साहित्य

`राजव्यूह´बाट साहित्यमा उत्रिए कैलाश

इकागज |
असार २५, २०८० सोमबार २०:२३ बजे

भरतपुर- कैलाश कोइरालाको उपन्यास `राजव्यूह´ सार्वजनिक भएको छ ।

लेखककी आमा पार्वती कोइरालासहित प्रदेश स्वास्थ्यमन्त्री उत्तम जाेशी, पूर्व गृहराज्यमन्त्री इन्द्र बानियाँ र मदन पुरस्कार विजेता डा.नवराज लम्सालले राजव्यूह विमाेचन गरेका हुन् । नेपाली कांग्रेसकाे राजनीतिमा चर्चित काेइरालाकाे उपन्यास आरती शर्मा काेइरालाले प्रकाशन गरेकी हुन् ।


विमाेचन गरेपछि कार्यक्रममा बाेल्दै कवि नवराज लम्सालले राजव्यूह पठनीय र संग्रहणीय कृति रहेकाे बताए । उनले समाज, समय र संवेदना भए साहित्य बलियाे हुने बताए । ‘याे किताबमा यी कुरा पाइन्छन्,’ उनले भने । लम्साल पुस्तक विमोचन कै लागि चितवन आएका हुन् ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले कोइरालाको विद्यार्थी राजनीतिका बारेमा चर्चा गरे । डाक्टर भोजराज अधिकारीले राजव्यूहमा उठान गरिएको राजनीतिक विषयको चर्चा गर्दै चितवनको राजनीतिमा कोइरालाले निभाएको भूमिका स्मरणयोग्य भएको बताए । नेपाली कांग्रेसका पाका नेता कृष्णलाल सापकोटाले लेखकका पिता मनहरि कोइरालाको राजनीतिक यात्राको चर्चा गरे । सापकोटाले राजनीतिमा होमिएका परिवारको किताब आउनु खुसीको कुरा भएको बताउँदै कृति कहिल्यै ननासिने बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङले चितवनको राजनीतिमा कोइराला परिवारको योगदानको चर्चा गरे ।

लेखकका दाइ विकास कोइरालाले राजनीतिमा इमानदारी र हस्तक्षेपकारी भूमिका आवश्यक भएको बताए ।

वाम बुद्धिजीवी प्रेम रिमालले राजव्यूह राजनीतिकर्मी काेइरालाकाे अनुभूतिकाे सुन्दर सँगालाे भएकाे बताए । तर, किताबमा कम्युनिस्टप्रति व्यक्त गरिएका केही धारणाप्रति भने उनले असहमति जनाए ।
उदय अधिकारीले राजव्यूह उपन्यास दार्शनिक चेतले भरिएको बताए । प्रस्तुतिमा प्रष्टता पनि उपन्यासको विशेषता भएको अधिकारीले बताए ।

लेखक कोइरालाले ख्यालख्यालैमा किताब तयार भएको बताए । 'कोरिएका चिज कहिले कविता बने कहिले आख्यान । अहिले किताब आयो । यी मेरा मनका भावना हुन्,' उनले भने ।

कार्यक्रम नागरिक समूहका संस्थापक अध्यक्ष निगम बानियाँ, सामाजिक अभियन्ता अर्जुन भुसाल, पूर्वगृहराज्यमन्त्री इन्द्र बानियाँलगायतले शुभकामना दिएका थिए । सम्पूर्ण किताबका लेखराम सापकोटाको अध्यक्षतामा गरिएको कार्यक्रमलाई विनोदबाबु रिजालले सहजीकरण गरेका थिए । सम्पूर्ण किताब वितरक रहेको पुस्तकको मूल्य बाक्लो गाताको १००० र पातलो गाताको ५०० रुपैयाँ छ ।


Author

थप समाचार
x