क्रिकेट

कस्तो छ सन्दीपको क्रिकेट यात्रा ?

इकागज |
असोज २०, २०७९ बिहीबार १३:११ बजे

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने बलात्कारको आरोपमा बिहीबार पक्राउ परेका छन् । एक नाबालिगलाई बलात्कार गरेको आरोपमा सन्दीप पक्राउ परेका हुन् ।

खासमा २२ वर्षीय सन्दीपले छोटो समयमै कुनै पनि नेपाली खेलाडीले पाउन असम्भव जस्तो देखिने सफलता प्राप्त गरे । विश्वभरीकै फ्रेन्चाइज्ड लिग खेल्ने अवसर पाउनु, करोडौ आम्दानी अनि नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान जस्तो जिम्मेवारी, यो सबै सन्दीपले निकै छोटो समयमै पाएको सफलता हो । 


तर सफलता प्राप्तिसँगै उनी पछिल्लो समय विवादित समेत बन्दै आएका थिए । अझ बलात्कारको आरोप लागेपछि सन्दीपले विदेशी फ्रेन्चाइज्ड लिगमात्र गुमाएका छैनन्, नेपाल क्रिकेट संघ (क्यान) ले उनको जिम्मेवारी खोस्नुका साथै उनलाई निलम्बन समेत गरेको छ । 

स्थायी घर स्याङ्जा भएका सन्दीप ६ वर्ष अगाडि अर्थात् सन् २०१६ मा १६ वर्षकै उमेरमा नेपाली राष्ट्रिय क्रिकेट टिममा स्थान बनाए । बंगलादेशमा भएको आईसीसी यू-१९ क्रिकेट विश्वकपका क्रममा आयरल्यान्डविरुद्ध ह्याट्रिक लिएपछि उनको चर्चा चुलियो । 

त्यसपछि उनले सन् २०१६ को हङकङ टी-ट्वान्टी ब्लिज खेल्दा गरेको प्रदर्शनका कारण अष्ट्रेलियन क्रिकेटर माइकल कलार्कले अष्ट्रेलियामा क्रिकेट खेल्ने अवसर जुराइदिए । 

सन् २०१८ मा सन्दीप इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सका लागि आवद्ध भए । आईपीएल खेल्ने उनी पहिलो खेलाडी बने । उनी सन् २०२० सम्म दिल्लीमा आवद्ध भए । 

२०१८ मै उनले क्यारेवियन प्रिमियर लिग, ग्लोबल टी-ट्वान्टी क्यानाडा, बीग बास लिग तथा बंगलादेश प्रिमियर लिग खेल्ने अवसर पाए । सन् २०१९ मा पाकिस्तान सुपर लिगका लागि छनोट भए । विदेशी लिगहरुको यात्रा अझैसम्म जारी थियो । तर बलात्कारको आरोप लागेपछि उनलाई भर्खरै क्यारेवियन प्रिमियर लिग क्लबले टिमबाट निकाल्यो ।

त्यतिमात्र नभएर क्यानले गत डिसेम्बरमा सन्दीपलाई नेपाली राष्ट्रिय टिमको कमान्ड दिएको थियो । सन्दीपकै कप्तानीमा नेपालले ओमानमा आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप छनोट खेल्यो भने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ पनि खेलिरहेको थियो । 

सन्दीपले ३० वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै ६९ विकेट लिएका छन् । उनले एकदिवसीयको एकै इनिङ्समा ११ रन खर्चेर सर्वाधिक ६ विकेट हात पारेका छन् । ४४ टी-ट्वान्टी अन्तर्राष्ट्रियमा ८५ विकेट हात पारेका सन्दीपले एकै इनिङ्समा ९ रन खर्चेर सर्वाधिक ५ विकेट लिएका छन् । 

तर बलात्कार आरोपपछि उनी निलम्बनमा परेका छन् । अब उनले नेपाली टिममा तत्काल स्थान बनाउन सबैभन्दा पहिला निर्दोष प्रमाणित हुनु पर्नेछ । 
 


Author

थप समाचार
x