फुटबल

मेस्सीलाई सर्वकालीन महान बन्‍ने अन्तिम अवसर

एमबाप्पेलाई पेलेको कीर्तिमान पछ्याउने मौका

इकागज |
पुस १, २०७९ शुक्रबार १२:११ बजे

काठमाडौँ- फेरि एकपटक कतार विश्वकप फुटबलको फाइनल पुगेपछि वर्तमान आधुनिक पुस्ताका महान खेलाडी लियोनल मेस्सीले भनेका छन्, ‘आइतबार राति फ्रान्सविरुद्धको फाइनल नै मेरो जीवनको अन्तिम विश्वकप खेल हुनेछ ।’

मेस्सीको सो घोषणाले दुई वटा प्रश्न एकसाथ उब्जाएको छ । पहिलो, मेस्सी विश्वकप जित्न ढुक्क देखिन्छन् । यसअघि सन् २०१४ को ब्राजिल विश्वकप फाइनल खेलिसकेका कारण उनलाई अब गल्ती गर्ने छुट छैन । उनले यो पनि सम्झेका छन् कि यति ठूला अवसर र विश्वकप ट्रफी जित्ने समय फर्केर आउँदैन ।


मेस्सीसँगै प्लेइङ सेट नै उत्कृष्ट भएका कारण अर्जेन्टिना फाइनल पुगेको हो । अनि कोपा अमेरिकाको उपाधिपछि अब अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएर मेस्सी फूटबलबाट बिदा हुन चाहन्छन् ।

त्यो भन्दा ठूलो कुरा विश्वकप ट्रफी हातमा राख्दै अर्जेन्टिनाको झण्डा फहराएर सबैभन्दा ठूला र सर्वकालीन महान खेलाडी डियगो म्यारोडोनालाई सच्चा श्रद्धाञ्जली दिनु मेस्सीको मनोकांक्षा पूरा हुनेछ ।

त्यो भन्दा अगाडि मेस्सीसामु दुई वटा स्वर्णिम अवसर छन् । त्यसमध्ये पहिलो हो, क्रिष्टियानो रोनाल्डोसँगको सदाबहार लडाइ जित्ने । यदि अर्जेन्टिनाले विश्वकप जितेमा मेस्सीले रोनाल्डोलाई पछि पार्दै महान खेलाडीको रुपमा आफूलाई उभ्याउनेछन् ।

किनभने रोनाल्डोले विश्वकप जित्न सकेनन् । पोर्चुगलले मोरक्कोसँग क्वार्टरफाइनल हारेपछि रोनाल्डोले भावुक स्टाट्स लेख्दै विश्वकप जित्ने ठूलो सपना साकार पार्न नसकेकोमा दुःख व्यक्त गरिसकेका छन् ।

रोनाल्डोले युरोकप र नेसन्स लिग जितेका छन् । मेस्सीले कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई दिलाएका छन् । देशहरुमा को महान खेलाडी भन्ने लडाइ अब यो विश्वकप फाइनलसँगै टुंगिनेछ ।

किनभने मेस्सीले जितेको खण्डमा उनले रोनाल्डोभन्दा आफू महान खेलाडी भनेर प्रमाणित गर्नेछन् । यदि विश्वकप फाइनल फेरि पनि हारेमा उनी रोनाल्डो बराबर नै हुनेछन् ।

मेस्सीलाई कतार विश्वकपमा दोस्रो अन्तिम अवसर भनेको सर्वकालीन महान खेलाडी बन्नु हुनेछ । वर्तमान विश्वमा रोनाल्डो र मेस्सी नै सबैभन्दा उत्कृष्ट फुटबलर हुन् ।

जसलाई पेले र म्यारोडोनासँग दाज्ने गरिन्छ । फुटबलको पहिलो र पुरानो पुस्तामा पेले ब्राजिलका भए पनि विश्वमै सबैभन्दा धेरै चर्चित छन् । म्याराडोनाले अर्जेन्टिनालाई विश्वकप जिताएर जति चर्चित छन्, उनी गोल, फुटबल र विवादका कारण पनि त्यत्तिकै चर्चामा रहने गर्थे ।

