विश्व

फिजीमा लडे चिनियाँ र ताइवानी

एजेन्सी |
कात्तिक ३, २०७७ सोमबार १९:५६ बजे

तस्बिर : एजेन्सी

फिजीमा चिनियाँ र ताइवानी प्रतिनिधिमण्डलका सदस्यहरु एकआपसमा भिडेको खबर विदेशी सञ्‍चार माध्यमहरुले उल्लेख गरेका छन् । दुई मुलुकबीच सम्बन्ध बिग्रिरहेका बेला प्रशान्त महासागरको दक्षिणी तटमा रहेको फिजीमा कूटनीतिज्ञहरु भिडेका हुन् । रोयटर्सका अनुसार उनीहरुको टाउकोमा चोट लागी अस्पताल भर्ना गरिएको छ ।

गत ८ अक्टोबरमा ताइवानको राष्ट्रिय दिवस मनाउन फिजीको राजधानी सुभस्थित ग्रान्ड प्यासिफक होटलमा एक कार्यक्रम आयोजना गरिएको थियो । त्यहाँ चिनियाँ दूतावासका दुई कर्मचारी जर्बजस्ती प्रवेश गरी उपस्थित पाहुनाको फोटो र भिडियो खिच्‍न थालेपछि स्थिति तनावपूर्ण बनेको थियो । हात हालाहालसम्म पुगेको बेलायती अखबार गार्डियनमा उल्लेख छ । सो कार्यक्रममा फिजीका दुई मन्त्रीदेखि विभिन्‍न मुलुकका कुटनीतिज्ञ, अन्तराष्ट्रिय सघंसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको जनाइएको छ । 
 
ती दुई चिनियाँ अधिकारीहरुलाई कार्यक्रमस्थल छाड्न अनुरोध गरिएको तर नमानेको दाबी गार्डियनले गरेको छ । त्यसपछि ती दुई चिनियाँ र ताइवानी अधिकारीबीच होटल बाहिर झगडा सुरु भएको र दुबै पक्षका घाइते भएका थिए ।


होटलमा प्रहरी आइपुगेको तर चिनियाँहरुले आफूहरु कुटनीतिज्ञ रहेको जनाएपछि पक्राउ नगरिएको बताइएको छ । सुभस्थित चिनियाँ राजदुतावासले विज्ञप्ति जारी गर्दै आफ्ना कर्मचारीमाथि लागेको आरोप निराधार रहेको बताएको छ । सोही वक्तव्यमार्फत् उसले आफ्नो कामको सिलसिलामा सार्वजनिक स्थानमा हिंडिरहेका आफ्ना कर्मचारीमाथि ताइवानी दूतावासका कर्मचारीहरुले एक्कासि आक्रमण गरेको दाबी गरेको छ । चिनियाँ राजदुतावासले ताइवानलाई राष्ट्रिय दिवस मनाउन दिएर फिजीले एक चीन नीतिको उल्लघंन गरेकोसमेत बतायो । 

ताइवानको फिजीमा ‘टेड्र अफिस’ रहेको छ, जुन दूतावास सरह हो । गार्डियनले स्रोतको उद्धृत गर्दै ताइवानले फिजीको विदेश मन्त्रालयलाई चिनियाँ कार्यको विरोध गर्दै पत्र लेखेको जनाएको छ ।  यता फिजी प्रहरीका अनुसार चिनियाँ दूतावासले ताइवानी अधिकारीहरुविरुध्द उजुरी दर्ता गरेको छ । 

सोमबारको ताइवानी संसदमा बोल्दै उपविदेश मन्त्री सेङ हो जेनले फिजीस्थित आफ्नो प्रतिनिधि कार्यलयबाट दुई चिनियाँहरू कार्यक्रममा घुसपैठ गर्न खोजेको रिपोर्ट आएको बताएका थिए ।

एक चीन नीतिमा प्रतिवध्द रहेको भनिएको फिजीका मन्त्रीहरू नै ताइवानी कार्यक्रममा उपस्थित हुनुलाई नयाँ विकसित घटनाका रुपमा लिइएको छ । सन् २०१९ सम्म फिजीको ताइवानसँग औपचारिक सम्बन्ध रहेको थियो । फिजीसँगै सोलोमन आइल्यान्डस, किरिबाटीले ताइवानसँग औपचारिक सम्बन्ध तोड्दै चीनतर्फ ढल्केका थिए । प्रशान्त महासागरका अन्य टापु मुलुकहरु नाउरु, पलाउ, मार्शल आइल्यान्डस र टुभालु लगायतका मुलुकहरु भने ताइवानकै साथमा छन् ।   

चीनले फिजीमा पछिल्लो पाँच वर्षमा एक अर्ब डलरभन्दा धेरै लगानी गरेको परिप्रेक्ष्यमा सो देशका क्याबिनेट मन्त्रीहरु नै ताइवानी कार्यक्रममा उपस्थित हुनु नौलो घटना हो ।  
 

दि गार्डियन र रोयर्टसको सहयोगमा 


 


Author

थप समाचार
x