वार्ता

इकागज संवादमा दीपकुमार उपाध्याय

सत्तामा जानु भनेको भ्रष्टाचारमा डुब्नु अनि बचेखुचेको नैतिकता सक्नु हो

राजनीतिक संस्कार नै ध्वस्त भइसक्‍यो

चन्द्रशेखर अधिकारी |
फागुन १४, २०७७ शुक्रबार १५:५४ बजे

'नेपाली राजनीतिमा नैतिकता, इमानदारी र जिम्मेवारीको खडेरी लागेको छ,' भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्याय भन्छन् । सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेपछि मुलुक अँध्यारो सुरुङमा जानबाट जोगिएको छ । तर, संसदमा हुने फोहोरी खेल रोक्ने कसरी ? अझ अहिले त सत्ता र सडक दुवैमा नेकपा छ । कपिलवस्तु-१ बाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उपाध्याय अधिकांश समय जिल्लामै बिताउँछन् । कृष्णप्रसाद भट्टराईको संगत र गौतम बुद्धको गाउँका मानिस भएर होला प्रायः शान्‍ति, आशावादी र सकारात्मक कुरा गरिरहेका हुन्छन् । उनै उपाध्यायसँग अबको राजनीति, मित्र मुलुकको प्रतिस्पर्धा र नेतृत्वको शैलीबारे इकागजका चन्द्रशेखर अधिकारीले गरेको कुराकानी :-

प्रतिनिधि सभा पुनःस्थापना-फैसलापछिको राजनीतिक परिदृश्य कसरी विश्लेषण गर्नुहुन्छ ?


प्रतिनिधि सभा पुनःस्थापनाले मुलुकलाई अँध्यारो सुरुङमा लैजाने प्रयासलाई रोक्ने काम भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अँध्यारो सुरुङमा घचेट्न खोज्नुभएको नै हो । संविधान सभाबाट जारी भएको संविधानलाई असफल पार्ने दाउ रच्‍नुभएकै हो । त्यसको रक्षा अदालतले गरेर राष्ट्रहितको पक्षमा फैसला गरिदिएको छ । न्यायालयप्रति आम जनताको भरोसा उँचो भएको छ । अदालतले आफ्नो सुझबुझपूर्ण निर्णय त दियो ।

 

हाम्रो राजनीतिक संस्कार नै ध्वस्त भइसकेको छ । अनुशासन छैन, नैतिकता नै देखिँदैन ।

तर, हाम्रा नेतृत्वले कस्तो सुझबुझ प्रयोग गर्ने हुन् त्यो सोचनीय छ । मुलुक संसदीय खेलमा प्रवेश गरेको छ । त्यहाँ जालझेल सबै हुन्छ । हुँदै आएको पनि छ । नेकपा दुई भइसकेको छैन । एक पनि हुनसक्ने अवस्था देख्‍दिनँ । यो जटिलता कसरी फुकाउने भन्‍ने विषयमा कसैसँग पनि स्पष्ट धारणा  रहेको देखि्दनँ । कुनै रोडम्याप पनि तय भएझैँ लाग्दैन । यो भए यस्तो गर्ने, त्यो नभए यस्तो गर्ने भन्‍ने योजना हुनुपर्छ । तर, कुनै दल वा नेतासँग त्यो भएकोझैँ लाग्दैन । त्यसैले जटिलता देख्छु ।

कुनै दल वा नेतासँग योजना छैन भन्‍नुभयो, किन यस्तो अवस्था आयो त ? 

नैतिकता र सुसंस्कारी नेता भएको भए यो अवस्था आउँथ्यो र ? नैतिकता अलिकति पनि भएको भए आफूले गरेको निर्णय अदालतले गलत हो भनिसकेपछि कसरी मुख देखाउने ? मलाई अस्वीकृत गरेकाले म राजीनामा दिन्छु भनेर मार्गप्रशस्त गर्नुपर्ने होइन । म त सुन्दै छु । कायरले मात्र राजीनामा दिन्छन् समेत भनेको पाइन्छ । वा भन्‍न लगाइएको छ । कतै केक काटेर केही नभएझैँ मस्त रमेका छन् । यहाँ भन्दा निर्लज्ज के हुन्छ र ? मेरो जन्मदिनको उपहार नै सर्वोच्चको फैसला भयो भन्दै अब म राजनीतिमा अभिभावकको भूमिकामा रहन्छु, ल यहाँहरूले विधिसंगत चलाउनु भन्‍नुपर्न‍े होइन र ? राजीनामा दिनुपर्ने होइन र ? अहिले, कुन मुखले बोलिरहनुभएको छ, खै के भनूँ ? म त बुद्ध भूमिको मानिस के भनूँ, शान्‍ति र सद्बुदि्धको कुराबाहेक अरु के भन्‍न सक्छु र ?

