कूटनीति

चीनको चासोमा आईपीएस

नेपाली सेनासँग सघन सहकार्य खोज्दै चीन

चन्द्रशेखर अधिकारी |
मंसिर १५, २०७७ सोमबार ९:१७ बजे

काठमाडौं : चिनियाँ स्टेट काउन्सिलर एवं रक्षामन्त्री वेइ फेङहे नेपाल चीन सम्बन्धभित्रको रक्षा रणनीति एवं सहकार्यबारे दुईपक्षीय छलफल सकेर अर्को छिमेकतर्फ लागेका छन् । क्‍वाड (अमेरिका, भारत, जापान र अस्ट्रेलिया) सहकार्यको चिन्तामा परेको चीनले आफ्नो छिमेकसँग सहकार्यमा बढवा दिने नीति अनुरुप नेपाल भ्रमणमा आएका हुन । वेइ​ आठ घण्टा 'म्याराथुन भेटघाट' पछि त्यसतर्फ लागेका हुन् ।

नेपाल र चीनबीचको सुरक्षा सम्बन्धलाई थप सुदृढ र सैन्य सहायता अभिवृद्धिमा उनको जोड थियो । रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा उनको भमण भएको हो । यद्यपि उनलाई तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलले चीन भ्रमणको समयमा नै निमन्त्रणा दिएका थिए । रक्षामन्त्री वेइले नेपाल र चीन सम्बन्धबारे दुईपक्षीय वार्ता प्रधानसेनापति पूर्णचन्द्र थापासँग गरे पनि मुख्य राजनीतिक वार्ता प्रधानमन्त्री ओलीसमक्ष गरेका हुन् ।


प्रधानमन्त्री ओलीसँगको वार्तामा उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि सहभागी थिए । उप्रधानमन्त्री पोखरेल र उनीको तीन संयोगसँगै रहेको विषय पनि चर्चामा रहेको थियो । पोखरेल र वेइको जन्म एकै वर्ष (१९५२) रहेको थियो । कम्युनिष्ट पार्टीको सदस्यता पनि एउटै वर्ष (१९७२) मा लिएका थिए भने रक्षामन्त्री पनि एकै वर्षको एउटै साता (२०७४ फागुन १५मा पोखरेल र फागुन २२मा वेइ)  भएका थिए । वेइजिङमा रक्षामन्त्री वेइले पोखरेललाई स्वागत गरे पनि यहाँ उनीसँग दुईपक्षीय वार्ता समेत छुट्टै हुन पाएन । किनकि वेइ भन्दा अगावै रक्षामन्त्रीबाट पोखरेल विदा भएर प्रधानमन्त्री कार्यातलय तथा मन्त्रिपपरिषद् हेर्ने जिम्मेवारीमा रहे । तर प्रधानमन्त्रीसँगैको भेटमा त्यो विषयले प्रशंसासमेत भएको थियो ।

गम्भीर विषयसँगै यस्ता स्मरणले बैठक हल्का ‘रिफ्रेस’ जस्तो रहेको सहभागीले बताए । रक्षा मन्त्रालयको कार्यभार सम्हालेका प्रधानमन्त्री ओलीले चीनले नेपालमा संचार, रेल, पूर्वाधार, विद्युत्, आर्थिक र सामाजिक क्षेत्रको विकासमा सहयोग निरन्तर रहेको भन्दै खुशी व्यक्त गरेको उनका सल्लाहकार डा. राजन भट्टराईले बताए । नेपाल समृद्धिका क्षेत्रमा चीनको विकास र सफलताबाट सिक्न चाहेको कुरा प्रधानमन्त्रीले दोहोर्‍याएका थिए । चिनियाँ मन्त्री वेइले नेपालसँग भएका सम्झौताको कार्यान्वयनको सन्दर्भमा चीनमा कुनै समस्या नरहेको भन्दै यताको ढिलाइबारे प्रश्न गरेका थिए ।

