दल

महामन्त्रीहरूको आक्रोशको अन्तर्य : सभापतिलाई विधि मान्न बाध्य बनाउने नभए अन्तर संघर्ष गर्ने

उपेन्द्र अर्याल |
बैशाख २६, २०८० मंगलबार १७:५९ बजे

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका निर्णयहरू एकलौटी गर्न थालेपछि महामन्त्रीहरू द्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीभित्रै विद्रोहको संकेत दिएका छन् । 

१४ महाधिवेशनबाट निर्वाचित भएर आएका महामन्त्रीहरूलाई सभापति देउवाले बेवास्ता गर्दै एकलौटी निर्णय गरेका र पार्टीलाई सही ट्र्याकमा ल्याउन महामन्त्रीहरू सभापतिका गतिविधिविरुद्ध लड्ने निष्कर्षमा पुगेको देखिएकाे छ ।


महामन्त्री गगन थापाले आइतबार आक्रोश मिश्रित ट्वीट गरेपछि उनको ट्वीट सभापति लक्षित रहेको अड्कल काटिएको थियो ।

उनले लेखेका थिए, ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ । त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !

सामाजिक सञ्जालमा हत्तपत्त यसरी पार्टी भित्रको आक्रोश व्यक्त नगर्ने महामन्त्री थापाको यो ट्वीटबाटै उनी कति आक्रोशित भएका छन् भनेर बुझ्न सकिन्छ । थापाले यसअघि पनि पार्टी भित्र देउवाको कार्यशैलीमा प्रश्न उठाउँदै आएका थिए । विधानअनुसार पार्टीका विभागहरूलाई पूर्णता नदिएको, भ्रातृ संगठनहरूको निर्वाचन नगराएको भन्दै सभापति देउवाको विरोध महामन्त्रीहरूले गरिरहेका थिए ।

सभापति देउवाले १७ महिना बित्दा नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुख मात्र तोकेका छन् । उक्त पदमा उपसभापति पूर्णबहादुर खड्कालाई मनोनयन गरेका थिए भने यसबाहेक पार्टीका २८ वटा विभाग गठन हुन सकेका छैनन् । कार्यसम्पादन समितिले समेत अझै पूर्णता पाउन सकेको छैन । केन्द्रीय कार्य सम्पादन समितिमा कोषाध्यक्षसमेत मनोनीत गरेका छैनन् । सभापतिले मनोनीत गर्ने केन्द्रीय सदस्यमध्ये दुई दर्जन बढी केन्द्रीय सदस्य अझै मनोनीत हुन बाँकी छ । यी सबै संरचना र संगठनलाई पूर्णता दिन महामन्त्रीलाई दबाब दिइरहेका थिए । तर, सभापति देउवाले बेवास्ता गर्दै आएका हुन् । 

यतिसम्म कि विधानतः हरेक दुई महिनामा आह्वान गर्नुपर्ने केन्द्रीय समिति बैठक प्रावधान भएता पनि सात महिना यता केन्द्रीय कार्यसमितिको बैठक बस्न सकेको छैन । पुसमा केन्द्रीय कार्यसमितिको बैठक बोलाइएता पनि उक्त बैठक हुन सकेको थिएन । कार्यसम्पादन समितिको बैठक भन्दै निर्णय गराइरहेको थियो ।

स्रोतका अनुसार पछिल्लो समयमा मन्त्रीहरूको नियुक्तिमा पनि देउवाले एकलौटी निर्णय गरेपछि भने महामन्त्रीहरू रुष्ट भएका थिए । धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा महामन्त्री शर्माले सभापतिले यस्तै व्यवहार गरिरहे आफूले महामन्त्री पद छाडेर सांसदका रूपमा मात्रै काम गर्ने भनेर आक्रोशित भएको सहभागी एक नेताले बताए । महाधिवेशनपछि विधान अनुसार महामन्त्रीहरूले आफ्नो जिम्मेवारी पाएका थिएनन् । मन्त्रीहरूको छनोटमा समेत देउवाले महामन्त्रीहरूसँग छलफल नगरी एकलौटी निर्णय गरेका थिए ।

पछिल्लो पटक कांग्रेसबाट ३ जना मन्त्रीलाई सरकारमा सहभागी गराइएको थियो । उपसभापति धनराज गुरुङ, डिकबहादुर लिम्बू, सुरेन्द्र आचार्यलाई मन्त्री बनाइएको थियो । यसअघि संस्थापन पक्षबाट ६ जना मन्त्री भइसकेका थिए । स्रोतका अनुसार महामन्त्री शर्माले मन्त्रीहरूको छनोट गर्दा समावेशी, समानुपातिक सिद्धान्तलाई समेत बेवास्ता गरिएको भन्दै बैठकमा आवाज उठाएका थिए ।

कांग्रेस नेता गुरुराज घिमिरेले पार्टी सञ्चालन प्रक्रिया विधान अनुसार नभएकाले प्रश्न उठेको बताए । ‘पार्टी सञ्चालन गर्ने हाम्रो पद्धतिमा बारम्बार प्रश्न उठ्ने गरेको छ,’ उनले भने, ‘१४ औँ महाधिवेशनपछि हामीले अपेक्षा गरेका के थियौँ भने पार्टी नयाँ शिराबाट अघि बढ्छ ,नयाँ पुस्ता र पुरानो पुस्ताको संरचना भित्र प्रतिनिधित्व भएको छ भन्ने थियो । तर, त्यस्तो भएन ।’ तर, महाधिवेशनको अपेक्षा अनुरूप पार्टी नचलेका कारण पार्टीभित्र यस्तो आक्रोश बढेको उनको भनाइ छ ।

 ‘महामन्त्रीहरूलाई पनि परिवर्तनको आभास दिन्छौँ भन्ने उहाँहरूलाई लागेको थियो,’ उनले भने, ‘सबैलाई अपेक्षा थियो । डेढ वर्षमै यो आक्रोश देखिनुले सकारात्मक संकेत दिएको छ । अपमान सहने अन्तिम विन्दुमा छौँ । अहिलेको आक्रोशलाई अन्तिम बनाउने सकिएन भने कांग्रेसको भविष्य राम्रो हुँदैन ।’

केन्द्रीय सदस्य प्रकाश रसाइली (स्नेही)ले महामन्त्रीहरूले यही पार्टी भित्र अन्तरसंघर्ष गरेर सभापतिलाई सही ट्र्याकमा ल्याउने मनसायले विद्रोह गर्न लागेको बताए । ‘पार्टी विधान अनुसार चलेको छैन,’ उनले भने, ‘बैठक समयमा बस्दैन । पूर्व पदाधिकारीहरू जो विधानले नचिनेका मान्छेबाट पार्टी सञ्चालन भइरहेको छ । त्यसैले उहाँहरूले विद्रोह गर्न लाग्नुभएको हो ।’

पार्टीका स्वायत्त निकायहरूलाई चलायमान बनाउनुपर्छ भन्ने महामन्त्रीहरूको उद्देश्य रहेको उनी बताउँछन् ।


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x