कूटनीति

इजरायली कूटनीतिज्ञ गोडेर, जो फेरि नेपाल फर्किए

६ वर्षअघि नेपाल छोड्‍ने बेला उनले भनेका थिए, ‘म जहाँ भए पनि सम्झना त नेपालकै रहिरहनेछ । जति बसेँ, मस्त र दंग रहेँ ।’

चन्द्रशेखर अधिकारी |
मंसिर १६, २०७७ मंगलबार २०:० बजे

तस्बिरहरू : राजदूतको फेसबुकबाट

काठमाडौँ : ‘नेपालीहरू निकै मेहनती छन् । तर, मेहनत अनुरूपको फल पाउन सकेका छैनन्,’ आफूलाई नेपालीको साथी भन्‍न रुचाउने इजरायली कूटनीतिज्ञ हनान गोडेर गोल्डबर्गरले सात वर्षअघि भनेका थिए । उनी नेपालको जुन भागमा पुग्थे, त्यहाँ भन्थे, ‘नेपालको यो उर्वर भूमिमा नेपालीले एउटा गोलभेडाको बोटमा मुस्किलले तीन किलो गोलभेडा फलाएको पाएँ । हामी त्यो सुख्खा भूमिका ३० किलो फलाउँछौँ । अब आधुनिक कृषिमा लाग्‍न आवश्यक छ ।’ उनी नेपालीको मेहनत धेरै र उपलब्धि कम भएको पुष्टिसहितको उदाहरण यसरी दिन्थे ।


उनको यो तथ्य कहिलेकाहीँ इजरायलका पूर्वराजदूतले भनेको भन्दै बताउने गरिन्थ्यो । अब उनै कूटनीतिज्ञलाई पूर्वराजदूत भन्‍न आवश्यक परेन । उनी पुनः राजदूतको जिम्मेवारीमा काठमाडौँ ओर्लिसकेका छन् । गत बिहिबार उनी काठमाडौँ आइपुगेका हुन् । उनले आउँदो बिहीबार आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रस्तुत गर्दैछन् । नेपालमा राजदूतकै रूपमा दोहोर्‍याएर आएका उनी सम्भवतः पहिलो कूटनीतिज्ञ हुन् । फरक भूमिकामा भने दोहोर्‍याएर आएका हुन्छन् तर राजदूतकै पदमा त्यो पनि ६ वर्षको अन्तरमा दोहोर्‍याएर आएको भेटिएको छैन । 

नेपालबाट बाहिर भने दोहोर्‍याएर गएका सूची छन् । उनी पहिलो कार्यकालमा रहँदा नेपालको धेरै भूभाग घुमे । नेपालले आफूलाई मोहित पारेको त्यतिबेलै बताउँथे । उनले फर्कने बेलामा भनेका थिए, ‘म अन्य मुलुकमा भए पनि सम्झना त नेपालकै रहिरहनेछ । जति बसेँ, मस्त र दंग रहेँ । केही गर्न प्रयास पनि गरेँ ।’

भूगोल र जीवशास्त्र अध्ययन गरेका उनी कूटनीतिका पनि कुशल अध्येता हुन् । उनले नेपालमा रहँदा यहाँको परम्परागत कृषि क्षेत्रको अध्ययन गरे । त्यही सिलसिलामा नेपाली भाषा सिके । काम चलाउ होइन राम्रै नेपाली बोल्छन्, उनी । उनी कतै नेपालीकाे खेतमा पुग्दा  ठट्टा शैलीमा आफुलाई दिलबहादुर समेत भन्थे । त्यतिबेला नै नेपालीहरूलाई इजरायलको आधुनिक कृषि सिकाएर नेपालमा उत्पादन बढाउनुपर्ने बताउँथे । नेपालीहरूलाई इजरायलको कृषि अध्ययनमा उत्साहितसमेत गरेर नेपाल फर्काएर काम गराउनेमा उनी जुटे । 

