क्रिकेट

नेपालका लागि एसिया कप : ह्याट्रिक कीर्तिमानमाथि थपिन सक्छ अर्को कीर्तिमान

सञ्जीव शाह |
भदौ १३, २०८० बुधबार ९:२५ बजे

काठमाडौँ- एसीसी एसिया कपको उद्घाटन खेलमा आज पाकिस्तानविरुद्ध खेल्दै गर्दा नेपालका लागि कीर्तिमानले भरिएको हुनेछ ।

समूह ‘ए’ मा रहेको नेपालले पाकिस्तानविरुद्ध खेल्दै एसिया कपमा डेब्यू गर्नेछ । यसअघि सन् २००२ मा छनोट भएर पनि भारत र पाकिस्तानबीचको विवादका कारण नेपालले पहिलो पटक एसिया कप खेल्ने अवसर गुमाएको थियो ।


तर यसपटक भने आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको शीर्ष स्थानमा रहेको पाकिस्तानविरुद्ध खेल्दै नेपालले एसिया कपमा डेब्यू गर्दैछ । नेपालले यसअघि एकदिवसीयको शीर्ष वरीयतामा रहेको टिमसँग खेल्ने अवसर पाएको थिएन ।

नेपालका लागि एकदिवसीयमा पाकिस्तानविरुद्ध पनि डेब्यू खेल नै हुनेछ । यदि पाकिस्तानलाई हराउन सकेको खण्डमा नेपालले पहिलो पटक टेस्ट राष्ट्रलाई एकदिवसीयमा हराउने कीर्तिमान कायम गर्नेछ । नेपालले टेस्ट राष्ट्रहरु जिम्बाब्वे, वेस्ट इन्डिज र आयरल्यान्डविरुद्ध खेले पनि जित्न सकेको छैन । 

नेपालले दोस्रो खेल श्रीलंकामा भारतविरुद्ध खेल्दैछ । भारत पनि अहिले एकदिवसीय वरीयताको तेस्रो स्थानमा छ ।

नेपालले अहिलेसम्म भारतको सिनियर टोलीविरुद्ध खेल्ने अवसर पाएको थिएन । नेपालका लागि एकदिवसीयमा भारतविरुद्ध डेब्यू खेल हुनेछ ।

यता पाकिस्तानविरुद्ध खेल्दै गर्दा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ५० औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछन् ।

त्यसैगरी, एकदिवसीयमा १ सय ११ विकेट तथा टी-ट्वान्टीमा ८५ विकेट हात पारेका सन्दीपले केवल चार विकेट हात पारे २ सय अन्तर्राष्ट्रिय विकेट लिने पहिलो नेपाली खेलाडी बन्नेछन् ।

यता पाकिस्तानविरुद्ध ३१ रन जोड्न सके नेपाली टिमका कप्तान रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार ५ सय रन पूरा गर्ने पहिलो क्रिकेटर बन्नेछन् । उनले ५२ खेलमा १ हजार ४ सय ६९ रन बनाएका छन् ।

त्यसैगरी, एकदिवसीयमा ८ सय ७६ रन तथा टी-ट्वान्टीमा १ हजार १ सय ३ रन बनाएका दिपेन्द्र सिंह ऐरीले पाकिस्तानविरुद्ध ४० रन बनाउन सके उनी नेपालका लागि २ हजार अन्तर्राष्ट्रिय रन बनाउने पहिलो खेलाडी बन्नेछन् ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x