पूर्वाधार

त्रियुगा पुल निर्माण सम्पन्न गर्न मन्त्रीसँग माग

एक वर्षभित्रै पुलको निर्माण सम्पन्न हुन्छ : भौतिकमन्त्री ज्वाला

इकागज |
साउन १४, २०८० आइतबार २२:० बजे

काठमाडौँ- उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग गरेकाे छ ।  प्रतिनिधि सभा सदस्य डा. नारायण खड्का, प्रदेश सभा सदस्य राजन किराँतीसहितको टोलीले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पुल निर्माणको माग गरेको हो ।

उक्त टोलीले स्थानीय जनप्रतिनिधि, कांग्रेस, एमाले, माओवादी,  समाजवादी, चौदण्डी नगरपालिकाका सबै वडाअध्यक्षसहित स्थानीय सरोकारवालाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई ज्ञापनपत्र बुझाएकाे छ ।  


मन्त्री ज्वालाले ज्ञापनपत्र बुझ्दै चौदण्डीगढी नगरपालिका वडा नम्बर-५ मा सिवाई- बेल्हा जोड्ने पुल एक वर्षभित्र निर्माण सम्पन्न गर्ने आश्वासन दिए ।  

उनले भने, 'चौदण्डीगढी-५ का सबै जनप्रतिनिधि, दल र सबै सरोकारवालाहरूलाई म के आश्वस्त पार्न चाहन्छु भने उक्त भत्किएको पुलको पुन: निर्माणको काम एक वर्षभित्रै हुन्छ । यसमा चिन्ता नलिन म आग्रह गर्दछु । काम नयाँ शिराबाट सुरु हुन्छ ।'

साथै उक्त पुलको प्रक्रियामा लैजान केही समय लाग्ने र पुलको भेरिएसन मन्त्रिपरिषदबाट पास गराएर कामलाई द्रुत गतिमा अगाडि बढाउने प्रतिबद्धता मन्त्री ज्वालाले गरे  ।  

यस्तै सडक विभाग विभागको निर्देशक सुशिलबाबु ढकालले उक्त पुलको टेक्निकल समस्‍याको सबै पत्ता लगाइ सकिएको बताए । उनले भने, 'हामीले पुलको फिल्ड भिजिट नै गरेका थियौं । त्यसको विम्ब र स्ल्याबसहितको निरीक्षण गरे रिपोर्ट आइसकेको छ । अब खाली प्रक्रिया र मन्त्रिपरिषदबाट भेरिएसन पास गराएपछि काम सुरु भइहाल्छ । '

यस्तै भौतिक मन्त्रालयका  निमित्त सचिव ई. अर्जुङ जङथापाले आगामी बर्खा सिजनमा चौदण्डीगढी-५ मा रहेको सिवाई-बेल्हा जोड्ने पुल सम्पन्न गर्ने गरी प्रक्रिया सुरु भइसकेको बताए । उनले भने, 'हामीले यसबारेमा सडक विभाग र निर्माण कम्पनीसँग बसेर छलफल गरिसकेका छन् । अब खाली मन्त्रिपरिषदबाट पुलको भेरिएसन पास गराउन बाँकी छ । यसपछि निर्माण कम्पनीले काम थाले हुन्छ । '

यता, चौचण्डीगढी-५ का वडाअध्यक्ष तुलसी ढकालले अब पनि पुन: निर्माणमा ढिलाइ भए माइतीघरमा आन्दोलन गर्ने चेतावनी दिए ।

'उद्‌घाटन अगाडि नै पुल भाँचिएपछि निराश भएका हामी स्थानीयवासीलाई प्रत्येक वर्खामा वार-पार गर्न समस्या हुन्छ । त्यति मात्र होइन विद्यार्थीहरू स्कुल जान पाउँदैनन् । सिवाई-सुन्दरपुरका स्थानीयहरू यही त्रियुगाको बाढीले बेल्टार बजार जान पाउँदैनन्,' उनले भने, 'दैनिक जीवन नै असहज हुने तरिकाले भइरहेको यही पुलले हो । अब पनि नबने हामी काठमाडौँमै अनशन बस्ने गरी आएका छौं । '  

चौदण्डीगढी नगरपालिका वडा नम्बर-५ सिवाई-बेल्हा जोड्ने पुल २०६६ सालमा शिलान्यास भई २०७७-०७८ मा निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेको थियो । तर पुलका दुईवटा पिलर भासिएर तीन वटा स्पानमा क्षति पुगेपछि पुल अलपत्र अवस्थामा छ ।

यो पुलले उदयपुरलाई खोटाङको दक्षिणी भेग र भोजपुरको पश्चिमी भेगलाई तराई-मधेशसँग जोड्ने गर्दछ । साथै उदयपुरकै चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ५, ९ र १० का करिब २० हजार जनसंख्यालाई नगरको केन्द्रसँग सिधा सम्पर्क गराउँछ । तर, पुल निर्माण सम्पन्न नहुँदा जिल्लावासीलाई आउ-जाउ गर्न समस्या भएको छ ।

पुल नबन्दा सर्प दंश लगायतका बिरामीहरूलाई उपचारका लागि अस्पताल लैजानसमेत समस्या भएकाले तत्काल पुल निर्माण सम्पन्न गरिदिन प्रतिनिधिमण्डलले मन्त्रीसँग माग गरेको हो ।  

बाढीले क्षति पुगेको पुलमा २५/ २५ मिटरका १२ स्पान छन् भने दुई स्पान र एक पिलर धसिएको छ । पुलको लम्बाई ३ सय ७ मिटर र ५ मिटर चौडाइ रहेको छ ।

पुलको निर्माण महालक्ष्मी/लोकप्रिय जेभी कन्स्ट्रक्सन कलंकी काठमाडौँले गरेको थियो । पुलको डिजाइन र माटोको परीक्षण काठमाडौँ बालाजुस्थित स्वाइल कन्सल्टेन्सी कम्पनीले गरेको थियो ।

 

 


Author

थप समाचार
x