शिक्षा

...अनि सुस्ताका बालबालिकाले विद्यालय शिक्षा पूरा गर्नै पाउँदैनन्

इकागज |
भदौ २४, २०८० आइतबार २१:५२ बजे

फाइल फोटो

मध्यविन्दु - नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्तामा कक्षा ८ भन्दामाथि अध्ययन गर्नका लागि विद्यालय नहुँदा पढाइ छाड्ने क्रम बढेको छ । 

सुस्ता गाउँपालिका–५ सुस्ता गाउँमा जनता दलित आधारभूत विद्यालयमा कक्षा ८ सम्म मात्र पठनपाठन हुने हुँदा त्यसपछिको अध्ययन निरन्तरताका लागि विद्यार्थीलाई समस्या हुने गरेको छ । तीन तिरबाट नारायणी नदी र एकतर्फ भारतले घेरिएको सुस्ता गाउँमा कक्षा ८ भन्दा माथि अध्ययन गर्नका लागि नेपालतर्फ आउन नारायणी नदीमा पुल नहुँदा विद्यार्थीहरू पठनपाठनबाट वञ्चित हुनुपरेको सुस्ता–५ का वडाध्यक्ष प्रभुनाथ अहिरले बताए । 


“यहाँका बालबालिका गाउँमा रहेको विद्यालयमा कक्षा ८ सम्म मात्रै अध्ययन गर्दछन्, त्यसपछिको पढाइ गाउँमा नभएकाले अधिकांश बालबालिका कक्षा ८ उत्तीर्ण गरेपछि विद्यालय जाँदैनन्”, उनले भने, “८ कक्षाभन्दा माथि अध्ययन गर्नका लागि नेपालतर्फ आउन नारायणी नदीमा पुल नहुँदा कठिन छ ।”

गाउँमा पढ्ने अवस्था नहुँदा र कक्षा बढ्दै जाँदा बालबालिकाले पढाइ पनि छाड्दै जानुपर्ने अवस्था छ । जसका कारण कक्षा १ मा भर्नादर उत्साहजनक भए पनि कक्षा ८ सम्म आइपुग्दा विद्यार्थी सङ्ख्या ह्वात्तै घट्ने गरेको पाइएको छ । जनता दलित आधारभूत विद्यालयमा कक्षा ८ सम्म हाल तीन सय ६० जना विद्यार्थीले अध्ययन गरेको विद्यालयका सहायक प्रधानध्यापक अरन्जेव खानले बताए । 

“विद्यालयमा विद्यार्थी भर्नादर पनि उत्साहजनक नै छ”, उनले भने, “भौगोलिक विकटता कारण कक्षा ८ उत्तीर्ण गरेपछि अधिकांश बालबालिकाले पढाइ छाड्छन् ।” जम्मा पाँच प्रतिशत बालबालिकाले मात्रै विभिन्न ठाउँमा गई कक्षा ८ पछिको पठनपाठनलाई निरन्तरता दिने गरेको उनले बताए । 

“यहाँका अभिभावकको आर्थिक अवस्था पनि कमजोर छ, बाहिर गएर पढ्ने अवस्था छैन, गाउँमै आठ कक्षाभन्दा माथि पढ्न नपाउने भएकाले मुस्किलले पाँच प्रतिशत बालबालिकाले मात्रै उच्च शिक्षासम्म अध्ययन गर्छन्”, उनले भने । 

अहिले कक्षा ८ सम्म सञ्चालन भइरहेको उक्त विद्यालयमा अहिले पनि शिक्षकको अभाव रहेको छ ।  केही अभिभावकले बालबालिकालाई सीमावर्ती भारतीय बजारका विद्यालयमा पढाउँदै आएका छन् । छोराछोरीलाई इच्छा हुँदाहुँदै पनि पढाउन नपाएको भन्दै सुस्तामै कम्तीमा कक्षा १२ सम्मको पठनपाठन हुनुपर्ने स्थानीय मुन्सि हरिजनले बताए । 

“यहाँ एसइई समेत दिन नपाउने अवस्था छ, यदि राज्य छ भने कम्तीमा १२ कक्षासम्म सुस्ता गाँउमै पढ्ने व्यवस्था मिलाउनुपर्छ”, उनले भने । 

अभिभावकले कक्षा थप गरी बालबालिकाले पढ्न पाउने अधिकारको सुनिश्चित गर्न माग गरिरहँदा सुस्ता गाउँपालिकाका शिक्षा शाखा प्रमुख चन्द्रबहादुर ठाडा मगरले सुस्ता गाउँमा कक्षा थप सम्बन्धमा कुनै योजना नभएको बताए । “त्यहाँ विद्यार्थीहरू माथिल्ला कक्षामा पुगेपछि विद्यालयनै आउँदैनन्, त्यसैले तत्कालै कक्षा थप गर्ने योजना छैन”, उनले भने, “कक्षा ८ सम्म सञ्चालनका लागि पनि शिक्षक अभावमा धौधौ भइरहेको छ ।” 

विद्यालयमा चार शिक्षकको दरबन्दी रहेको छ भने दुई जना गाउँपालिकाले थप गरी ८ कक्षासम्म सञ्चालन गर्दै आएको छ । नारायणी नदीमा निर्माणाधीन झोलुङ्गे पुलको काम पूरा भए सुस्ता गाउँका बालबालिका नारायणीवारि आएर पनि पठनपाठन गर्न सक्ने स्थानीयवासीले बताएका छन् । तर बालबालिकाले बीचैमा पढाइ छाड्ने प्रवृत्तिको अन्त्य गर्न सुस्ता गाउँमै रहेको विद्यालयमा कक्षा थप भए सहज हुने उनीहरूको भनाइ छ ।  
रासस


Author

थप समाचार
x