 

 

तुच्छ बोल्ने, पाखुरा सुर्कने दृश्य हेर्छु अनि राजनीति के भएको भनेर सोच्छु । 

अलिकति पनि राजनीतिक संस्कार नहुँदा यो अवस्था आएको हो । कस्तो पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेको र ज्ञानको पाठ के हो भन्‍नेबाट पनि कतिपय कुरा तय हुन्छ । कस्तो संस्कार पाए त्यो अर्को महवपूर्ण पाटो हो । अहिले राजनीतिको नेतृत्वमा रहेकाहरूको संस्कार र नैतिक धरातल हेर्दा टिठलाग्दो छैन र ? युवा पुस्तालाई देखी नसहने, बाँचुन्जेल आफैँ रहनुपर्ने पद त छोड्नै नहुने अनि कसरी सुधार हुन्छ र ?   

अनि नेपाली कांग्रेस चाहिँ संस्कारी छ त ? 

नेपाली कांग्रेसमा केही फरक संस्कार छ । रेलिङ भाँच्‍ने, उफ्रने, ब्रिफकेस नै फोर्ने जस्तो संस्कार छैन । तर पनि कांग्रेस नेतृत्व अब्बल छ भन्‍न खोजेको होइन । हाम्रो राजनीतिक संस्कार नै ध्वस्त भइसकेको छ । अनुशासन छैन, नैतिकता नै देखिँदैन, राष्ट्र र जनता भन्‍ने व्यक्‍तिगत स्वार्थमा फस्‍ने प्रवृत्ति हुर्कियो । अनि यो अवस्था आएको हो । सबैजसो नेतृत्वमा एउटा अहं छ, 'म नै सर्वेसर्वा हुँ । मैले भनेको सबै नेता-कार्यकर्ताले मान्‍नुपर्छ ।' त्यो लोकतान्‍त्रिक अभ्यास होइन ।

कायरले मात्र राजीनामा दिन्छन् समेत भनेको पाइन्छ । कतै केक काटेर केही नभएझैँ मस्त रमेका छन् । 

उहाँहरू चुनिएका संयोजक हो भन्‍ने हेक्का राख्नुहुन्‍न । उहाँले सबै कुराको संयोजन गर्ने हो, अन्यको कुरा ठीक नलागे अब्बल तर्क गरेर आफ्नो तर्कमा सहमत गराउने हो, अनि न नेतृत्व । अन्यथा मनपरी गर्न त जो गए नि सकिहाल्छ नि । किन स्टेटम्यानसिप भनिरहनुपर्‍यो । विश्‍वमा नेता कति होलान् तर किन हामी दुई-चार जनालाई मात्र सम्झन्छौँ त ? यसतर्फ नेताले कहिले सोच्देलान् खै ? 

यहाँलाई पनि त यो नैतिक प्रश्‍न उठाउलान् नि ? 

व्यक्‍तिगत रूपमा म त्यस्तो प्रश्‍न गर्ने उपद्रो र बदमासी गरेको छैन र गर्दिनँ पनि । तर, पार्टीको विषयमा भने मैले पनि नैतिक जिम्मेवारी लिनुपर्छ । त्यही भएर त शान्त रहने, सकेसम्म आफ्नो जिल्लामा बस्‍ने, जनताको काम गर्ने, खेतीपाती हेर्ने, लेखपढ गर्ने गर्छु । तुच्छ बोल्ने, पाखुरा सुर्कने जस्ता दृश्य टेलिभिजनमा हेर्छु अनि राजनीति के भएको भनेर सोच्छु । यो बुद्धको मुलुक, ज्ञानको भूमि किन यस्तो पटमूर्खतातिर गयो ? किन मानवमा अझ चेतको कमी भयो यस्तै गमेर बस्छु । कतै आफू पनि बिग्रिने त होइन भन्दै बुद्धका अर्ति-उपदेश पढ्ने, विश्‍वको परिदृश्य अध्ययन गर्ने गर्छु । 

यहाँको अध्ययन र पछिल्लो राजनीतिक परिवेश नियाल्दा यतिबेला कांग्रेसको भूमिका कस्तो हुनुपर्छ भन्‍ने लाग्छ ? 

