दल

खाँण निलम्बनमा देउवाको मौनता, दबाब बढाउँदै महामन्त्री

उपेन्द्र अर्याल |
बैशाख ३०, २०८० शनिबार १७:३७ बजे

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण प्रहरीले पक्राउ गरेको चार दिन बित्दासमेत पार्टीले उनलाई निलम्बन गरेको छैन । बिहीबार बसेको कांग्रेसको पदाधिकारी बैठकले पनि उनलाई तत्काल कारबाही नगर्ने निर्णय गरेको थियो ।

यही प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई भने पार्टीले निलम्बन गरेको छ । तर, सत्तासीन दल कांग्रेसले भने खाँणप्रति उदारता देखाएको कांग्रेस भित्रैका नेताहरूको बुझाइ छ ।


खाँणलाई निलम्बन गर्ने र नगर्ने भन्नेबारे कांग्रेस भित्र दुई किसिमको धारणा छ । सभापति निकटका मानिस खाँणलाई तत्काल निलम्बन नगर्ने भन्ने पक्षमा देखिएका छन् भने महामन्त्रीहरू तत्काल निलम्बन गरेर छानबिनमा सहयोग गर्नुपर्ने पक्षमा छन् । यो अवस्था कतिसम्म स्पष्ट छ भने महामन्त्रीद्वयले शनिबार काठमाडौँका दुई ठाउँमा भएको भ्रष्टाचार विरोधी प्रदर्शनमा सहभागी हुन जनतालाई आफैँ निम्ता दिएका थिए । यसले पनि कांग्रेसमा खाँणलाई हेर्ने दृष्टिकोणमा देखिएको ध्रुवीकरणको किस्सा बुझ्न सकिन्छ ।

बिहीबार बसेको पदाधिकारी बैठकमा पनि खाँणलाई निलम्बन गर्ने/नगर्ने भन्नेबारे धारणा बाझिएको थियो । महामन्त्रीहरूले निलम्बन गर्न दबाब दिँदा पनि सभापति देउवा भने यस विषयमा मौन रहेका थिए । तर, सहमहामन्त्री महेन्द्र यादवले भने खाँणलाई तत्काल निलम्बन गर्न नहुने धारणा राखेका थिए । उनले त खाँणले प्रमाण नष्ट गर्न कागज चपाएका घटना बाहिरिँदा पनि उनको पक्राउलाई लोकतन्त्रमाथिको आक्रमणका रूपमा लिनुपर्ने तर्क गरेका थिए ।

पार्टीभित्र खाँणलाई निलम्बन गर्नुपर्ने दबाब हुँदा पनि देउवाले कुनै कदम चालेका छैनन् । पार्टीका महामन्त्री लगायतका थुप्रै नेताले यो प्रकरणमा जोसुकै भए पनि छानबिन गरेर कारबाही गर्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले पनि खाँण पक्राउ परिसकेपछि ‘यो प्रकरणमा संलग्न जो कोहीलाई पनि ढाकछोप गर्ने वा चोख्याउने काम नहोस्’ भन्दै विज्ञप्ति नै जारी गरिसकेको छ । गुरुराज घिमिरे, मधु आचार्य, रन्जित कर्ण, भुपेन्द्र जंग शाही, भरत खड्का लगायत कांग्रेसका थुप्रै नेताले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर संलग्नलाई कारबाही गर्न माग राखिसकेका छन् । पार्टी भित्रैबाट यत्रो दबाब हुँदा पनि देउवा भने केही बोलेका छैनन् ।

कांग्रेस सांसद आरजु राणा र मञ्जु खाँणको संलग्नता प्रमाणित हुन सक्ने प्रमाणको खोजीमा अनुसन्धान टोली देखिएकाले देउवा खाँणलाई निलम्बन गर्न हच्किएका हुन् कि भन्ने धेरैको बुझाइ छ ।

तर, नेपाली कांग्रेसका युवा नेता शंकर तिवारी पार्टीले खाँणलाई तत्काल निलम्बन गरेर छानबिनमा सहयोग गर्नुपर्ने धारणा राख्छन् । ‘भ्रष्टाचार विरुद्धको अभियानमा उहाँलाई पार्टीले निलम्बन गरेको भए आम मानिसमा पार्टीको छवि सुध्रन्थ्यो । पार्टी भ्रष्टाचार विरोधी रहेको सन्देश पनि जान सक्थ्यो,’ उनले भने, ‘पार्टीसँग आम मानिस अझ सकारात्मक हुन्थे ।’

