कला

अन्तत: सकियो ‘रामकहानी’बाट सुरु भएको पूजा र आकाशको प्रेमकहानी

इकागज |
असार १३, २०७८ आइतबार १०:२९ बजे

काठमाडौं :  ‘रामकहानी’बाट सुरु भएको पूजा शर्मा र आकाश श्रेष्ठको प्रेमकहानी अन्ततः सकिएको छ । पूजाले एक टेलिभिजन अन्तर्वार्तामा आकाशसँग सम्बन्ध सकिएको संकेत गरेकी हुन् । त्यसअघि आकाश पूजाको दुश्मनी रहेका चलचित्र पत्रकार प्रकाश सुवेदीसँग मिल्न गएपछि दुवैबीच ४ वर्ष लामो सम्बन्ध औपचारिक रुपमा सकिएको अनुमान गरिएको थियो ।

पूजा र आकाशको सम्बन्ध लामो समयदेखि ‘अन एन्ड अफ’ चलिरहेको थियो । केही समयअघि पनि एउटा टेलिभिजनमा सँगै अन्तर्वार्ता दिएका उनीहरू नबोली नबोली फर्किएका थिए । उसबेला इकागजले पूजा शर्मालाई 'आकाशसँग सम्बन्ध सकिएको हो ?' भन्ने प्रश्न गर्दा आकाशले माफी मागिसकेकाले कुरा मिलेको जवाफ दिएकी थिइन् ।


सोही समयमा उनले आकाशसँग झगडा पर्ने र मिल्ने कुराको कुनै टुंगो नभएको बताएकी थिइन् । तर, यो पटक भने दुवैको मन राम्ररी नै भाँचिएको छ । खासगरी आकाश प्रकाश सुवेदीसँग मिल्न गएपछि पूजा आहत भएकी छिन् । 

‘फोटो देखेपछि म जसरी विवादको बेला तर्सिएको थिएँ, उसैगरी तर्सिएँ । साथी हुन्थ्यो भने मलाई नराम्रो गरेको मान्छेसँग कसरी मिल्न सक्थ्यो,’ उनले भनेकी छिन् । उनले उद्योगको वा बाहिर कसैसँग पनि अफेयर नभएको पनि दाबी गरेकी छिन् । 

अघिल्लो लकडाउनकै समय चलचित्रसम्बन्धी कार्यक्रम ‘रजतपट’का सञ्चालक प्रकाश सुवेदीले पूजालाई ‘दाह्रा निस्किएकी नायिका’ भनेपछि प्रकाश सुवेदी र पूजाबीच विवाद भएको थियो । पूजाले  ‘रजतपट’ प्रसारण हुने एपीवान टेलिभिजनमा उजुरी दिएपछि प्रकाश सुवेदीले माफी मागेर विवाद सुल्टिएको थियो । तर, पनि दुवैबीच शीतयुद्ध जारी थियो । यही समयमा आकाश प्रकाश सुवेदीसँग मिल्न गएपछि उनीहरूको ब्रेकअपले मूर्तरुप लिएको अनुमानलाई बल पुगेको हो ।

दुवैबीचको ब्रेकअपको कारण भने खुलेको छैन । तर, आकाश निकट स्रोतले आकाश पूजासँग रहँदा गुम्सिएको महसुस गरिरहेको र आकाशको सहने सक्ने क्षमताले सीमा नाघेपछि अलग्गिएको जानकारी गरायो ।

‘आकाश आफैं भने कम बोल्ने र सोझो मान्छे हो । तर, पूजा भने जोसँग पनि ठाकठुक परिरहने । यसरी पूजाको दुश्मनलाई आकाशले पनि दुश्मन बनाउनु पर्ने । पूजासँग हुँदा आकाश अरुसँग खुलेर बोल्न पनि नपाउने अवस्था थियो,’ स्रोतले भन्यो, ‘आकाशले सहुन्जेल सह्यो नसकेपछि बाटो लागेको हो ।’

हुनत पूजा र आकाशले मुखैले भने सार्वजनिक ठाउँमा आजसम्म आफू प्रेमिप्रेमिका रहेको स्वीकार गरेका थिएनन् । तर, फिल्म उद्योगका सदस्यबीच भने उनीहरूको प्रेम लुकेको थिएन । 

पूजा र आकाशको भेट ‘रामकहानी’को सेटमा भएको थियो । पल शाहले अन्तिम समयमा आएर धोका दिएपछि यो फिल्म आकाशको प्रवेश भएको थियो । तर, सुटिङ सेटमै पूजा र आकाश नजिक भएका थिए । त्यसयता उनीहरूले ‘सम्हालिन्छ कहिले मन’, ‘सम्झना बिर्सना’ लगायतका फिल्म र  दर्जनौं म्युजिक भिडियोमा सँगै काम गरेका छन् । दुवैको ब्रेकअप भएपछि दुवैले लिएर बनेका फिल्मको पब्लिसिटीलाई भने प्रत्यक्ष असर पर्ने भएको छ । 
 


Author

थप समाचार
x