क्रिकेट

नेपाल टी-ट्वान्टी विश्वकपमा छनोट हुँदाको खुसी

सञ्जीव शाह |
कात्तिक १७, २०८० शुक्रबार १६:४६ बजे

तस्बिरः क्यान

काठमाडौँ- नेपालले दोस्रो पटक आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप खेल्ने सुनिश्चित भइसकेको छ ।

आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप एसिया क्षेत्रीय छनोटअन्तर्गत शुक्रबार युनाइटेड अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै नेपालले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपमा स्थान सुरक्षित गरेको हो ।


यसअघि सन् २०१४ मा बंगलादेशमा भएको टी-ट्वान्टी विश्वकप खेलेको नेपालले १० वर्षपछि पुनः विश्वकप खेल्ने भएको हो ।

एसिया क्षेत्रीय छनोटअन्तर्गत शुक्रबार मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको सेमिफाइनलमा नेपालले यूएईमाथि ८ विकेटको विशाल जित हात पार्दै विश्वकपमा स्थान सुरक्षित गर्‍यो ।

एक दशकपछि नेपालले पुनः विश्वकप खेल्ने भएपछि नेपाली टिमलाई सबैले बधाई तथा शुभकामना दिइरहेका छन् ।

सोही क्रममा समर्थकदेखि पूर्व क्रिकेटर तथा नेपाललाई दोस्रो पटक विश्वकपमा पुर्‍याएका खेलाडीहरूले विभिन्न माध्यमबाट खुसी व्यक्त गरेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले विश्वकपमा छनोट भएकोमा नेपाली क्रिकेटसँग जोडिएका सबैलाई बधाई दिएका छन् ।

सन् २०१४ को विश्वकपमा नेपाली टिमको कप्तानी गरेका तथा नेपाल क्रिकेट संघ (क्यान) का वर्तमान सचिव पारस खड्काले नेपाली क्रिकेट टिमको सपना झन ठूलो र उत्कृष्ट हुँदै गएको भन्दै सामाजिक सञ्जालमा एक पोस्ट गरेका छन् ।

नेपाली टिमले यूएईमाथि शानदार जित हात पार्दा बलिङतर्फ कुशल मल्लले सर्वाधिक ३ विकेट हात पारे भने सन्दीप लामिछानेले २ तथा कप्तान रोहित पौडेल र सोमपाल कामीले १-१ विकेट लिए ।

ब्याटिङमा भने आशिफ शेखले सर्वाधिक ६४ रनको योगदान गर्दा कप्तान रोहित पौडेलले ३४, गुल्सन झाले २२ तथा कुशल भुर्तेलले ११ रनको जोडे ।

आफ्नै घरेलु मैदानमा यूएईलाई पराजित गर्दै विश्वकपमा पुग्दा नेपाली टिमको सफलताका साक्षी हजारौँ थिए ।

विश्वकपमा छनोट भएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका अर्का पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पनि विश्वकपको सपना पूरा भएको धारणा राखे ।

उनले नेपाली टिमका लागि जस्तोसुकै अवस्थामा पनि हजारौँ दर्शकहरूले समर्थन गरेको भन्दै क्रिकेटप्रतिको लगावको यस्तो सुन्दर कथा अरु कुनै हुन नस्कने भन्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

मल्लले यसपटक क्रिकेटको मैदान भन्दा बाहिर रहेर यादगार यात्राको अनुभव लिएको उल्लेख गरेका छन् ।

पूर्व क्रिकेट संजम रेग्मीले पनि टी-ट्वान्टी विश्वकपमा पुगेमा नेपाली टिमका कप्तान रोहित पौडेलसँगै प्रशिक्षक मोन्टी देसाई तथा अन्य खेलाडीलाई बधाई दिएका छन् ।

उनले नेपाली टिमले उत्कृष्ट खेलेको तथा नेपाली खुसी दिएकोमा बधाई दिएका छन् । रेग्मीले कहिलेकाँही टस हार्नु पनि राम्रैका लागि हुने गरेको उल्लेख गरे ।

त्यसैगरी, नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी महत्वपूर्ण सदस्य अश्मिना कर्माचार्यले पनि विश्वकपका लागि छनोट भएकोमा नेपाली पुरुष टिमलाई बधाई दिएकी छन् ।

उनले एक दशकपछि विश्वकपका लागि छनोट भएकोमा नेपाली टिमलाई बधाई दिइन् ।

यता यूएईविरुद्धको सेमिफाइनल खेलेका अविनाश बोहराले विश्वकपमा छनोट हुनु एउटा टिमका लागि यो भन्दा ठूलो खुसी अरु केही नभएको बताएका छन् ।

उनले विश्वकपमा सहभागी हुन आतुर रहेको तथा विश्वकपमा सबथोक लगाएर खेल्ने वाचा समेत गरे ।

पूर्व क्रिकेटर अमृत भट्टराईसँगै सुवास खकुरेलेले पनि आफ्नो भावना पोख्न भ्याए । उनीहरूले पनि नेपाली टिमलाई विश्वकपमा छनोट भएकोमा बधाई दिए ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x