फुटबल

‘मेडिकल टेप’ले जोगाएको नेपाली फुटबलको इज्जत

सञ्जीव शाह |
बैशाख ३, २०७९ शनिबार १३:४१ बजे

काठमाडौँ – सन् २०१५ मार्च २३, इरानको तेहरानस्थित अजादी स्टेडियम । 

२०१६ एएफसी यू–२३ च्याम्पियनशीपको छनोट अन्तर्गत पहिलो खेलमै नेपालले घरेलु टोलीविरुद्ध खेल्नुपर्ने थियो । 


नेपाल र इरानबीचको खेलका लागि मैदानमा उत्रिन केही समय बाँकी थियो । मैदानमा उत्रिनै लाग्दा नेपाली टिमको ड्रेसिङ रूपमा खैलाबैला मच्चियो।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसीलाई पठाएको कतिपय खेलाडीको जर्सी नम्बर र खेलाडीहरू इरान आउदा ल्याएको जर्सी नम्बरमा फरक-फरक थियो ।

म्याच कमिश्नरले एएफसीलाई पठाइएको जर्सी नम्बर र टिमले दिएको खेलाडीको जर्सी नम्बरमा भिन्नता भएको र जर्सी नम्बरमा समानता नभए खेल्न नमिल्ने जानकारी गराए ।

बाहिरको वातावरण चिसो भए पनि ड्रेसिङरुमको तापक्रम बढ्यो । जतिजति समय बित्दै गयो, खेलाडी, पदाधिकार‍ी र प्रशिक्षकको अनुहारमा निराशा छायो । 

अनि एउटा उपाय देखियो, त्यो थियो मेडिकल टेप, जुन टिमका डाक्टरसँग थियो । सेतो मेडिकल टेपले खेलाडीको जर्सीमा नम्बर बनाउने काम भयो, अनि नेपाली खेलाडी इरानविरुद्धको खेलका लागि मैदानमा उत्रिए । मैदानमा नेपाली खेलाडीहरूको जर्सी अनौठो देखिए पनि खेलाडीले भने क्षमता अनुसार खेले । खेल इरानले ५–० ले जित्छ । खेलको नजिता भन्दा पनि नेपालको इज्जत भने मेडिकल टेपले जोगायो ।

अहिलेका राष्ट्रिय फुटबल टिमका अन्जन विष्ट, विमल घर्तीमगर, विकेश कुथु, जगजित श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, विशाल राई, प्रकाश बुढाथोकी जस्ता खेलाडीहरू रहेकाे टिमकाे उक्त घटना मैदान बाहिर पनि चर्चा चर्चाको विषय बन्यो ।  

खेलपछिको आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका प्रशिक्षक ज्याक स्टेफानोस्कीले व्यवस्थापकको लापरवाहीका कारण घटना भएको प्रतिक्रिया दिएका थिए ।

इरानपछि नेपालले दोस्रो खेल अफगानिस्तानविरुद्ध मार्च २५ मा खेल्नुपर्ने थियो र त्यस खेल अघि नेपालसँग एक दिनको समय बाँकी थियो । बाँकी रहेको एकदिनमा खेलाडीहरूको जर्सी नम्बर सच्याइयो ।  

छनोटअन्तर्गत समूह ‘सी’ मा नेपाल, इरान, साउदी अरेविया, प्यालेस्टाइन र अफगानिस्तान रहेका थिए भने यस समूहको खेल इरानले आयोजना गरेको थियो । पाँच टोलीको सहभागिता रहेको उक्त समूहमा नेपालले खेलेका चारवटै खेलमा पराजय भोग्यो । 

नेपालले पहिलो खेलमा इरानविरुद्ध ५–० को पराजय भोग्दा दोस्रो खेलमा अफगानिस्तानसँग २–० ले हार्न पुग्यो । तेस्रो खेलमा साउदी अरेवियाले नेपाललाई ६–० ले हराउदा चौथो खेलमा प्यालेस्टाइनले नेपाललाई ४–० ले हरायो । 

नेपालले समग्रमा ४ खेलमा १७ गोल खाएको थियो भने एक गोल पनि फर्काउन सकेको थियो । 
 


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x