन्धनमा प्रभावकारी भूमिकामा रहेको जनता समाजवादी पार्टी (जसपा) ले भने केह वर्षदेखि संविधानको विरोधमा औपचारिक कार्यक्रम गरिरहेको छैन् । संघीय सरकारमा मन्त्री रहेकाहरु संविधान दिवसको औपचारिक कार्यक्रममा सहभागिता जनाउने गरेका छन् । तर मधेश प्रदेशका मुख्यमन्त्री र जसपाका मन्त्रीहरु भने संविधान दिवसको दिन कुनै कार्यक्रममा सहभागी हुने गरेका छैनन् । 

मधेश प्रदेशका ८ जिल्लामा सरकारी स्तरबाट पनि संविधान दिवसको अवसरमा प्रभावकारी कार्यक्रम देखिँदैन् । प्रदेश सरकार नै संविधान दिवसप्रति उदासीन रहेकाले सरकारी स्तरबाट उत्साहपूर्ण ढंगले कार्यक्रम मनाइँदैन् । मधेशमा संविधानको विरोध भइरहेकै बेला राजावादीको ट्याग भिरेको राप्रपा नेपालले पनि असोज ३ गतेदेखि नै देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x