क्रिकेट

मेयर्स कप क्रिकेटः सुदूरपश्चिममाथि एपीएफको जित

इकागज |
चैत १०, २०७९ शुक्रबार १३:७ बजे

काठमाडौँ- ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गर्दै दोस्रो जित हात पारेको हो ।

यसअघि पहिलो खेलमा एपीएफले मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको थियो । सुदूरपश्चिमले भने पहिलो खेलमा ललितपुर मेयर्स-११ लाई ५१ रनले पराजित गरेको थियो ।


शुक्रबारको खेलमा १ सय २२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६ रनमात्र जोड्न सक्यो । सुदूरपश्चिमका लागि कविता कुँवरले सर्वाधिक ५१ रन जोडेपनि त्यो जितका लागि पर्याप्त भएन । कविता जोशीले अविजित २६ रन जोडिन् ।

एपीएफका लागि सुमन विष्टले २ तथा सिता राना मगर र इन्दु बर्माले एक-एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय २१ रन जोड्यो । एपीएफका लागि कप्तान सिता राना मगरले अविजित ५२ रनको योगदान गरिन् । इन्दु बर्माले ४५ तथा ज्योती पाण्डेले १३ रन जोडे ।

सुदूरपश्चिमका लागि इश्वरी विष्टले एक विकेट हात पारिन् ।


Author

थप समाचार
x