पूर्वाधार

काठमाडौँ महानगरलाई गिज्याइरहने ठमेलको खाल्डाखुल्डी

कालोपत्रे गर्न महानगरले बजेट छुट्‌याए पनि किन लाग्दैन ठेक्का ?

अतिन आचार्य |
भदौ १४, २०८० बिहीबार १३:४६ बजे

काठमाडौँ- ठमेल भन्नसाथ तपाईंको मनमा के आउछ होला ? स्वदेशी तथा विदेशी पर्यटक गएर रमाउने ठाउँ, रात्रीकालीन जीवनका लागि प्रसिद्ध स्थान , युवायुवती मनोरञ्जन गर्ने, सफा, सुन्दर सडक, व्यवस्थित वातावरण र सुरक्षित स्थान ।

तर, तपाईं ठमेलमा यि सबै चिज होला भनेर  जादै हुनुन्छ भने तपाईंको मन खिन्न पनि हुन सक्छ । रात्रीकालीन जीवन  र मनोरञ्जन गर्नका लागि प्रशस्तै सुविधा छन् । सवारीसाधन लिएर वा पैदल जानु भएको छ भने तपाईंलाई ठमेलका सडकले गिज्याइए झैँ लाग्ने छ ।


ठमेललाई सबैभन्दा बढी पर्यटकीय क्षेत्रको रुपमा चिनिन्छ । ठमेल दैनिक हजारौँ मानिसको ओहोरदोहोर हुने ठाउँ हो । सवारीसाधन पनि उत्तिकै संख्यामा प्रवेश गर्छन ।

पर्यटक जाने ठाउँ सधैँ सफा र चिल्ला सडक हुने गर्छ । ठमेलको अवस्था भने फरक रहेको छ । आम मानिसले कल्पनामा मात्र ठमेलको चिल्ला सडक पाउने छन् ।

ठमेलमा चिल्ला सडक पाउनु टाढाको कुरा जस्तै भएको छ । ठमेलको मुख्य प्रवेश नाका नरसिंहचोकदेखि भगवती मन्दिरतर्फ जाने बाटो, सातघुम्ती चौक र जेड स्ट्रीट तर्फको बाटोमा खाल्डो परेर अस्तव्यस्त छन् ।

होटल तथा रेष्टुरेण्ट अगाडिको सडकका बीच भागमा खाल्डो परेका छन् । कयौँ दिनदेखि पिच नगरीएका सडकमा खाल्डाखुल्डी देखिन्छन् । भित्रि सडकखण्ड निर्माण गर्ने जिम्मा पाएको काठमाडौँ महानगरले बेवास्ता गर्दा महिनौदेखि कुरुप बन्दै गएको छ ।

सडकको खाल्डाले ठमेल कुरुप बन्दै

बिग्रेका सडक समयमा मर्मत नगर्दा पर्यटकीय क्षेत्र ठमेल कुरुप बन्दै गएको डेढ दशकदेखि होटल व्यवसाय गर्दै आएका दिपजंग बस्नेत बताउँछन् ।

‘कुनै पनि स्थानको पहिलो परिचय दिने भनेको सडक हो । तर यहाँको सडकले ठमेलको वास्तविक परिचय दिइ रहेको छ । बिग्रेको सडकले ठमेलको वास्तविक चित्र उदाङ्गो परेको छ,’ उनले भने,’ दैनिक हज्जारौ स्वदेशी तथा विदेशी पर्यटक आउने ठाउँ ठमेलको सडकको अवस्था भने लथालिङ्ग छ । सफा सुन्दर कालोपत्रे हुनुपर्ने सडकमा खाल्डाखुल्डी मात्र छन् ।‘

पानी परेको समयमा यहाँको बाटोमा हिड्न नसकिने बस्नेतको भनाइ छ । ‘पानी पर्नासाथ बाटो हिलो हुन्छ । पानी परेको दिन बाटो हिलो हुँदा यहाँ दैनिक आउने ग्राहक र पाहुना पनि आउँदैनन्,’ उनले थपे ।

