विश्व

थाइल्यान्डमा आन्दोलन जारी

एजेन्सी |
कात्तिक ३, २०७७ सोमबार १८:४५ बजे

तस्बिरः एएफपी/रासस



थाइल्यान्ड सरकारले जारी आन्दोलनलाई निस्तेज पार्न निशेधाज्ञा जारी गर्‍यो । तर त्यसले आइतबार हजारौको संख्यामा रहेका सरकार विरोधीलाई सडकमा आउन बाट रोक्न सकेन । निशेधाज्ञा जारी गरिएको चौथो दिन पनि आन्दोलनकारीहरु सडकमा सरकार विगठन र राजसंस्थाको सुधारको नारासहित सडका देखिए ।
 
प्रधानमन्त्री प्रायुथ चानओचाका प्रवक्ता अनुचा बुरापचाइसिरीले सरकार आन्दोलन देशव्यापी नबनोस भन्‍नेमा सचेत रहेको र अन्दोलनकारीसँग वार्ता गर्न तयार रहेको जनाउ दिएका छन् ।
 
प्रहरीले दर्जनौ आन्दोलनकारी तथा उनीहरुका नेतालाई गिरफतार गर्ने, उनीहरु माथि पानीको फोहोरा फ्याक्ने र राजधानी बेङककको रेल बन्द गर्नेसम्मका काम गरेको छ । तर त्यति हुँदाहुँदै पनि तीन महिना लामो आन्दोलन रोकिएको छैन । आइतबारको प्रर्दशनमा हाम्रा साथीहरुलाई छाड् भनेर लेखिएका प्लेकार्डहरु देखाइएको थियो । प्रहरीले पक्राउ गरेर राखेका आन्दोलनकारी नेताहरुको फोटो सहितको ब्यानर प्रर्दशनमा राखिएको थियो ।
 
मानवअधिकारकर्मीका अनुसार अक्टोबर १३ यता पक्राउमा परेका ८० आन्दोलनकारीलाई छाडिएको छ । अझै २७ जना भने हिरासतमै छन् । प्रहरीले भने कतीजना हिरासतमा छन् भनेर खुलाएको छैन । प्रवक्ता बुरापचाइसिरी, आन्दोलन देशमा शान्ति नचाहने तत्वको हातमा जाने खतराले प्रधानमन्त्री चिन्तित रहेको दाबी गर्छन् । ‘सरकार आन्दोलनकारीसँग तत्काल वार्तामा बस्‍न चाहन्छ,’ उनले भने ।
 
हङकङमा आन्दोलन स्थल तय गर्न, आन्दोलनकारीलाई परिचालन गर्न र आवश्यक सूचना आदनप्रदान गर्न जसरी सामाजिक सञ्‍जालको प्रयोग गरिएको थियो त्यसरी नै थाइल्यान्डमा पनि सामाजिक सञ्‍जालको प्रयोग भइरहेको छ । ‘हामी माग पुरा नहुन्जेलसम्म आन्दोलन रोक्नेवाला छैनौ,’ डी नाम गरेका एक २५ वर्षीय आन्दोलकारीले भने । आन्दोलनकारीले शहरका मूख्य भागहरुमा प्रहरीलाई इङगित गर्दै ‘तानाशाहको जुत्ता चाट्दा आनन्द आउछ’ भन्‍ने प्रश्‍न सोधिएका प्लेकार्डहरू प्रर्दशनमा राखिएको थियो ।
  
थाइल्यान्डमा राजा र राजसंस्था माथि गरिने टिप्पणीले १५ वर्ष सम्म जेल सजाय हुने व्यवस्था छ । तर आन्दोलकारीहरुले त्यसको प्रववाह नगरी राजसंस्थाको अधिकार कटौती गर्नुपर्ने माग राखिरहेका छन् । ‘जबसम्म राजसंस्थाको सुधार गरिदैन तबसम्म थाइल्यान्डका जनताले साच्चैको प्रजातन्त्रको अनुभुती गर्न पाउने छैनन्’ नाम नबताउने शर्तमा एक आन्दोलनकारीले रोयटर्ससँग कुरा गर्दै भने ।
 
थाइ दरबारले आन्दोलनकारीले उठाइरहेको माग प्रति कुनै टिप्पणी गरेको छैन । तर धेरै समय जर्मनीमा बिताउने थाइ राजा माहा वाजिरालङकोर्नले थाइल्यान्डमा देश र राजसंसथालाई माया गर्ने जनताको खाचो रहेको बताएका छन् । चुलालङकोर्न विश्‍वविध्यालयका थिटिनान पोङसुधिरक आन्दोलकारीका माग सुनुवाइ हुने सम्भावना न्यून रहेको बताउछन् । ‘आन्दोलनकारीले भने अनुसार गरेमा थाइल्यान्डको राजनितीमा ठूलो परिवर्तन आउनेछ । त्यसकारण न सरकारको बिगठन हुने सम्भावना छ न त राज संस्थाको अधिकार कटौती नै । बरु आगामी दिनमा आन्दोलनकारी र सरकारबीच तनाव बढ्ने र दिनहु हुने आन्दोलनमा झडप हुने सम्भावना रहन्छ,’ उनी भन्छन् ।  

