दल

इतिहास दोहोर्‍याउँदै देउवा : १७ महिनासम्म पनि कांग्रेसका विभाग र भ्रातृ संगठनले पाएनन् पूर्णता

उपेन्द्र अर्याल |
बैशाख २५, २०८० सोमबार १६:४६ बजे

काठमाडौँ– नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न भएको १७ महिना बित्दासम्म पनि अझै पार्टीका विभाग र भ्रातृ संगठनले पूर्णता पाएका छैनन् । पार्टी सभापति शेरबहादुर देउवाले अघिल्लो कार्यकालमा झै यसपटक पनि पार्टीका विभागहरू र समितिहरू गठन गर्न सकेका छैनन् । 

१३ औँ महाधिवेशनबाट सभापति बनेका देउवाले अघिल्लो कार्यकालमा पनि २७ महिनासम्म पार्टीका विभाग गठन गरेका थिएनन् । पार्टीमा धेरै आलोचना भएपछि कार्यकालको अन्तिम समयमा विभागहरूलाई पूर्णता दिएका थिए । यसपटक पनि देउवाले आफ्नो पुरानै कार्यशैली दोहोर्‍याएका छन् ।


हरेक दुई महिनामा केन्द्रीय समिति बैठक आह्वान गर्नुपर्ने प्रावधान विधानमा भएता पनि ७ महिना यता केन्द्रीय कार्यसमितिको बैठक बस्न सकेको छैन । पुसमा केन्द्रीय कार्यसमितिको बोलाइएता पनि उक्त बैठक हुन सकेको थिएन । पार्टीका विभागहरू गठन नहुँदा पार्टीभित्रका केन्द्रीय सदस्यहरूले जिम्मेवारी पाएका छैनन् ।

महाधिवेशन सकिएको ६ महिनाभित्र पार्टीका विभागहरू गठन गरिसक्नुपर्ने विधानमा उल्लेख छ । तर, १७ महिना बित्दासमेत नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुख मात्र तोकिएको छ । उक्त पदमा देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई मनोनयन गरेका थिए । यसबाहेक पार्टीका २८ वटा विभाग गठन हुन सकेका छैनन् । कार्यसम्पादन समितिले समेत अझै पूर्णता पाउन सकेको छैन । 

देउवाले पार्टी केन्द्रीय कार्य सम्पादन समितिमा कोषाध्यक्षसमेत मनोनीत गरेका छैनन् । सभापतिले मनोनीत गर्ने केन्द्रीय सदस्यमध्ये दुई दर्जन बढी केन्द्रीय सदस्य अझै मनोनीत हुन बाँकी छ । ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनीत गर्न पाउने भएता पनि देउवाले १२ जना सदस्य मनोनीत गर्नै बाँकी छ । उनले कार्य सम्पादन र संसदीय समितिलाई समेत पूर्णता दिन सकेका छैनन् । कार्यसम्पादन समितिमा ३१ सदस्य रहने प्रावधान भए पनि देउवाले २४ जनालाई मात्रै मनोनीत गरेका छन् । बाँकी सात जना सदस्य मनोनीत हुन बाँकी छ । 

कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली नेतृत्वको इच्छाशक्ति र कमजोरीका कारणले पार्टीको भ्रातृ संगठनले पूर्णता नपाएको बताउँछन् । यसले गर्दा कार्यकर्तामा निराशा छाएको उनको भनाइ छ । 

‘नेतृत्वको अनिच्छा र कमजोरीका कारणले भ्रातृ संस्थाले पूर्णता नपाएका हुन्,’ उनले भने, ‘त्यसमा पनि मूल नेतृत्व सभापति जिम्मेवार हुनुहुन्छ । हाम्रा संस्थाहरूले पूर्णता नहुँदा निर्वाचन लगायतका समयमा साथीहरूको निराशा देखियो ।’ पार्टीको कार्य सम्पादन समितिदेखि पार्टीका विभागहरूका प्रमुख र सदस्य नतोकिएका कारण कसले के भूमिका निभाउने भन्ने अन्योल भएको केन्द्रीय सदस्य रसाइलीको भनाइ छ ।  

सभापतिको यो कार्यशैलीले पार्टीलाई कमजोर बनाएर जनताका बीचमा अलोकप्रिय बनाउने काम गर्ने उनले बताए । ‘सभापतिको यो कार्यशैलीले पार्टीलाई कमजोर बनाएर जनता बीचमा अलोकप्रिय बनाउने काम गर्छ,’ उनले भने, ‘पार्टीका साथीहरूको क्रियाशीलता नभएपछि भावना पनि हुँदैन । अहिलेको गतिविधिले महाधिवेशनले दिएको म्यान्डेट पनि पूरा भएन । यसले नेतृत्वले छिटोभन्दा छिटो टुंग्याओस् ।’ 

पार्टी सह–महामन्त्री जीवन परियार पार्टी संगठन नै निर्माण नहुँदा पार्टीको कामकाजमा असर परेको बताउँछन् । ‘नेपाली कांग्रेसको विधानको संरचनाहरूमध्ये केन्द्रीय कार्यसमिति पछि विभिन्न विभागीय समितिहरू अत्यन्तै महत्वपूर्ण संगठनहरू हुन्,’ उनले भने, ‘तर ती संगठन नै निर्माण नहुँदा पार्टीले गर्ने काममा असर पार्छ । अहिले पार्टीका संरचना पूरा नहुँदा ठूलो असर पारेको छ ।’

पार्टीलाई यस्तो अपूर्ण अवस्थामा चलाइराख्नुमा नेतृत्व जिम्मेवार भएको उनको भनाइ छ । आफूहरूले पटक पटक बैठकमा कुरा उठाउँदा पनि सभापतिले चासो नदिएको सहमहामन्त्री परियार बताउँछन् ।

‘पार्टीलाई पूर्ण बनाउने जिम्मेवारी नेतृत्वकै हो,’ उनले भने, ‘हामीले समयसीमा भित्रै विभागहरू गठन गर्नुपर्छ भनेर सुरुदेखि नै भनिरहेका छौँ । महामन्त्रीले समेत पटक पटक उठाउनुभएको विषय हो । तर, सभापतिले यसमा चासो दिनुभएन, ’ उनले गुनासो गरे ।

उनले चाँडोभन्दा चाँडो अपूर्ण संस्थाहरूलाई पूर्ण गर्नुपर्ने बताए । १७ महिना पछि सभापति देउवाले पार्टीका विभाग र भ्रातृ संस्थाको पूर्णताको विषयमा निर्णय गर्नका लागि शुक्रबार नेताहरूसँग छलफल गरेका थिए । सभापति निकट नेताहरू वैशाखमा अन्तिमा पार्टीका संगठन र विभागहरूले पूर्णता पाउने बताउँछन् ।


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x