भेटमा प्रधानमन्त्रीले ढिलाई हुनुको कारणबारे आफूले बुझ्‍ने भन्दै आफ्नातर्फ हेरेका थिए । दुवै मुलुक शान्तिका पक्षमा रहेकाले कुनै एक र अर्को मुलुकसँगको सम्बन्धमा तेस्रो मुलुकको सम्बन्ध जोड्न नहुने धारणा ओलीले रक्षमन्त्रीसमक्ष राखेका थिए । सल्लाहकार डा. भट्टराईका अनुसार, मन्त्री वेइले चीन क्षेत्रीय र अन्तरराष्ट्रिय शान्तिका पक्षमा समेत रहेको धारणा राख्दै शान्तिको क्षेत्रमा नेपालको सहकार्य रहने बताएका थिए ।

वर्तमान विश्व परिदृष्य र भारत-चीन सम्बन्ध तथा भारत अमेरिका सम्वन्ध, इन्डो प्यासिफिक रणनीति (आईपीएस) को बीचमा चीनले देखाएको छिमेक दौड आफैमा अर्थपूर्ण छ । नेपालबाट दुई पटक रक्षामन्त्रीको तहमा चीनतर्फ भ्रमण भए पनि चीनबाट यस्तो भ्रमण भएको थिएन । यसैले बेइजिङले राष्ट्रपति सि चिनफिङको भ्रमणको समयमा भएको सम्झौता कार्यावन्यनमा छलफल गर्न उनको भ्रमण भएको जनाए पनि मुख्य चिन्ता इन्डो प्यासिफक रणनीति र भारतको प्रभाव नै रहेको निश्कर्ष परराष्ट्र मन्त्रालयका अधिकारीको छ । भारत र चीनको सम्बन्धमा देखिएको टकरावले दुवैको तानातानमा नेपाल परेको हो । भारत, अमेरिकी शिविरमा प्रवेश गरेको चीनले रुचाउँदैन, तर त्यसको सन्तुलन मिलेको छैन ।

यही परिदृष्यमा भारतको छिमेकमा चीनले आफ्नो उपस्थिती बढाएको हो । एक्काइस सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट आइतबार बिहान काठमाडौँ ओर्लेका चिनियाँ रक्षा मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षामन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री पोखरेललगायतसँग उनले शिष्टाचार भेट गरे । आफ्नो दूतावासमा केही खास व्यक्तिहसँग छुट्टै गफ पनि गरेका थिए । उनको यो भ्रमण निकै अर्थपूर्ण रणनीतिक मानिएको छ । चीनमा सिपछिको शक्तिशाली व्यक्तिको आठघण्टे उक्त भ्रमणले नेपालमा चीनको उपस्थिती मात्र होइन निकै चासो रहेको संकेत गरेको छ ।

रक्षामन्त्रीको समकक्षी प्रधानसेनापतिलाई बनाइनुले चीनले रक्षा सहकार्य सेनासँग सघन बनाउने देखिएको हो । अन्य मुलुकमा भन्दा चीनमा अध्ययन गर्न जाने सैन्य अधिकारी बढ्दो छन् । वेइको स्वागत गृहमन्त्री रामबहादुर थापाले गरेका थिए । उनको भ्रमण कार्यगत तथा सदभावना भनिए पनि छिमेकसँग चीनको अन्तरक्रिया बढाउने भ्रमणको रुपाम सरकाले लिएको छ । चिनियाँ राष्ट्रपति सीको राजकीय भ्रमण पूरा भएको एक वर्षको अन्तरालमा उनका भ्रमण भएको हो । नेपालमा अर्को छिमेकीको लगातार भ्रमण भइरहँदा र कोभिड-१९ को कहरको बीचमा उनको भ्रमण हुनु सामान्य भने होइन ।