गत बिहीबार थाइ सरकारले राजधानी बैंककमा पाँच वा त्यो भन्दा बढी संख्यामा मानिस जम्मा हुन नपाउने गरी निर्देशिका जारी गरेको थियो । तर त्यसको तीन दिन पछि नै आन्दोलनकारीहरुले देशको १९ वटै प्रदेशमा विरोध प्रर्दशन गरे ।  ताइवान, डेनमार्क, स्विडेन, फ्रान्स, अमेरिका र क्यानडा लगायतका मुलुकहरुमा पनि थाइल्यान्डमा भइरहेको आन्दोलनको समर्थनमा प्रर्दशन गरिएको छ ।
  
थाइल्यान्डको आन्दोलनलाई हङकङमा भइरहेको आन्दोलनसँग जोड्ने गरिएको छ । दुबै ठाउँमा दुध चिया लोकप्रीय रहेकाले त्यहाँ भइरहेका आन्दोलनलाई मिल्क टि एलाइन्सको नाम दिन थालिएको छ । हङकङ आन्दोलनले प्रख्यात बनाएका जोसुवा वोङले थाइ आन्दोलनलाई सर्मथन गर्दै टुइट गरेका छन्, थाइ जनताको प्रजातन्त्र प्रतिको चाहनालाई कसैले निस्तेज पार्न सक्दैन । 


आन्दोलनको शुरुवात

थाइल्यान्ड लामो समय सम्म राजनितिक अस्थिरता र आन्दोलबाट गुज्रिएको छ । तर नयाँ चरणको आन्दोलन गत फेब्रुअरीबाट सुरु भएको हो । त्यसको कारण हो विपक्षी पार्टीको खारेजीको आदेश । थाइ सेनाले सन् २०१४ मा सत्ता आफ्नो हातमा लियो । उसको नेतृत्वको सरकारले गत मार्चमा निर्वाचन गरायो । जुन हजारौ यूवा भोटरका लागि भोट खसाउने पहिलो मौका थियो । त्यस चुनावले नयाँ राजनितिक शक्तिलाई सत्तामा ल्याउने अपेक्षा गरिएको थियो ।
 
तर चुनावी नतिजाले चाओचालाई नै पूनः प्रधानमन्त्रीका रुपमा निर्वाचित गरायो । थानाथोर्न जुवानग्रोङरुवाङकिटको नेतृत्वमा रहेको प्रजातन्त्रवादी भनिएको फ्यूचर फर्वाड पार्टी एफएफपी थाइ राजनितीमा तेस्रो शक्तिका रुपमा उदायो । प्राय गरी पहिलो पटक भोट हाल्दै गरेको यूवा भोटरहरु एफएफपी प्रति आकर्षित भए ।

तर गत फ्रेब्रुअरीमा थाइ अदालतले एफएफपीले पार्टी नेता थानार्थोनबाट अनिधिकृत तवरमा पैसा लिएको भन्दै पार्टी विगठन गर्न आदेश दियो । जसले हजारौ यूवा आन्दोलनकारीलाई सडकमा ल्यायो । कोभिड १९ महामारीका कारण बीचमा आन्दोलन रोकिए पनि जुन महिनामा एक प्रजातन्त्रवादी नेता एकाएक हराएपछि यसले फेरी गति लिएको थियो ।
  
क्याबोडियामा निर्वासित जीवन बिताइरहेका वान्चलीआर्म स्याटसाकसिट सडकमा हिडिरहेको बेला अज्ञात समूहले अपहरण गरेको बताइएको थियो । आन्दोलनकारीहरुले थाइ सरकारले स्याटसाकसिटको अपहरण गरेको आरोप लगाउदै आएका छन् ।
  
थाइ राजाले राजसंस्थाका नाममा रहेको सम्पूर्ण सम्पत्ति आफ्नो नाममा ल्याएको घोषणाको पनि आन्दोलनकारीहरुले विरोध गरिरहेका छन् । थाइ राजसंस्थाका नाममा रहेको सम्पती यसअघि सम्म परोपकारी काममा लगाइदै आएको थियो । राजसंस्थाको सम्पूर्ण सम्पती आफ्नो नाममा ल्याएपछी थाइ राजा देशकै सबैभन्दा धनी नागरिक बनेका छन् ।
 
त्यस्तै राजाले राजधानी बैंककमा रहेका सबै सैन्य अखडाहरुको नेतृत्व आफैले लिने निर्णयको पनि विरोध भइरहेको छ । राजाको उक्त कदमलाई थप शक्ति आर्जन गर्ने प्रयासका रुपमा अर्थ्याइएको छ ।  


 


Author

थप समाचार
x