अर्थ / बाणिज्य

क्लिनफिडको एक वर्ष: विज्ञापन बजार अपेक्षित बढेन

कमल धिताल |
कात्तिक ७, २०७८ आइतबार १५:२५ बजे

काठमाडौँ- गत वर्ष कार्तिक ७ गतेदेखि सुरु भएको टेलिभिजनमा प्रसारण हुँदै आएका विदेशी विज्ञापन रोक्ने मापदन्ड क्लिनफिड लागू भएको एक वर्ष पुगेको छ । क्लिनफिडले नेपाली विज्ञापनको बजारमा यो वर्ष भने खासै प्रभाव पार्नसकेको छैन । सरकारले गत वर्ष देखि नेपाली टेलिभिनजमा अनिवार्य क्लिनफिड लागू गरेको थियो । 

नेपाली दर्शकले भारतीय टेलिभिजनमा बज्‍ने भारतीय विज्ञापन भने हेर्न परेको छैन । क्लिनफिडले नेपालको विज्ञापन बजार बढ्ने र भारतीय प्रडक्टको समेत विज्ञापन बज्‍ने आश गरिएता पनि निकै कम मात्र भएको देखिन्छ । भारतीय टेलिभिजन च्यानलमा बज्‍ने एउटै प्रोग्राम प्रमोशनले दर्शकलाई वाक्क बनाएको छ ।


नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष धुर्व शर्मा नेपालमा क्लिनफिड लागू गरेपछि नेपालमा सकारात्मक भन्दा नकारात्मक प्रभाव बढी परेको बताउँछन् । उनले क्लिनफिड लागू भएदेखि नेपालमा टेलिभिजनको दर्शक आधा कम भएको बताए । सबै राम्रो कन्टेन्ट जति ओटिपी प्लेटफर्ममा उपलब्ध छन दर्शकले किन टेलिभिजन हर्ने ?

सरकारले व्यावसायीलाई जबर्जस्ती क्लिनफिड लागू गराउन अत्यन्तै अपरिपक्‍व निर्णय गरेको छ यसले टेलिभिजनको दर्शक आधा घटाएको शर्मा बताउँछन । सरकारले डलर कार्ड सजिलै पाइने व्यवस्था गरी ५०० डलरसम्मको अन्तर्राष्ट्रीय भुक्तानी सहज बनाइदिएकालेनेटफ्लिक्स, सोनी लिभ अमेजन प्राइम भिडियो जस्ता ओटिपी प्लटफर्महरूको प्रयोग बढ्दा टेलिभिजन दर्शक कमि भएको र यस्तो अवस्थामा विज्ञापन व्यावसायीले टेलिभिजनमा विज्ञापन किन दिने ? शर्माको तर्क छ ।

विज्ञापन बोर्डका अध्यक्ष लक्षमण हुमागाईं नेपालमा क्लिनफिड लागू हुनाले नेपालको सार्वभौमिक तथा सांस्कृतिक अतिक्रमणमा कमी आएको बताउँछन । एक वर्षको तुलना गर्दा नेपालमा क्लिनफिडले सकारात्मक असर गरेको हुमागाईंको तर्क छ ।

'विश्वमा हाल सबै क्षेत्र राम्रोसँग सन्चालन हुन नसकेको अवस्थमा  नेपालमा विज्ञापन बजार बढ्ने कुरा त भएन तर यसले नेपाली विज्ञापनको बजारमा भने सकारात्मक प्रभाव पारेको छ । ३६ / ३७ अन्तर्राष्ट्रिय विज्ञापन ब्रान्ड नेपालमा आएको र कलाकार तथा विज्ञापन एजेन्सीले यसबाट प्रत्यक्ष फाइदा पुर्‍याउँछ' हुमागाईंले भने । बजार घटबढको लेखाजोखाको विषय भन्दा पनि नेपाली दर्शकले भारतीय विज्ञापनबाट मुक्ति पाएको हुमागाईंको भनाइ छ । 

उता क्लिनफिडको लागू गर्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपाल विज्ञापन संघका पूर्व अध्यक्ष निर्मलराज पौडेल भने क्लिनफिड लागू भएपछि कसैलाई पनि घाटा नभएको बताउँछन । नेपालमा क्लिनफिडको अवधारणा सुरु भएकाे धेरैसमय पछि नेपालमा लागू भएता पनि पूर्ण क्लिन लागू नभएको पाैडेल बताउछँन ।

'स्याटलाइटमा दुई फिड हुन्छ विज्ञापनसहित र विज्ञापन रहित । नेपालमा लागू भएको क्लिनफिड विज्ञापन सहितको हो खाली भारतीय विज्ञापन छोपेर एउटै मनोटोनस प्रोग्राम प्रमोसन गरेको छ । पूर्ण क्लिनफिड लागू भएमा दर्शकले कुनै पनि विज्ञापन हर्न पर्दैन' पौडेलले भने । यदि नेपालमा पूर्णक्लिनफिड लागू भएको अवस्थमा कुनै पनि व्यावसायी घाटमा जान्छन भने सरोकार निकाय मिलेर यसको समाधान निकाल्नुपर्ने उनकाे जाेड छ ।

'भारतीय च्यानलले कतार, दुबई मलेसियालगायतका मुलुकमा क्लिनफिडका च्यानलहरू प्रसारण गरिरहेका छन्,' उनले भने, 'शुल्क तिरेर हेर्ने हो भने सबै विदेशी च्यानल प्याकेजका रूपमा आवश्यकताअनुसार प्रयोगकर्ताले नै छानेर हेर्नसक्छन । यसबाट नेपाली विज्ञापन बजार बढ्नसक्छ ।'

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय प्रवक्ता विनोदप्रकाश सिंह एक वर्षको क्लिनफिड अवस्था सन्तोषजनक भएको बताउँछन । व्यावसायीले ओटिपी लगायतका विषय उठाएको र यसमा मन्त्रालयले केही बुँदा समेटेर यसअघि सूचना प्रकाशित गरेको र मन्त्रालयले अन्य ऐन पनि ल्याउने तयारी भैरहेको बताउँछन । टेलिभिजन र ओटिपी फरक कुरा भएको र एउटै नियमले सबैलाई समेटन नसकिने र यसको लागि मन्त्रालयले विस्तारै सम्बोधन गर्दै जाने बताए । 


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x