अर्थ / बाणिज्य

कोशी र मधेसमा विस्तार हुँदै ‘जाऔं’, राइड सेयरिंङमा आकर्षक अफर

इकागज |
बैशाख २, २०८१ आइतबार २०:४ बजे

इटहरी- कोशी प्रदेशमै पहिलो पटक सुनसरीको इटहरीबाट डेढ वर्षअघि फुड डेलिभरी सुविधा दिने गरी सञ्चालनमा आएको ‘जाऔँ’ ले सतप्रतिशत क्यास ब्याकसहितको राइड सेयरिङको अफर बजारमा ल्याएको छ ।

नयाँ वर्ष २०८१ को अवसरमा पारेर ‘जाऔँ’ ले सो सुविधा बजारमा ल्याएको जाऔँ सर्भिस प्रालिका प्रमुख कार्यकारी अधिकृत दुर्गेश चौधरीले बताए । 


सतप्रतिशत क्यास ब्याक अन्तर्गत यात्रुहरूले पहिलो पटक जाऔँको सुविधा लिएबापत तिरेको सम्पूर्ण रकम यात्रुकै वालेटमार्फत क्यास ब्याक गरिनेछ । यात्रु गन्तव्यमा पुगेपश्चात् सफलतापूर्वक यात्रा गरेको एसएमएस प्राप्त भएपश्चात् तत्कालै सतप्रतिशत क्यास ब्याक हुने चौधरीले बताए ।

दोस्रो पटकदेखि भने १० प्रतिशतसम्म क्यास ब्याक गरिने कम्पनीका कार्यकारी अधिकृत चौधरीको भनाइ छ । यात्रुले मोबाइलको प्लेस्टोरमा गएर जाऔँ को एप डाउनलोड गरेर चाहिए अनुसारको सुविधा लिन सक्नेछन् ।

कोशी प्रदेशका धरान, इटहरी, विराटनगर, दमक, बिर्तामोड, इनरुवा, झुम्कालगायतका मुख्य सहरहरूलाई लक्षित गरेर सञ्चालनमा आए पनि मधेस प्रदेशको वीरगन्ज र जनकपुरमा समेत यो राइड सेयरिङको अफर ल्याएको कम्पनीले जनाएको छ ।

अन्य राइड सेयरिंङ एपहरूभन्दा यात्रुहरूलाई जाऔँ एप प्रयोग गर्दा सहुलीयत पर्ने कार्यकारी अधिकृत चौधरीको भनाइ छ । जाऔँको एप प्रयोग गरेर राइड सुविधा लिएबापत प्रत्येक यात्रामा कम्पनीले पोइन्ट प्रदान गरी वालेटमा सोही अनुसारको पैसा फिर्ता गरिदिने व्यवस्था समेत मिलाएको छ ।

जाऔँले मुख्य सहरहरूमा एक सय भन्दा बढी राइडरहरूको रजिस्ट्रेसन गरिसकेको जनाएको छ । यात्रुहरूलाई छिटो, छरितो र भरपर्दो सेवा दिनका लागि आफूहरूले सुविधा विस्तार गर्दै लगेको जनाएको छ । राइड सेयरिङका लागि यात्रुहरूले मोटरसाइकल, अटो र कारमा सुविधा लिन सक्नेछन् ।
 


Author

थप समाचार
x