स्वास्थ्य

लक्षित वर्गको निःशुल्क उपचार : एक बेवारिसेसहित ११ जनालाई सेवा प्रदान

कालिकोट, चितवन, धादिङ, नुवाकोटसहितका सेवाग्राही

इकागज |
फागुन २२, २०८० मंगलबार २०:७ बजे

काठमाडौँ- लक्षित वर्गको निःशुल्क उपचारका क्रममा अहिलेसम्ममा ११ जनाले सेवा लिएका छन् । उनीहरूमध्ये ५ जना उपचारपछि डिस्चार्ज भएका छन् । निःशुल्क उपचार सेवा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८० बमोजिम फागुन १ गतेदेखि सेवा दिन काठमाडौँ महानगरपालिकाले अस्पतालहरूलाई पत्र पठाएको थियो । सेवालाई व्यवस्थित र पारदर्शी बनाउन https://www.freehealth.kathmandu.gov.np/ अनलाइन प्रणाली कार्यान्वयनमा ल्यायो । 

निःशुल्क उपचारका लागि प्रणालीमा बिरामीको नाम दर्ता गराउने पहिलो अस्पताल काठमाडौँ मोडेल अस्पताल हो । यस प्रणालीमा अहिलेसम्म प्राप्त सेवाका बारेमा जानकारी दिँदै निःशुल्क सेवा कार्यक्रमका फोकल पर्सन जनस्वास्थ्य निरीक्षक घनेन्द्र श्रेष्ठका अनुसार कालिकोटको रासकोट नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका, दाङको घोराही उपमहानगरपालिका, धादिङको ज्वालामुखी गाउँपालिका, नुवाकोटको तारकेश्वर गाउँपालिका, चितवनको भरतपुर महानगरपालिकाका सेवाग्राहीले सेवा लिएका छन् ।


महानगरपालिका भित्रका वडा नं. ३१ को शान्तिनगर, वडा नं. १६ को सोह्रखुट्टेका सेवाग्राहीले सेवा लिइसकेका छन् । यसरी आएका सेवाग्राहीलाई काठमाडौँ मोडेल अस्पताल, पिपुल्स कलेज एण्ड डेन्टल हस्पिटल, नेशनल किड्नी सेन्टर, ब्लु क्रस हस्पिटल र मेट्रो काठमाडौँ हस्पिटलले सेवा दिएका छन् । मेट्रो हस्पिटलबाट एकजना बेवारिसेलाई शिक्षण अस्पताल महाराजगञ्ज रिफर गरिएको छ ।

प्रणालीमा ५२ वटा अस्पताल आबद्ध भएका छन् । यसमा ३७४ शय्या निःशुल्क उपचारका लागि उपलब्ध छन् । राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगर्ने र हरेक नागरिकको स्वास्थ्य सेवामा समान पहुँच हुने नेपालको संविधानले नागरिकलाई स्वास्थ्य सम्बन्धी हक प्रदान गरेको छ । निःशुल्क उपचार सेवा लक्षित वर्ग (विपन्न, असहाय र बेवारिसे) का लागि हो ।

उपचार सेवा पाउने विधि:

लक्षित वर्गले ३ वटा विधिमध्ये कुनै एकबाट सेवा लिन सक्नेछन् । एक विपन्न परिचय पत्र छ भने सिधै अस्पतालमा जान सकिन्छ । दुई, विपन्न परिचय पत्र छैन भने आफू बसोबास गरिरहेको वडाबाट तोकिएको ढाँचामा सिफारिस, सरजमिन मुचुल्कासहितका कागजपत्र लिएर सेवा लिन सकिन्छ । तीन, यी दुईवटै अवस्थाका कागजपत्र लिन नसक्नेहरूले आफू विपन्न भएको प्रमाण लिएर महानगरपालिकाको निःशुल्क स्वास्थ्य सेवा सहजीकरण एकाइमा सम्पर्क गर्न सकिनेछ । प्रमाण प्रमाणित हुन सकेमा एकाइले सिफारिस गर्नेछ ।  

सेवा लिनेले साइटमा कसरी सेवा लिने:

वेभ बारमा गएर एड्रेस टाइप गरेपछि प्रणाली खुल्छ । यसमा सेवाग्राहीले सेवा लिने प्रक्रिया तथा कागजातसम्बन्धी विवरण पढ्न सक्छन् । कुन अस्पतालमा कुन सेवा छ । त्यसमा उपचारका लागि शय्या खाली छ कि छैन । साइटबाटै हेर्न सकिन्छ । साइटबाट ७ प्रकारका डकुमेन्ट डाउनलोड गर्न सकिन्छ । निःशुल्क उपचार सम्बन्धी महानगरपालिकाको कार्यविधि, कार्यविधिबमोजिम निःशुल्क उपचार सेवा लिनेहरूले सिफारिसका लागि दिने निवेदन, वडाले निःशुल्क उपचारका लागि दिने सिफारिस, मुचुल्काका ढाँचासहित कार्यविधिका अनुसूचीहरू २, ३, ४, ५, ६ र ७ डाउनलोड गर्न सकिन्छ । अनुसूची १ र ८ प्रतिवेदन सम्बन्धी भएकोले सेवाग्राहीका लागि आवश्यक पर्दैन । 

निःशुल्क उपचारका लागि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को संयोजकत्वमा निर्देशक समितिको गठन भएको छ । समितिमा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सरोकारवाला कार्यालयका प्रतिनिधिहरू सदस्य छन् । 

यसरी लिन सकिन्छ निःशुल्क स्वास्थ्य उपचार सेवा:

१) गरिबी परिचय पत्र भएका बिरामीहरूले सोझै अस्पताल गई उपचार सेवा लिन सकिने ।
२) यदि गरिबी परिचय पत्र छैन भने बिरामीहरूले कार्यविधिको अनुसूची २ बमोजिमको निवेदन र आर्थिक अवस्था खुल्ने अनुसूची ५ बमोजिमको फाराम भरी सम्बन्धित वडा कार्यालयमा दिने ।
३) वडा कार्यालयबाट दिइने अनुसूची ४ बमोजिमको सरजमिन र अनुसूची ३ अनुसारको सिफारिस पत्र लिई अस्पतालमा जाने
४) यदि बिरामीलाई उपचारका लागि कुन अस्पताल जाने अन्योल भएमा सम्बन्धित वडाको सिफारिस पत्र लिई काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागको निःशुल्क उपचार सहजीकरण एकाइमा सम्पर्क गर्ने । जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठलाई मोबाइल नम्बर ९८०१३०६८९३ मा सोझै सम्पर्क गर्न सकिनेछ । 
५) बेवारिसेको हकमा नजिकको वडा कार्यालय तथा प्रहरी कार्यालयको सिफारिसको आधारमा निःशुल्क उपचार प्रदान गरिने ।


 


Author

थप समाचार
x