क्रिकेट

एसिया कपः नेपालका लागि टेस्ट राष्ट्रलाई पराजित गर्ने अर्को अवसर

सञ्जीव शाह |
भदौ ११, २०८० सोमबार १२:३० बजे

काठमाडौँ- एसिया कपमा डेब्यु गर्दै गर्दा नेपालसामू टेस्ट राष्ट्रलाई कुनै पनि फर्म्याटमा पहिलोपटक पराजित गर्ने अवसर मिल्नेछ ।

पाकिस्तान र श्रीलंकामा अगस्ट ३० तारिखबाट सुरु हुने एसिया कपमा नेपालले एकदिवसीय वरीयताको शीर्षमा रहेको पाकिस्तान र तेस्रो स्थानमा रहेको भारतको सामना गर्दैछ ।


एसिया कपमा खेल्दै गर्दा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले टेस्ट राष्ट्रविरुद्ध चौँथो तथा पाँचौँ खेल खेल्नेछ ।

एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले हालसम्म केवल तीन देशविरुद्ध खेल्ने अवसर पाएको छ । तर तीनवटै खेलमा नेपालले पराजयको सामना गर्नुपरेको छ ।

गत जुनमा जिम्बाब्वेमा भएको आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत नेपालले टेस्ट राष्ट्रविरुद्ध तीनवटा एकदिवसीय खेलेको थियो ।

जसमध्ये आयोजक जिम्बाब्वेविरुद्ध ८ विकेटको पराजय भोग्दा वेस्ट इन्डिजसँग १ सय १ रनको हार भोगेको थियो । त्यसैगरी, आयरल्यान्डविरुद्ध नेपाल २ विकेटले पराजित भएको थियो ।

त्यसैले एसिया कप नेपालका लागि एकदिवसीयमा टेस्ट राष्ट्रलाई पराजित गर्ने अर्को अवसर हो । एसिया कपमा नेपालले आयोजक पाकिस्तानविरुद्ध मुल्तानमा अगस्ट ३० मा खेल्दैछ ।

त्यसैगरी, समूह चरणको दोस्रो तथा अन्तिम खेल नेपालले भारतविरुद्ध श्रीलंकामा सेप्टेम्बर ४ मा खेल्ने तालिका रहेको छ ।

एसिया कपमा नेपालले भारत वा पाकिस्तानमध्ये एक टिमलाई पनि पराजित गरेको खण्डमा नेपालले टेस्ट राष्ट्रलाई पहिलो पटक पराजित गरेकाे कीर्तिमान कायम गर्नेछ ।

पाकिस्तान जानुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेलले पनि भारत र पाकिस्तान दुवै टोलीविरुद्ध अप्रत्यासित नतिजा निकाल्ने चाहना रहेको बताएका थिए ।

कप्तानको भनाइ मान्ने हो भने नेपालले एसिया कपमा जितका लागि खेल्ने सुनिश्चित छ ।

तर भारत र पाकिस्तानजस्ता बलिया टिमविरुद्ध आफ्नो पक्षमा नतिजा ल्याउनु नेपालका लागि फलामको च्युरा चपाउनु सरह नै हुनेछ । त्यसै पनि नेपालले पाकिस्तान र भारतको सिनियर टोलीविरुद्ध पहिलोपटक खेल्दैछ र जित निकाल्नु भने ठूलै चुनौतीको सामना गर्नु हो ।

नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले पनि पाकिस्तान र भारतसँगै एउटै समूहमा रहेर एसिया कप खेल्नु नेपाली खेलाडीका लागि सिक्ने ठूलै अवसरका रुपमा मात्र भएको बताउँदै आएका छन् ।

देशाईले नेपालले पाकिस्तान वा भारतविरुद्ध जित्न निकाल्न सक्ने सम्भावनालाई भने नजरअन्दाज पनि गर्दै आएका छन् । उनले पाकिस्तानी संचारकर्मीसँगको कुराकानीका क्रममा पनि नेपालले भारत वा पाकिस्तानलाई पराजित गर्छ भनेर भन्न नसकिने बताएका थिए ।

‘नेपालका धेरै खेलाडीहरूले टेलिभिजन स्क्रिनमा मात्र यी शीर्ष स्तरका क्रिकेटरहरूलाई हेर्ने अवसर पाएका छन् । उनीहरूका लागि यो ठूलै अवसर हो,’ देशाईले थपे । ‘नेपालले जित्छ भनेर म भन्न सक्दिनँ ।’


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x