वातावरण

सरकारसँग बालबालिकाको आग्रहः जलवायु परिवर्तनले पारेको प्रभाव न्यूनीकरण गरिदिनुस्

इकागज |
मंसिर २७, २०८० बुधबार १७:२६ बजे

फाइल फोटो

काठमाडौँ - बालबालिकाहरुले जलवायु परिवर्तनका कारण बालबालिकाहरुमा परेको प्रभाव न्युनीकरणका लागि पहल गरिदिन सरोकारवाला निकायहरुसँग आग्रह गरेका छन् । 

बुधवार काठमाडौंमा सेभ द चिल्ड्रेनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले जलवायु परिवर्तनको असरका कारण बालबालिका र किशोरकिशोरीहरुमा विभिन्न खाले प्रभाव परेको भन्दै त्यसलाई न्युनीकरण गरिदिन सरोकारवाला निकायहरुसँग आग्रह गरेका हुन् । उनीहरुले जलवायु परिवर्तनका कारण युवा, किशोरकिशोरी र बालबालिकामा मानसिक चिन्ता बढेको समेत बताए । कार्यक्रममा सहभागी प्रज्ञा कार्कीले जलवायु परिवर्तनका कारण बालबालिकाहरु आफ्नो स्वस्थ खान पाउने अधिकारबाट समेत वञ्चित भएको बताइन् । उनले अहिले समाजमा खान नपाउनु मात्रै समस्या नभएको र स्वास्थ्यवद्र्धक खान नपाउनु पनि त्यत्तिकै ठूलो समस्या रहेको बताइन् । 


उनले भनिन्, ‘अन्न बाली नै नफलेपछि कसरी फलाउने ? के प्रयोग गरेर फलाउने ? त्यसपछि रासायनिक पदार्थको अत्याधिक प्रयोग किन नहुनु ? म ठूलो हुँदै गर्दा मेरो परिवारमा फलफूल र तरकारीमा धेरै नै कम निर्भर हुनुपर्दथ्यो । सकेसम्म गाउँबाट ल्याउने तरकारी र फलफूलमा बढी जोड दिनुहुन्थ्यो । अहिले हाम्रो समाजमा खान नपाउनु मात्रै समस्या होइन, स्वास्थ्यवद्र्धक खान नपाउनु पनि त्यत्तिकै ठूलो समस्या रहेछ ।’

त्यस्तै सेभ द चिल्ड्रेनका आयुष श्रेष्ठ जोशीले जलवायु परिवर्तनका कारण बालबालिका, किशोरकिशोरी र युवापुस्तमा परेको प्रभावबारे जानकारी राख्न र सरोकारवाला निकायमा आवाज उठाउनका लागि कार्यक्रम गरेको बताए । उनले सेभ द चिल्ड्रेनले बालबालिकाहरुको जीवनमा जलवायु परिवर्तनका कारण परेको असर र जनजीवनमा पारेको असरका बारेमा विगत दुई वर्षदेखि कार्यक्रमहरु गर्दै आएको बताए । उनले जलवायु परिवर्तनले बालबालिकाहरुमा परेको असरबारे नीति निर्माण गर्ने तह र देश तथा विदेशमा पनि बालबालिकाहरुको हक र हीतका लागि आवाज उठाइरहेको बताए । 

उनले भने, ‘हामीले जलवायु परिवर्तनमा युवा, किशोरकिशोरी र बालबालिकाको जिम्मेवारी र उहाँहरुलाई जलवायु परिवर्तनले कसरी असर पार्दैछ भनेर उहाँहरुकै आवाजमा सुन्ने कार्यक्रम हो । सेभ द चिल्ड्रेनले विभिन्न स्थानमा त्यहाँका बालबालिकाहरुको जीवनमा जलवायु परिवर्तनका कारण परेको असर र जनजीवनमा पारेको असरका बारेमा कुराकानी गरेका छौँ । कुराकानी गरेर मात्रै भएन, नीति निर्माण, देश, विदेशमा उहाँहरुको आवाज सुन्नुपर्छ भनेर कार्यक्रम गरेका हौँ । आज देशका मधेस, कर्णाली, वागमतीका बालबालिकाहरुले आफ्नो ठाउँमा जलवायु परिवर्तनले पारेको असरका बारेमा प्रश्तुतीकरण गर्नुभएको छ ।’

कार्यक्रममा कर्णाली, मधेस र वागमती प्रदेशका विभिन्न जिल्लाका बालबालिका, किशोरकिशोरी र युवाहरु सहभागी भएका छन् । उनीहरुले जलवायु परिवर्तनका कारण आफ्नो गाउँ ठाउँमा कृषि उत्पादनमा कमी, मानसिक एवं शारीरिक समस्या बढेको बताए । जलवायु परिवर्तनका कारण पानीबाट हुने संक्रमण बालबालिकाहरुमा तीव्र रूपले बढेको छ । जलवायु परिवर्तनले जीवन शैलीमा परिवर्तन र तीव्र वनविनाशका कारण मलेरिया, डेंगुजस्ता रोगको प्रकोप बढ्दै गएको र त्यसको शिकार बालबालिकाहरु हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । 


Author

थप समाचार
x