उनले नेपालमा धान रोपे, खेत/पाखो खने, हलो जोत्‍नसमेत सक्ने भएका उनी नेपालको धेरै जिल्ला पुगेका थिए । उनले ‘कागजी कृषिप्रधान’ देश नेपालमा कृषि र पर्यटनको अपार सम्भावना रहेको भन्दै त्यसमा जोड दिन पटक-पटक अन्तक्र्रिया र लबिङसमेत गरेका थिए । अहिले कैँयन् क्षेत्रमा तिनै नेपालीले गरेको आधुनिक कृषि नियाल्न उनी पुग्‍नेछन् । उनी यहाँ आउनु अघिदेखि नै उनीहरूको सम्पर्कमा रहेका उनै कूटनीतिज्ञले नेपालको विकासमा कृषिको महत्वपूर्ण भूमिका रहने बताएका थिए । उनले नेपाली नीति-निर्माताको तहमा रहेकालाई पनि यो परम्परागत खेती प्रणालीलाई परिवर्तन गर्न सुझाउँथे, त्यतिबेला ।

उनको समयमा नीति-निर्माता तहमा रहेकालाई इजरायलले आधुनिक खेतीमा मारेको फड्को देखाउन समेत इजरायल पठाएका थिए । तर, पनि नेपालीले त्यसमा अझै धेरै गर्नुपर्ने धारणा उनले नेपालबाट गएका राजदूतहरूसँग त्यहाँ भन्‍ने गर्थे । ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि अन्य भेटघाटमा सार्वजनिक हुने उनले नेपाल-इजरायल सम्बन्ध सुमधुरतामा काम गर्नेछन् । नेपालले जेरुसेलमको विषयमा दिएको भोटपछि चिढिएको इजरायलले पुरानो मित्रराष्ट्र नेपालबाट दूतावास नै हटाउनेसम्मको तयारी गरेको भए पनि त्यसमा पुनर्विचार गरेका थिया । उनी ओहोदाको प्रमाणपत्र बुझाएपछि यस्ता सबै विषयमा औपचारिक रूपमा बोल्लान् । इजरायलले पछिल्लो समय दक्षिण एसिया र पश्‍चिम एसिया (खाडी) मा आफ्नो ‘फोकस’ बढाउँदै गर्दा नेपालमा पूर्वराजदूतलाई नै पठाएको हो ।

बेनी ओमर आफ्नो कार्यकाल सम्पन्न गरेर फर्केपछि उनको स्थानमा गोडेर आएका हुन् । उनको नाम दुई महिनाअघि नै तय भएको थियो । ६० वर्षे गोडर असोज पहिलो साता नै नेपाल आउने तयारीमा थिए । तर कोभिड-१९ को कारण यतिबेला काठमाडौँ आएका हुन् । उनले नेपालबाट फर्केपछि केही समय विदेश मन्त्रालयमा रहेर काम गरे । त्यसपछि उनी दक्षिण सुडानमा राजदूतका रूपमा कार्यरत थिए । नेपालमा राजदूत नियुक्त हुनुअघि उनी दक्षिण सुडानमा आफ्नो जिम्मेवारी सकेर जेरुसेलम फर्केका थिए । उनी सन् २०११-२०१४ मा पनि नेपालमा राजदूतको भूमिकामा थिए । त्यतिबेला उनी आफ्नै सरकारको नीतिविरुध्द दूतावासमै धर्ना बसेर चर्चित बनेका थिए । २०१४ को मार्चमा उनले इजरायली अर्थ मन्त्रालयले अख्तियार गरेको नीतिविरुध्द धर्ना बसेर कूटनीतिक ऐक्यबध्दता जनाएका थिए ।

आफ्ना विदेशस्थित कूटनीतिक नियोगमा कार्यरत राजदूत तथा कर्मचारीलाई बदलिँदो समयअनुसार पारिश्रमिक-भत्तालगायत सुविधा उपलब्ध नगराएको विरोधमा संसारभरका इजरायली दूतावासमा धर्ना बसेका थिए । उनले त्यतिबेला भनेका थिए, ‘विश्‍वभरका एक सय दुई मुलुकमा रहेका एक हजारभन्दा बढी कूटनीतिक कर्मचारीहरू धर्नामा छन् ।’ धर्नाका कारण सेवाग्राहीले प्रवेशाज्ञा लगायत सेवा दिन नसकेकामा दुःख व्यक्त गरेका उनै राजदूत नेपाल र इजरायलको धागो जोड्न अब फेरि लागिपर्नेछन् । नेपालमा पश्‍चिमा भर्सेस चीनको अवस्थामा उनको उपस्थिति र सहकार्यले कुन रूप लिने हो, आगामी दिनमा स्पष्ट हुँदै जानेछ ।  


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x