भारतीय विदेश सचिवपछिको वेइ भ्रमण
नेपाल र भारत परराष्ट्र सचिवस्तरीय वार्ता भए लगत्तै नेपाल आएका कारण पनि भ्रमणको चर्चा फरक दृष्टिबाट भएका छन् । भारतले नेपाललगायत छिमेकलाई सुरक्षा सल्लाहकार मार्फत नियाल्ने गर्छ । भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणे मानार्थ सेनापति पद ग्रहण गर्नका लागि भएको नेपाल भ्रमण र त्यसअघि गुप्तचर निकाय रअका प्रमुख सामन्तकुमार गोयलको भ्रमणपछि भारतीय सचिव हर्षवर्द्धन श्रृंगला नेपाल आएका थिए ।  त्यस लगत्तै चिनियाँ रक्षामन्त्रीको भ्रमण हुनले नेपालको भूराजनीतिमा छिमेकी चासो छचल्किएको छ ।

नेपाल-चीनबीच सन् १९५५ मा कूटनीतिक सम्बन्ध कायम भएको थियो । त्यसपछि अघि बढेको नेपाल चीन सम्बन्ध आफैँमा पुरानो भने होइन । नेपालको सम्बन्ध तिब्बतसँग थियो, तर चीनसँग तिब्बत विलयसँगै चीन नेपालको छिमेकी बनेको हो । चीन यसअघि नेपालमा देखिने गरी भन्दा पनि फरक शैलीबाट सहकार्य गर्ने गर्थ्यो, तर पछिल्लो समयमा सिँधा सहकार्यमा जोड दिएको छ ।

हुन त, यसप्रकारका भ्रमणले नेपाल-चीन सम्बन्ध मात्र होइन उनीहरुको शिविरमा रहेका मुलुकसँगको सम्बन्धमा पनि सुधार ल्याउने छ । अर्कोतर्फ परस्पर विरोधीकोमा पनि त्यो प्रकारको सहकार्य हुन सक्नेछ । मैत्रीपूर्ण सहयोगको परम्परा र उच्चस्तरीय भ्रमण आदान-प्रदानले सम्वन्धमा निखारता ल्याउने हुनाले सबै खाले भ्रमणमा हामीले जोड दिनुपर्छ । यद्यपि ति भ्रमणहरु आफ्नो दल वा व्यक्तिको स्वार्थमा केन्द्रित नहोस् । नेपालको विकासका ‘एजेण्डा’ लाई छिमेकी टेको भनिरहेको अवस्थामा ‘हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल संरचना’ अन्तगरगतको कार्य अघि बढाउन जोड दिइएको बताई पनि कुन तहमा कहाँ सहकार्य स्पष्ट छैन । चीनसँग स्वभाविक सहकार्यको लागि मुख्य नाका ब्यवस्थित हुन र रेल सेवाको सहकार्य अघि बढ्न आवश्यक रहेको सुझाव परराष्ट्र मन्त्रालयले दिएको थियो ।

बन्दरगाह, सडक, रेलमार्ग, हवाई यातायात तथा सञ्चारजस्ता महत्वपूर्ण संरचना अघि बढाउने उनको विस्तार गर्न ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’अन्तर्गत सहयोगका परियोजना कार्यान्वयनमा ल्याउने कार्य अलमलमा छ । नेपाललाई अति कम विकसित मुलुकबाट स्तरोन्नति गरी सन् २०३० सम्ममा मध्यम आययुक्त मुलुक बनाउने तथा दिगो विकासका लक्ष्य प्राप्त गर्न चीन मात्र होइन अन्य मुलुकहरूको सहयोग नेपाललाई आवश्यक छ ।

