क्रिकेट

अर्को विश्व कीर्तिमाननजिक सन्दीप लामिछाने

सञ्जीव शाह |
कात्तिक १३, २०८० सोमबार १६:३३ बजे

काठमाडौँ- नेपाली लेग स्पिनर सन्दीप लामिछाने अर्को विश्व कीर्तिमाननजिक पुगेका छन् । लामिछाने टी-ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक कम खेलमा एक सय विकेट लिने कीर्तिमाननजिक पुगेका हुन् ।

नेपालमा जारी आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप एसिया क्षेत्रिय छनोटअन्तर्गत सिंगापुरविरुद्ध नेपालले ८ विकेटको जित हात पार्दा लामिछानेले २ विकेट लिए । यससँगै लामिछानेले ४८ टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ९१ विकेट हात पारिसकेका छन् ।


टी-ट्वान्टी अन्तर्राष्ट्रियमा एक सय विकेट पूरा गर्न लामिछानलेलाई केवल ९ विकेट आवश्यक छ । तर विश्व कीर्तिमान कायम गर्न लामिछानेले आगामी चार खेलमा ९ विकेट हात पार्नुपर्ने हुन्छ ।

नेपालमा जारी विश्वकप छनोटअन्तर्गत नेपालले फाइनलसम्मको यात्रा तय गरे नेपालले अझै कम्तिमा पनि चार खेल खेल्नेछ । सो चार खेलमा लामिछानेले ९ विकेट हात पारेको खण्डमा विश्व कीर्तिमान कायम गर्नेछन् ।

हाल अफगानिस्तानका बलर राशिद खानको नाममा सबैभन्दा कम ५३ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा एक सय विकेट लिने कीर्तिमान रहेको छ ।

यसअघि लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा एक सय विकेट हात पार्ने विश्व कीर्तिमान कायम गरेका थिए ।

लामिछानेले एकदिवसीयमा विश्व कीर्तिमान कायम गर्न राशिद खानलाई नै पछि पारेका थिए । लामिछानेले ४२ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा एक सय विकेट पूरा गरेका थिए ।

यसअघि राशिद खानले ४४ एकदिवसीय खेलमा एक सय विकेट लिने कीर्तिमान कायम गरेका थिए ।

लामिछानेले नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय ३ विकेट हात पारिसकेका छन् । उनले एकदिवसीयमा १ सय १२ तथा टी-ट्वान्टीमा ९१ विकेट लिएका छन् ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x