सरकार

राजनीतिक परिवर्तनपछि मुलुकको आवश्यकता आर्थिक समृद्धि, विकास र शान्ति : राष्ट्रपति पौडेल

इकागज |
फागुन ४, २०८० शुक्रबार १८:१९ बजे

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछि मुलुकको आवश्यकता आर्थिक समृद्धि, विकास र शान्ति नै भएको बताएका छन् ।

शुक्रबार काभ्रेको बनेपाम बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सव-२०८० को उद्घाटन गर्दै राष्ट्रपति पौडेलले कृषि क्षेत्रको विकासमार्फत मुलुकको समृद्धि र विकास गर्नुपर्ने बताएका हुन् । उनले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति-निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता रहेको धारणा राखे ।


निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको उनले बताए । राष्ट्रपति पौडेललाई मूलतः कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै औद्योगिकीकरणको मार्ग प्रशस्त गरी आर्थिक रूपमा समृद्ध नेपालको निर्माण गर्नसक्ने धारणा राखे ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेशको कृषि बजारीकरणमा विशेष ध्यान दिने बताए । उनले कृषि उत्पादनलाई राजधानीसम्म लैजान आफैले पहल गर्नुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समिति, बनेपा नगरपालिका, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय तथा काभ्रेपलाञ्चोक उद्योग वाणिज्य संघद्वारा संयुक्त रूपमा आयोजित बृहत् कृषि महोत्सव चार दिनेसम्म सञ्चालन हुनेछ । 


Author

थप समाचार
x