वर्तमान कांग्रेसको नेतृत्वको चेतना समाजको चेतना भन्दा शुष्क रहेका कारण खाँणको निलम्बन हुन नसकेको नेता तिवारीको भनाइ छ । ‘कांग्रेसको जुन वर्तमान नेतृत्व छ, जसको केन्द्रीय कार्यसमितिमा पदाधिकारीमा जसको बहुमत छ, त्यो नेतृत्व वर्तमान समाजको चेतना भन्दा थोरै शुष्क छ,’ उनले भने, ‘ गैँडाको छाला जस्तो छ । त्यही भएर पब्लिकको भावना बुझ्ने अक्षमताका कारण उहाँलाई निलम्बन गर्न ढिलाइ भइरहेको छ ।’

नक्कली शरणार्थी प्रकरणमा खाँणको नाम जोडिएपछि छानबिनमा कुनै दख्खल नपुगोस् भनेर आफैँ पार्टीको कामकाजबाट अलग हुनुपर्ने तिवारीको बुझाइ छ ।

‘उनको पार्टी भित्र दुई वटा कुरा छ, उहाँले आफैँ प्रहरीलाई सहयोग गरिरहनुभएको छ, गिरफ्तारी दिनुभएको छ, भाग्नुभएको छैन । त्यो सकारात्मक पक्ष छ,’ उनले भने, ‘तर, आम मानिसको चाहना भ्रष्टाचार विरुद्धको शून्य सहनशीलता हो । त्यसका लागि उहाँ पार्टीमा रहँदा छानबिनमा कुनै दख्खल नपुगोस् भनेर आफैँ पार्टीको कामकाजमा संलग्न नरहने घोषणा गर्न पनि सुझाइएको थियो । तर, उहाँ विकल्पमा जान चाहनुभएन र सभापतिले पनि उहाँलाई निलम्बन गर्नु भएन ।’

नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी पार्टी भ्रष्टाचार विरोधी गतिविधिमा प्रतिबद्ध भएर नलागे जनताबाट तिरस्कृत हुनुपर्ने बताए । 

‘सम्पूर्ण रूपमा पार्टीले भ्रष्टाचार विरोधी गतिविधिमा पार्टीले संस्थागत र सैद्धान्तिक दृष्टिकोणबाट पनि प्रतिबद्ध भएर लाग्नुपर्ने पार्टीको दायित्व छ,’ उनले भने, ‘अहिले आम जनता भ्रष्टाचार विरोधी अभियानमा संलग्न छन् । कसैले पनि भ्रष्टाचारलाई जोगाउने र छानबिनमा अवरोध पुर्याउने काम गर्नु हुँदैन । यदि अवरोध भयो भने जनताबाट तिरस्कृत हुन्छन् । त्यो कुरा कांग्रेस र कांग्रेसको नेतृत्वले बुझ्नु जरुरी छ ।’

नेता सिंहले तत्काल केन्द्रीय कार्यसमितिको बैठक बोलाएर खाँणलाई निलम्बन गर्नुपर्ने बताए ।

‘नेपाली कांग्रेसको न केन्द्रीय कार्यसमितिको बैठक बसेको छ, न त कार्यसम्पादन समितिको बैठक बसेको छ,’ उनले भने, ‘अहिले जुन पदाधिकारीको बैठक भनेर बोलाइन्छ । विधान विपरीतको हो, विधानमा पदाधिकारी भन्ने शब्द छैन । पदाधिकारीको बैठक बसेको छ, त्यसले एजेन्डा मात्रै तयार गर्ने हो, निर्णय गर्न सक्दैन । त्यसैले तत्काल केन्द्रीय कार्यसमिति बोलाएर उहाँलाई निलम्बन गर्न मेरो माग छ ।’

 नेतृत्वले वर्तमान अवस्थालाई बुझेर तत्काल खाँणलाई निलम्बन गर्न आँट गर्नुपर्ने बताए । ‘नेतृत्वको चासो उहाँलाई निलम्बन गर्न तिर देखिएको छैन,’ उनले भने, ‘तर, त्यो आँट नेतृत्वले गर्नुपर्छ । आम जनमानस र अपेक्षालाई बुझेर कांग्रेस भ्रष्टाचारी विराधी अभियानमा सशक्त र जीवन्त रूपमा उभिन सकेन भने पार्टीलाई गम्भीर क्षति हुन्छ ।’

सचिव टेकनाराया पाण्डे पक्राउ परेपछि उनको मोबाइलबाट खाँणको संलग्नता भएको प्रमाण प्रहरीले भेटाएपछि बुधबार प्रहरीले उनलाई पक्राउ गरेको थियो । खाँण अहिले  प्रहरी हिरासतमा छन् । उनलाई प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी पनि सोही दिन पक्राउ परेका थिए । 

यसअघि खाँण गृहमन्त्री हुँदा गृह सचिव रहेका टेकनाराण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीपलगायत पक्राउ परिसकेका छन् । पूर्वमन्त्री रायमाझी भने फरार छन् ।


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x