तर अहिले म्याराडोना यो संसारमा छैनन् । पेलेले तीनपटक विश्वकप जितेका छन् । म्यारोडोनाले दुईपटक विश्वकप ट्रफी जितेका छन् । तर मेस्सी र रोनाल्डोले एकपटक पनि देशका लागि विश्वकप जित्न नसकेपछि उनीहरुलाई महान खेलाडी भन्नैपर्ने अवस्था विश्वका ठूला खेलाडीले मान्दैनन् । स्वयंम पेले र म्यारोडोनाले पनि उनीहरुलाई मनैदेखि महान भन्न रुचाउँदैनन् ।

तर यसपटक मेस्सीले विश्वकप जितेमा उनी सर्वकालीन महान खेलाडी हुनेछन् । त्यसमा पनि पेले, म्यारोडोनापछिकै सर्वकालीन महान खेलाडी । उनले यस मानेमा रोनाल्डोलाई पछि पार्ने छन् नै । आफ्नो जादू विश्वकप मैदानमा देखाएर ट्रफी उचाल्न सके, मेस्सीले सबै किसिमका सफलता र उपाधि हात पार्नेछन् । यसका लागि पनि मेस्सी कतार विश्वकप जित्नैपर्ने दबाबमा छन् ।

सर्वाधिक सातपटक बालोन डी’ओर जितेका मेस्सी क्लब फूटबलमा भने रोनाल्डोभन्दा पछाडि नै छन् । पाँच पटक मात्रै बालोन डी’ओर जितेपनि रोनाल्डोले पाँच पटक च्याम्पियन्स लिग जितेका छन् । जुन क्लब फुटबलमा सफलताको सबैभन्दा ठूलो मानक मानिन्छ । अनि च्याम्पियन्स लिगमा नै रोनाल्डोले सबैभन्दा धेरै गोल गरेका छन् ।

त्यति मात्रै होइन, रोनाल्डोले फरक फरक तीन वटा लिगमा १०० भन्दा धेरै गोल गरेका छन् । अनि तीन वटै ला लिगा, प्रिमियर लिग र सीरी ए लिग जितेका छन् । खेल कौशल र ट्रेडमार्कका हिसाबमा रोनाल्डो मेस्सीभन्दा धेरै अगाडि छन् ।

त्यो फ्रिकिक गोल गर्दा होस् वा पेनाल्टी नै । हेड गोल गर्दा होस् वा बाइसाइकल गोल । मेस्सीभन्दा रोनाल्डो अघि रहेका धेरै दृष्टान्त छन् ।

तर विश्वकप जित्न नसकेका कारण विश्वकपमा महान हुन नसकेका दुवै जनामध्ये अब मेस्सीमात्रै केन्द्रबिन्दुमा छन् । उनलाई जति अवसर छ, त्यो सीमित र स्वर्णिम अवसर छ ।

किनकी मेस्सी महान हुन् भन्ने कुरामा शंका छैन । तर सर्वकालीन महान हुन भन्नका लागि पनि मेस्सीले विश्वकप जित्नैपर्छ । यदि कतार विश्वकपमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई हराउँदै ‘गोल्डेन ट्रफी’ उचालेको खण्डमा मेस्सी महान हुनेछन् । साथै उनले गोल्डेन बल र बूट दुबै जित्ने सम्भावना पनि राखेका छन् ।

यदि मेस्सीलाई फेरि एकपटक स्तब्ध पार्दै फ्रान्सले विश्वकप जितेको खण्डमा भने युवा सुपरस्टार किलियन एमबाप्पेले पेलेको कीर्तिमान पछ्याउनेछन् । पेले सर्वाधिक तीन पटक विश्वकप जित्दा कतार विश्वकपमा जित निकालेको खण्डमा एमबाप्पेको नाममा दुई वटा विश्वकप जितेको कीर्तिमान हुनेछ ।

अहिले २३ वर्षका सुपरस्टार एमबाप्पेले अझै आउँदा कम्तीमा तीन वटा संस्करण खेल्ने सम्भावना छ । पीएसजीका आफ्ना महान खेलाडी मेस्सीलाई पछाडि पार्दै विश्वकप जित्ने सम्भावना अर्जेन्टिनाभन्दा फ्रान्सका लागि एमबाप्पेको धेरै छ ।


Author

थप समाचार
x