शिक्षा

खुल्ला प्रतिस्पर्धाबाट त्रिवि उपकुलपति चयन गर्न खुल्यो विज्ञापन

इकागज |
पुस २०, २०८० शुक्रबार ९:४० बजे

फाइल तस्बिर

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न दरखास्त आह्वान गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाका लागि आवेदन माग गरेको हो ।


यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयमा हुने राजनीतिक नियुक्तिको अन्त्य गर्दै मेरिटका आधारमा उपकुलपति छनौट गर्ने घोषणा गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री प्रचण्डको घोषणा कार्यान्वयन गर्दै सिफारिस समितिले योग्यता र अनुभवका आधारमा विश्वभरी रहेका नेपाली नागरिकबाट उपकुलपति चयन गर्ने प्रक्रिया आरम्भ गरेको हो ।

आज प्रकाशित सूचनाअनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि स्नातकोत्तर र विद्यावारिधि तहको शैक्षिक योग्यता भई विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तिमा तीन वर्ष काम गरेको हुनुपर्ने उल्लेख गरेको छ ।

यसैगरी आवेदकहरूले विश्वविद्यालय सुधारका लागि सोचपत्र तथा पाँच वर्षे व्यवसायिक कार्ययोजना समेत प्रस्तुत गर्नुपर्ने छ ।

प्रधानमन्त्री प्रचण्डले शैक्षिक गुणस्तर सुधारका लागि वार्षिक क्यालेण्डरलाई कडाइका साथ लागू गर्नुपर्ने तथा विश्वविद्यालयको प्राज्ञिक वातावरण निर्माण गर्न सबै विश्वविद्यालयलाई तत्काल कार्ययोजना पेश गर्नसमेत निर्देशन दिइसकेका छन् ।


Author

थप समाचार
x