क्रिकेट

कप्तान रोहित भन्छन् : नेपालले वर्षौंदेखि विश्वकप छनोटको तयारी गरिरहेको थियो

सञ्जीव शाह |
असार २, २०८० शनिबार १५:६ बजे

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटको उद्घाटन खेलमा नेपालले भोलि (आइतबार) आयोजक जिम्बाब्वेको सामना गर्ने भएको छ । समूह ‘ए’ मा रहेका नेपाल र घरेलु टोली जिम्बाब्वेबीचको खेल हरारे स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार दिउँसो १२:४५ बजेबाट सुरु हुनेछ ।

जिम्बाब्वेविरुद्ध मैदानमा उत्रँदा नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो पटक टेस्ट राष्ट्रको सामना गर्नेछ । नेपालले यसअघि एकदिवसीय अन्तर्राष्ट्रियमा कुनै पनि टेस्ट राष्ट्रविरुद्ध खेल्ने अवसर पाएको थिएन ।


नेपालले हालसम्म नामिबिया, नेदरल्यान्ड्स, ओमान, पपुवा न्यूगिनी, स्कटल्यान्ड, युनाइटेड अरब इमिरेट्स र अमेरिकाविरुद्ध मात्र खेलेको छ । त्यसैले जिम्बाब्वेविरुद्धको खेल नेपालका लागि ऐतिहासक पनि हुनेछ ।

यसअघि सन् २०१८ मा जिम्बाब्वेमै भएको विश्वकप छनोटमा नेपालले आयोजक जिम्बाब्वेविरुद्ध खेलेपनि नेपालसँग एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता नभएका कारण उक्त खेल ‘लिस्ट ए’ खेलको रुपमा मात्र रहेको थियो । नेपालले उक्त खेल १ सय १६ रनले हारेको थियो ।

तर, पछिल्ला एकदिवसीय खेलमा नेपालले गरेको प्रदर्शन तथा बढेको नेपाली खेलाडीको आत्मविश्वासका कारण नेपालले जिम्बाब्वेविरुद्ध सुखद सुरुवात गर्ने अपेक्षा गरिएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा कप्तान रोहित पौडेलले पनि नेपालले लामो समयदेखि विश्वकप छनोटका लागि तयारी गरिरहेको तथा यसका लागि नेपालले कडा मेहनत गरेको बताए ।

‘विगत दुई वर्षदेखि हामीले यस प्रतियोगिताका लागि निकै मेहनत गरिरहेका थियौं र अन्ततः हामीले यो अवसर पाएका छौ,’ आईसीसीसँगको कुराकानीमा कप्तान रोहितले भने ।

रोहितले नेपालले पाएको अवसरलाई सदुपयोग गर्न चाहेको समेत बताए । ‘हामी यस अवसरलाई सम्मान गर्छौं र हामी यसको सक्दो सदुपयोग गर्न चाहन्छौ । हामी सबै राम्रा क्रिकेट राष्ट्रहरूसँग खेल्न पाउँदा धेरै उत्साहित छौ र प्रतियोगिताको लागि पर्खिरहेका छौ,’ उनले थपे ।

विश्वकप छनोटअघिको अभ्यास खेलमा नेपालले स्कटल्यान्ड, नेदरल्यान्ड्स र यूएईसँग पराजित भएपनि अन्तिम खेलमा ओमानलाई पराजित गरेको थियो । तर नेपालले खेलेका पछिल्ला ८ वटै एकदिवसीय अन्तर्राष्ट्रिय खेल जितेको छ । अझ नेपालले १४ एकदिवसीय अन्तर्राष्ट्रियमध्ये १ खेलमा मात्र पराजय भोगेको छ ।

त्यसैले नेपालसँग अभ्यास खेलमा भोगेको पराजयलाई बिर्सेर अघि बढेर एकदिवसीय अन्तर्राष्ट्रियमा हात पारेको जितको निरन्तरतालाई कायम गर्न सक्छ ।

तर, घरेलु टोली जिम्बाब्वेविरुद्ध जित हात पार्न नेपाललाई त्यति सजिलो भने पक्कै हुनेछैन । घरेलु मैदान तथा घरेलु समर्थकको साथ पाएको जिम्बाब्वेले छनोटअघि खेलेका दुवै अभ्यास खेल जितेको थियो । उसले ओमन र स्कटल्यान्डलाई अभ्यास खेलमा पराजित गरेको थियो ।

त्यसअघि जिम्बाब्वेले नेदरल्यान्ड्सविरुद्धको ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज २-१ ले आफ्नो पक्षमा पारेको थियो ।

जिम्बाब्वेका कप्तान क्रेग इर्भिनले पनि प्रतियोगिताका लागि जिम्बाब्वेको तयारी उत्कृष्ट भएको बताए । ‘प्रतियोगिताका लागि उत्कृष्ट तयारी गरेका छौ । यो एक उत्कृष्ट प्रतियोगिता हुनेछ,’ इर्भिनले भने ।

नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन २०, वेस्ट इन्डिजविरुद्ध जुन २२ तथा नेदरल्यान्ड्सविरुद्ध जुन २४ मा खेल्ने तालिका रहेको छ ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x