सप्ताहन्त

कविता

बिदाइ

विक्रम कुँवर |
चैत १९, २०७८ शनिबार ९:७ बजे

असिम-असिल चाहनाहरू बोकेर 
मिलन वर-वर  आउँदो रहेछ 
बिछोडको वेदनाहरू बोकेर 
टाँडिएझै हुनुपर्दो रहेछ 
समय चक्रका बन्दनले 
उथल-पुथल निम्त्याउँदो रहेछ 
पानी परिसकेपछि आकास 
निलो सफा देखिँदो रहेछ 
बच्चा थियौँ बुढो भयौँ 
पुरानो चाहना नहुँदो रहेछ 
नयाँ-नयाँ अनुभूतिका लागि 
भावना पुरानो छाड्नै पर्ने रहेछ
आजभन्दा भोलि नयाँ 
हिजो नयाँ नहुने रहेछ 
नयाँ-नयाँ प्रेरणाहरूको पोको बोकी 
हिजोले हामीलाई पछ्याइरहदो रहेछ
कल्पनाशील आकासमा डुबुल्की मार्दा 
कनिकाको घैटो घोप्टिँदो रहेछ 

कोरा कागज बनी हिँड्दा 
जो-कोहीले लेख्दो रहेछ 
आएपछि जानै पर्ने
मिलनको चाहना हुँदो रहेछ
जन्मिएपछि मर्नै पर्ने 
यथार्थले डोर्‍याउँदो रहेछ 
सम्झनै-सम्झनाका कोशेली बोकी 
बिदाइ समारोह आउँदो रहेछ 
के गर्ने पालो सबैको यही नै हो 
बिदानी ननिको हुँदो रहेछ 



 


Author

थप समाचार
x