विश्व

इरानद्वारा इजरायलमाथि आक्रमण

इकागज |
बैशाख २, २०८१ आइतबार १२:१८ बजे

जेरुसेलम - इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरायलमा आक्रमण गरेको छ । इजरायली सेनाका अनुसार तेहरानले इजरायलतर्फ तीन सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरेका थियो भने तीमध्ये अधिकांशलाई विफल पारिएको थियो ।

केही आक्रमण इराक र यमनबाट समेत भएको इजरायली सेनाका प्रवक्ता रियर एडमिरल डेनियल हागारीले जानकारी गराएका छन् । सेनाले आक्रमणमा प्रयोग गरिएका ड्रोन र क्षेप्यास्त्रमध्ये ९९ प्रतिशतलाई इजरायली प्रतिरक्षा प्रणालीले रोकेको जनाएको छ ।


प्रवक्ता हागारीले एक टेलिभिजन कार्यक्रममा भने, “इरानी आक्रमण विफल पारिएको छ ।”

हगारीका अनुसार इजरायलतर्फ प्रहार गरिएका कुनै पनि ड्रोन र क्रुज क्षेप्यास्त्र आफ्नो क्षेत्रमा प्रवेश गरेका छैनन् र केही ब्यालेस्टिक क्षेप्यास्त्र मात्र इजरायलसम्म पुगेका छन् ।

ब्यालेस्टिक क्षेप्यास्त्रमध्ये एउटाले सेनाको ‘नेभाटिम शिविर’ मा हल्का प्रभाव पारेको उल्लेख गर्दै उहाँले सैन्य परिसरमा ‘अझै पनि काम भइरहेको’ उल्लेख गरे ।  

रक्षामन्त्री योआभ ग्यालान्टले भने, “संयुक्त राज्य अमेरिका र थप साझेदारहरूसँग मिलेर हामीले इजरायली भूमिको रक्षा गर्न सफल भएका छौँं । “आक्रमणको जोखिम अझै सकिएको छैन, हामी सतर्क रहनुपर्छ,” ग्यालेन्टले भने । 


इजरायली बासिन्दालेले जेरुसेलम र अन्य स्थानहरूका आकाशमा विस्फोटनको आवाज सुनेको बताएका छन् । 

यसैबीच, आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपतिसँग समेत टेलिफोन संवाद गर्नुभएको छ भने इजरायलले दिने जबाफबारे छलफल गर्न ‘वार क्याबिनेट’को बैठक बोलाएका छन् । 

उनले अमेरिकी राष्ट्रपतिसँग समेत टेलिफोन संवाद गरेका छन् ।

यसैबीच, इरानको रिभोल्युशनरी गार्डसले एक विज्ञप्तिमार्फत ती आक्रमण ‘इजरायली अपराध’ को जबाफ भएको बताएको छ । गार्डसले अप्रिलको सुरुमा सिरियास्थिति इरानी कूटनीतिक परिसर ध्वस्त पार्ने गरी भएको आक्रमणसमेतलाई इजरायली अपराध भनेको छ । गार्डसले आफ्ना हमलाहरू ‘निश्चित निशानाहरूमा’ लक्षित गरिएको जनाएको छ ।
 


Author

थप समाचार
x