शिक्षा

राष्ट्रिय पुस्तकालय निर्माण निर्वाध ढंगले अगाडि बढाइनेछ : शिक्षामन्त्री

इकागज |
भदौ १५, २०८० शुक्रबार १७:३३ बजे

काठमाडाैँ–  शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले नेपाल राष्ट्रिय पुस्तकालय निर्माण कार्यलाई निर्वाध ढंगले अगाडि बढाउन पहल थाल्ने बताएका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित १६ औं पुस्तकालय दिवस २०८० को अवसरमा शिक्षामन्त्री राईले पुस्तकालय भवन निर्माणमा देखिएको बाधा अड्चनलाई हटाएर राष्ट्रिय पुस्तकालय निर्माण कार्यलाई अगाडि बढाइने बताएका हुन् ।


मन्त्री राईले पुस्तकालय निर्माणको काममा आइपरेका अवरोधलाई प्रकृयासंगत रुपमा अगाडि बढाइने बताए ।

उनले अहिले युवाहरूमा पठन संस्कृतिको अभाव भएको भन्दै युग अनुकूल पुस्तकालयहरूलाई उन्नत गर्दै लैजानुपर्ने देखिएको बताए । मन्त्री राईले केन्द्रीय पुस्तकालय निर्माण भनेर बजेट विनियोजन गरिए पनि निर्माण कार्यमा अवरोध सृजना भएको बताए ।

मन्त्री राईले भने, ‘केन्द्रीय पुस्तकालय किन नबनेको होला भन्ने प्रश्न उठ्यो । म आउँदा समस्या टाँगिएको देखियो । पैसा त अहिले पनि छुट्टिएको छ । साथीहरूले बताउनु भए अनुसार त्यो पैसा खर्च गर्न मिल्ने छैन रे ।'

'कानुनी व्यवधानहरू र मुद्दा मामिला चल्यो  । मन्त्रालयमा बजेटको ब्रिफिङ गर्ने बेलामा केन्द्रीय पुस्तकालय निर्माण भनेर पैसा छुट्टिएको छ । कहाँ बन्दैछ भनेर प्रश्नलाई बनाउनै नमिल्ने अवस्था भएकाे कुरा आयो,' उनले भने, 'सर्वोच्च अदालतको फैसलाले हामीलाई केही प्रकृया पूरा गर  भनेको अवस्था रहेछ । त्यो प्रकृया पूरा गर्ने बेला टेबलमा फाइल आइपुग्यो भनेर सचिवज्युले मलाई भन्नुभयो ।'

उनले बाधा अड्चनहरूलाई हटाएर केन्द्रीय पुस्तकालय निर्माणलाई निर्वाध ढंगले अगाडि बढाउने संकल्प समेत गरेका छन् । 

मन्त्री राईले पुस्तकालय दिवसलाई काठमाडौं केन्द्रित नभएर पुस्तकालय भएका स्थानमा पनि मनाउनुपर्ने बताए । पुस्तकालय दिवसले युवा पुस्तालाई ज्ञान आर्जन गर्न पुस्तक पढ्नुपर्छ भन्ने धारणाको विकास गर्न मद्दत पुग्ने शिक्षामन्त्री राईको भनाइ छ ।

पुस्तकालय दिवसको अवसरमा उत्कृष्ट पाठकको रुपमा गोदावरीकी रुक्मिणी चालिसे र पुस्तकालयकर्मी जोगप्रसाद पाण्डेलाई सम्मान गरिएको थियो ।


Author

थप समाचार
x