काठमाडौँ महानगरले भित्रि सडकखण्डको निर्माण जिम्मा पाए पनि बेवास्ता गर्दा अहिलेसम्म बिग्रेको ठाउँ बन्न नसकेको उनले धारणा राखे । स्थानीय सरकारले पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माणमा ध्यान नदिँदा पनि यस्तो समस्या आइपरेको उनको भनाइ छ ।

ठमेललाई व्यवस्थापन गर्ने र दीर्घकालीन योजना नराख्दा नै यो समस्या अहिलेसम्म रहेको बस्नेतले सुनाए । ‘ सडक राम्रो भएको भए ठमेलको स्वरुप फरक हुन्थ्यो,’ उनी अगाडि थप्छन्,’ पर्यटकीय क्षेत्र व्यवस्थित हुनु नै सहरको पुरा परिचय मानिन्छ । तर, पर्यटकीय क्षेत्रमा रहेको बाटोहरू व्यवस्थित नहुँदा समस्या सुन्दरतामा आँच आइरहेको छ । ‘

ठमेलको सडक मर्मत गर्न टेण्डर लाग्दैन

ठमेलको सडक मर्मत गर्न जेठमा टेण्डर प्रक्रिया अगाडि बढाए पनि कसैले पनि टेण्डर नहाल्दा बिग्रेका सडक निर्माण हुन नसकेको भौतिक पूर्वाधार महाशाखा प्रमुख राम थापा बताउँछन् ।

उनका अनुसार पर्यटन व्यवसायी तथा स्थानीयको गुनासो आएको थियो । विशेष क्षेत्र भएकाले महानगरले टेण्डर आव्हान गरेर निर्माण गर्न खोजेको थियो ।

सडक निर्माण गर्न टेण्डर आव्हान गर्दा पनि कोही नआएकाले रोकिएको उनले जानकारी दिए । ठमेलको सडक निर्माण गर्न तीन करोड बजेट छुट्टयाइसकेको उनले जनाए ।

‘सडक निर्माण गर्न पुनः टेण्डर आव्हान गरिएको छ । फेरि पनि टेण्डर प्रक्रियामा कोही नआएमा महानगरले आफ्नै ढंगले काम गर्नेछ,’ उनले भने,’ पुर्वाधार एम्बुलेन्सले सानो-सानो काम गर्छ । ठूला-ठूला काम गर्न असम्भव भएकाले ठमेलमा एम्बुलेन्स लगाउन नसकिएको हो ।‘

असोजको पहिलो सातादेखि टेण्डर खुल्ने थापाले जानकारी दिए । ठमेलमा दसै अगाडिदेखि कालोपत्रेको काम सुरु गर्ने उनले बताए । महानगरले ठमेल पर्यटकीय क्षेत्र भएकाले यहीँ आर्थिक वर्षमा काम सम्पन्न गर्ने योजना राखेको उनले सुनाए ।

एकै पटक काम सम्पन्‍न नहुँदा सडक मर्मतमा ढिलाइ

त्यसैगरी, ठमेल पर्यटन विकास परिषदका सचिव रामचन्द्र गिरीले ठमेलको सडक समयमा मर्मत नहुनुमा मेलम्चीले खानेपानीको पायप बिच्छयाउँदा र नेपाल विद्युत प्राधिकरणले तार राख्दा सडक बिग्रने गरेको बताए ।

‘ठमेलका व्यवसायीले सिजनमा रोकौ भनेर केही समयका निर्माण कार्य लागि रोकिएको छ । कतिपय काम अझैसम्म सकेका छैनन्,’ उनले भने,’ निर्माण सम्पन्न भएको क्षेत्रमा महानगरले काम गरेमा सहज हुन्थ्यो ।‘

सडक मर्मत नहुँदा ठमेलको सौन्दर्यमा कमी आएको उनको बुझाइ छ । सरोकारवाला निकायले पनि पटक-पटक सडक मर्मत निर्माण नगर्दा खाल्डाखुल्डीको समस्या रहेको उनले बताए । सबैतिरको सडक एकै पटक निर्माण गर्ने भएकाले समयमा सडक मर्मत हुन नसकेको उनले उल्लेख गरे ।

भगवती मन्दिरतर्फको सडकमा काम सकिएकाले त्यताको सडकलाई कालोपत्रे गर्नुपर्ने उनले माग राखे ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x