प्रतिनिधि सभा पुनःस्थापना भएपछि सबैको ध्यान कांग्रेसतिर सोझिएको छ । भन्‍नेहरूले पनि कांग्रेस निर्णायक भन्दै आएका छन् । तर, वास्तविकता त्यो हो र ? म मनोवाद गरिरहेको हुन्छु । सत्ता र सडकमा रहेका नेकपाको स्वार्थ मिले पुनः जोडिन सक्दैनन् र ? मुलुकका लागि उनीहरू लडिरहेका होलान् र ? मलाई जनता र मुलुकका लागि लडेझैँ लाग्दैन । त्यस्तो थियो भने संविधान जारी भएर निर्वाचनबाट निर्वाचित सरकारले किन यसरी पार्टीमा झगडा गरेर प्रतिनिधि सभा नै भंग गर्थे ? संविधान नै काम नलाग्‍ने अवस्थामा पुर्‍याउन किन खोज्थे । यही सोचिरहन्छ । अनि भन्छु, कांग्रेस किन यस्तोसँग पछि लागेर जाने त ? जनताले कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा बस भनेको छ । अब दुई वर्ष बाँकी छ त्यही भूमिका रहनुपर्छ । जिम्मेवार प्रतिपक्ष हुनुपर्छ ।

यो बुद्धको मुलुक, ज्ञानको भूमि किन यस्तो पटमूर्खतातिर गयो ?

अहिले जानेर-नजानेर कांग्रेसले लिएको नीति ठीक छ । तर, कांग्रेस उत्साहित भएर सरकारमा जाने (यो वा त्योसँग) भन्‍नु बेकारका कुरा हुन् । उनीहरू औपचारिक रूपमा दुई दल भएकै छैनन् । त्यसैले नैतिक धरातलमा कांग्रेस अडिनुपर्छ । लोभ र स्वार्थमा डुब्नु हुँदैन । उनीहरू जुट्न नसकेर फुटे भने एउटा सहज हुने समूहलाई समर्थन गरेर आफू बाहिर नै बस्‍नुपर्छ । जनताको मत स्वीकार गरे पाँच वर्ष बाहिर बस्‍न सक्छ भन्‍ने सन्देश कांग्रेसले दिने समय पनि हो । जसरी कम्युनिस्टहरू स्वार्थ र लोभमा डुबे त्यसरी कांग्रेस डुब्नु हुँदैन । 

अहिले त कांग्रेस दुवै हातमा लड्डु छ भन्ठानेर बसेको जस्तो देखिन्छ...

सतही रूपमा हेर्दा त्यो देखिन्छ । तर कांग्रेसको दुवै हातमा लड्डु छ भन्‍नु जिलि्लनु पनि त हो । त्यसैले मैले पटकपटक भन्‍ने गरेको छु, यस्ता लड्डुको मोहमा परेर अघि बढेमा कांग्रेस जिल्लिनु मात्र होइन, चुर्लुम्ब डुब्नु पनि हो । किनकि ओली पक्षसँग कसरी मिल्ने ? उनको नेतृत्वमा भएका कदमबारे हामीले नै पटक पटक विरोध गरेका छौँ । अर्को समूहसँग मिल्दा पनि त्यो समूह पनि केही समय अघिसम्म सत्तामा ओलीकै साक्षी थिए । उनीहरू फुटेको खण्डमा सरकारलाई बन्दी नबनाउन एउटालाई समर्थन गरेर कांग्रेसबाहिर बस्‍नुपर्छ । चुनाव गर्न वा के गर्न पैसा भएन भन्दै अब सत्तामा जानुपर्छ भन्‍ने जस्ता सन्देश फैलाउँदा के हुन्छ ? त्यो सोच्नुपर्छ, कांग्रेसले यतिबेला । नेतृत्वले बोल्दा निकै ध्यान पुर्‍याउनुपर्छ । यसरी सत्तामा जान खोज्‍नु भनेको भ्रष्टाचारमा डुब्‍न जानु हो भने बचेखुचेको नैतिकतालाई सक्नु हो । इगो र बाध्यतालाई देखाएर हिँड्ने पार्टी लोकतान्‍त्रिक हुनै सक्दैन । हामीले नयाँ पुस्तालाई लिएर अघि बढ्न यस्ता विषयमा ध्यान दिन जरुरी छ । 

