विश्व

पाकिस्तानमा एक्समाथि लगाइएको प्रतिबन्ध हटाउन अदालतको आदेश

इकागज |
बैशाख ६, २०८१ बिहीबार ७:१८ बजे

इस्लामबाद- पाकिस्तानको उच्च अदालतले माइक्रो ब्लगिङ साइट एक्स (पहिले ट्विटर) माथि प्रतिबन्ध हटाउन आदेश दिएको छ । 

ट्विटर ब्लक गर्ने शाहबाज सरकारलाई यसअघिको निर्णय खारेज गर्नका लागि ७ दिनको समय दिएको छ । 


शाहबाज सरकारले एक्सलाई राष्ट्रिय सुरक्षाका लागि खतरा भएको भन्दै रोक लगाएको थियो । तर, पाकिस्तानको सिन्ध उच्च अदालतले सरकारलाई एक्समा लगाइएको प्रतिबन्ध तत्काल खारेज गर्न निर्देशन दिएको हो । 

जियो न्यूजका अनुसार अदालतले पाकिस्तान सरकारलाई एक साताभित्र प्रतिबन्ध हटाउन आदेश दिएको छ ।

पाकिस्तानको आन्तरिक मन्त्रालयले यसअघि अदालतलाई जानकारी दिएको थियो कि माइक्रोब्लगिङ प्लेटफर्मले ‘सरकारको कानुनी निर्देशनहरूको पालना गर्न असफल भएको कारणले पहिले ट्विटर भनेर चिनिने एक्सलाई प्रतिबन्ध लगाउनु परेको’ जानकारी दिएको थियो । पाकिस्तान सरकारले राष्ट्रिय सुरक्षामा खतरा रहेको भन्दै एक्सलाई प्रतिबन्ध लगाउनु परेको स्पष्टीकरण दिँदै आएको थियो । 

‘तर, सिन्ध उच्च अदालतले सरकारलाई आफ्नो निर्णय फिर्ता लिन एक हप्ताको समय दिएको छ । यदि त्यसो भएन भने अदालतले अर्को मितिमा उपयुक्त कारबाही गर्नेछ,’ एक्समा सरकारले लगाएको प्रतिबन्धलाई चुनौती दिने वकिल मोइज जाफरीले भने ।

पाकिस्तानका एक्स प्रयोगकर्ताहरूले मध्य फेब्रुअरीदेखि पाकिस्तानमा यसको प्रयोगमा समस्या भएको गुनासो गर्दै आएका थिए तर सरकारले यस सम्बन्धमा कुनै प्रकारको आधिकारिक घोषणा गरेको छैन ।


Author

थप समाचार
x