चीनले यहाँ प्रतिरक्षा, सुरक्षाजस्ता संवेदनशील मामिलाको विषयमा बढी छलफल भएको र कतिपयमा सहकार्यको प्रस्ताव चीने राखेको छ । एक चीन नीतिप्रति नेपालको लगातार बचन बद्धता र तिब्बत र ताइवान चीनको भूभाग रहेको विषय दोहोर्‍याएको नेपालले चीनको ठोस सहयोग अझै पाउन नसकेको बताउँदै आएको छ । उनको भ्रमणपछि कोरोनाबाट स्थगन नेपाल चीन सैन्य अभ्यास सुचारु हुने भएको छ । कानून कार्यान्वयन गर्ने निकायबीच सूचना आदान-प्रदान, सैन्य क्षमता अभिवृद्धि, नेपाली सेनालाई प्रशिक्षण, जनमुक्ति सेना र नेपाली सेनाबीचको संयुक्त अभ्यासको निरन्तरता पाउने भएका छन् ।

सैन्य अभ्यास र प्रशिक्षण सुचारु हुनेछ : जंगी अड्डा रक्षामन्त्री वेइ नेतृत्व प्रतिनिधि मण्डललाई नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाबारे छोटो श्रव्य/दृश्य सामग्री प्रस्तुत गरिएको थियो । तत्पश्चात चिनियाँ प्रतिनिधिमण्डल र नेपाली सेनाबीच आपसी हितका विषयहरुमा छलफल भएको जंगी अड्डाले जनाएको छ । मुख्यतः कोभिड-१९ महामारीका कारण प्रभावित भएका तालिम तथा शिक्षार्थी आदान-प्रदानका कार्यहरुलाई सूचारु गर्ने सहमति बैठकमा भएको छ । चीनले नेपाली सेनासँगको सहकार्य र साझेदारीलाई थप सुदृढ तुल्याउन पाँच करोड युआन बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । नेपाली सेनाको क्षमता अभिवृद्धि, उसलाई आवश्यक पर्ने प्रतिरक्षा सामग्री तथा कोभिड-१९ महामारीविरुद्धको प्रतिकार्यका निम्ति उक्त रकम प्रदान गर्ने घोषणा गरेको हो ।

विगतमा भएका सहमति सैनिक सहायता प्राप्ति सम्बन्धी प्रगतिबारे दुवैतर्फबाट समीक्षा भएको थियो । परराष्ट्र मन्त्रालयको समेत उपस्थितिमा भएको उक्त छलफलमा समस्या र सहकार्य हुन नसकेको पाटोमा बहस भएको थियो । कोभिडले गरेको असर र त्यसमा नाकामा नेपालीले भोग्नु परेको समस्या पनि परेका थिए ।

रक्षामन्त्री वेई र उनको प्रतिनिधिमण्डलले समग्र विषयहरुलाई सकारात्मक रुपमा लिएका छन् । आगामी दिनमा उच्चस्तरीय भ्रमण लगायतका द्धिपक्षीय सहयोगका कार्यहरु यथाशिघ्र सुचारु गर्ने आश्वासन पनि उनले ब्यक्त गरेका थिए । वेई ले नेपाली सेनाको कोभिड-१९ महामारीविरुद्धको प्रतिकार्यको सहयोगका लागि समेत प्रतिबद्धता व्यक्त गरेका थिए । चिनियाँ रक्षामन्त्रीको भ्रमणले दुई मुलुकका सेनाबीच रहँदै आएको सौहार्दपूर्ण सम्बन्धलाई सुमधुर, मजबुत एवं विस्तार गर्न बल मिलेको सेनाले जनाएको छ । राष्ट्रपतिसँगको भेटमा भ्रमणमा भएका सम्झौताबारे छलफल मात्र होइन कसरी अघि बढ्ने भन्ने विषयमा समेत छलफल भएको थियो ।

र, यो पनि
- चीनद्वारा पाँच करोड युआन बराबरको अतिरिक्त सैन्य सहयोगको घोषणा
- चिनियाँ रक्षामन्त्री वेइले भेटे राष्ट्रपति र प्रधानमन्त्री
- जंगी अड्डामा चिनियाँ रक्षामन्त्रीको सम्मान (तस्बिरहरू)
- ८ घण्टे नेपाल भ्रमणबारे यसो भन्छन् चिनियाँ रक्षामन्त्री वेइ
 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x