छिमेकी र अन्य मुलुकहरूको व्यक्त-अव्यक्त चाहना कस्तो पाउनुहुन्छ ?  

हामीले अवसर दिएपछि यति्तको भूराजनीति भएको मुलुकमा छिमेक र अन्य मित्र मुलुक नसलबलाउने कुरै हुँदैन । उनीहरू सकि्रय हुन्छन् नै । तर हामीले बुझ्नुपर्ने के हो भने उनीहरू अझ बढी त छमेकीद्वय हाम्रा साक्षी किनारा मात्र हुन् । खेल्ने भनेको हामीले नै अवसर दिएपछि उनीहरू सकि्रय हुने हुन् । अन्यथा केही गर्न सक्दैनन् । हामीले स्पेस छोडेको झैँ देखिन थालेको छ । अब खेल्न सक्छन् । हुनत हामी नै त्यसका लागि तयार हुने गरेका छाैँ ।

हामी परीक्षण भइसकेका हौँ, नयाँ पुस्ता तयार गर्न आवश्यक छ । 

विदेशी बोलाएर सबै आन्द्राभुँडी बताउने र साथ खोज्ने काम हामी नै गर्छौँ अनि कसरी उनीहरूलाई रोक्न सक्छौँ । अहिले यहाँ त भारत, चीन, अमेरिकालगायत पश्‍चिमा मुलुकहरू पक्कै चासो राख्छन् । यहाँ आफू अनुकूल बोलाएर भेट्ने गर्छाैं । उत्तर दकि्षण र पश्‍चिमासँग आफ्नो शकि्त देखाउन बोलाउँछौँ । हुनत अहिले पहिले जस्तो पैसाको चलखेल गर्ने अवस्था छैन । त्यस्ता अनेकन् चलखेल चाहिँ बन्द भएको छ । नेतृत्वमा नैतिक मूल्य र मान्यता नहुँदा यो समस्या आएको हो । त्यसमा सुधार ल्याउन सञ्‍चार माध्यमले निर्वाह गरेको भूमिका पनि राम्रो छ । 

पुरानो पुस्ताले नछोड्ने, तीबाट हुँदैन पनि भन्‍ने अनि अब नयाँ पुस्ता कसरी आउँछ त ? 

हाम्रो पुस्ता वा मभन्दा माथिको पुस्ताबाट भन्दा पनि अब युवा पुस्तालाई अघि बढाउन आवश्यक छ । हामी सबै परीक्षण भइसकेका व्यक्‍ति हौँ । हामीले नयाँ पुस्ता तयार गर्न आवश्यक छ । हुनत अहिले नयाँलाई पनि अहिलेकै पुस्ता जस्तो बनाउन थालिसकेका छौँ । यो दुखद् हो । यो वा त्यो दल होइन, सबैमा नयाँ पुस्ताको वर्चस्व हुुनुपर्छ । उनीहरू निर्णायक हुनैपर्छ । नमरुन्जेल नेतृत्वमा रहन्छु भन्‍ने सोच कसैले पनि राख्‍न हुँदैन । मुलुकको कार्यकारी पनि दुई पटक टेस्ट भएपछि थप टेस्ट हुन आवश्यक छैन । त्यसैले युवा पिँढीले पनि हाम्रा दाइ भन्‍नु भन्दा म भनेर अघि बढ्न सक्नुपर्छ । धैर्य राख्‍न सक्नुपर्छ । अनि न सहज हुनेछ । 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x